बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

च्याम्पियन्स लिग फुटबल : बायर्न पिएसजीसँग पराजित, पोर्टोविरुद्ध चेल्सी विजयी

बिहिबार, चैत्र २६ २०७७

काठमाडौं । साविक विजेता बायर्न म्युनिक च्याम्पियन्स लिग फुटबलमा पराजित भएको छ । बायर्न फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ३–२ गोलअन्तरले पराजित भएको हो ।

जर्मन क्लब बायर्न आफ्नै मैदानमामा पिएसजीसँग पराजित भएको हो । यो जितसँगै पिएसजीले भने सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । खेलको तेस्रो मिनेटमा नै कलियन एमबाप्पेको गोलबाट पिएसजीले अग्रता बनाएको थियो। खेलको २८ औं मिनेटमा माक्युइन्होसले गोल गर्दै बायर्नविरुद्ध पिएसजीलाई २–० गोलको अग्रता दिलाए ।

खेलको ३७ औं मिनेटमा एरिक म्याक्सिम मोटिङले गोल गर्दै बायर्नलाई २–१ गोलको स्थितिमा ल्याए। ६० औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २–२ गोलको बराबरी दिलाए । तर यसको आठौं मिनेटमा अर्थात खेलको ६८ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै बायर्नविरुद्ध ३–२ गोलको अग्रता दिलाए ।

खेल अवधिभर पिएसजीविरुद्ध बायर्नले एकपछि अर्को गोल गर्ने अवसर निकालेको थियो । बायर्नले ३१ पटक पिएसजीको पोष्टमा गोलको लागि प्रहार गरेको थियो । जबकी पिएसजीले ६ पटक मात्रै बायर्नको पोष्टमा प्रहार गर्यो । ६४ प्रतिशत बल पोसिजन आफ्नो पक्षमा राख्दै एकपछि अर्को गोल गर्ने सिर्जना गरेपछि बायर्न पिएसजीसँग ३–२ गोलले स्तब्ध बन्यो । अब च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग पिएसजीसँग बायर्नले १४ अप्रिलमा खेल्नेछ ।
पोर्टोविरुद्ध चेल्सी विजयी
इंग्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलमा जित निकालेको छ । बुधबार राति भएको क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीले पोर्चुगलको पोर्टोलाई २–० गोलअन्तरले पराजित गरेको हो ।

घरेलु टिम पोर्टोविरुद्ध चेल्सीले सहज जित निकालेको हो । चेल्सीको जितमा मासोन माउन्ट र बेन चिलवेलले गोल गरे । पहिलो हाफमा एक गोल गरेको चेल्सीले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो । खेलको ३२ मिनेटमा मासोनले गोल गर्दै चेल्सीलाई १–० गोलको अग्रता दिलाए ।

खेलको ८५ औं मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई २–० गोलको जित दिलाए। यो जितेसँगै चेल्सीले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । अब चेल्सीले पोर्टोसँग आफ्नै मैदानमा १४ अप्रिलमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार