काठमाडौं(जस)– सर्वोच्च अदालतले संसद पुर्नस्थापना र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वैधानिकता खारेज गर्ने निर्णयसँगै तरल बनेको नेपाली राजनीति अहिलेसम्म कता जाने भन्ने अन्यौलमै छ । यसैक्रममा नयाँ सरकार गठनका लागि दलहरुबीच अहिले पनि दिनहुँ विभिन्न कसरत भने भइरहेका छन् । नयाँ सरकार गठनका विषयमा मंगलबार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका हुन् । मंगलबार अपराहन्न देउवा निवास बुढानिलकण्ठ पुगेर भट्टराई र यादवले देउवासँग छलफल गरेका हुन् । मंगलबार जसपाको बैठकपछि भट्टराई र यादवले देउवासँग छलफल गरेका छन् ।
यसअघि नेपाली काँग्रेसका सभापति देउवाले माओवादी केन्द्र र जसपालाई गत शुक्रबार आफ्नै निवासमा बोलाएर काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरेका थिए । सो बैठकमा जसपाले पार्टीको बैठकपछि निर्णय दिने बताएको थियो । हालको सत्ता समीकरणको निर्णायक रहेको जसपामा ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने र नयाँ सरकार बनाउने भन्नेमा दुई धार रहेकाले अहिलेको राजनीतिक अन्योलता बढिरहेको बेला यो भेटघाट भएको छ ।
देउवाको बुढानिलकण्ठस्थित निवासमा दुवै नेता एकसाथ पुगेका थिए । भेटमा सत्ता गठबन्धनबारे जसपाका तर्फबाट यादव र भट्टराईले प्रस्ताव लगेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार दुई नेताले जसपा नेतृत्वको सरकार गठनको विकल्पबारे प्रस्ताव लगेका हुन् । पछिल्लो समय जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग गठबन्धन बनाउने समूह बलियो बनेपछि यादव र भट्टराईले नेतृत्वको विषयमा महत्वपूर्ण प्रस्ताव लगेका हुन् । देउवाले भने आफ्नै नेतृत्वमा सरकार निर्माणको प्रयास गर्दै आएका छन् । जसपाको महन्थ ठाकुर पक्षधरले भने कि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कि ओलीसँग मिलेर जाने विकल्प तयार गरेको छ । जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षधर भने ओलीको विकल्मा सत्ता समिकरण गर्ने पक्षमा छन् । उनीहरु जसपा नेतृत्वको सरकारको पक्षमा रहेपनि लचिलो रुपमा छलफलमा प्रस्तुत हुँदै आएका छन् ।