आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सरकारले बिजनेस नदिदा कर्मकाण्डी रुपमा चल्दै प्रतिनिधिसभा, जनताका मुद्दा ओझेलमा

मंगलबार, चैत्र २४ २०७७

काठमाडौँ(जस)–सर्वोच्च अदालतले पुनः स्थापना गर्न आदेश दिएसँगै चैत्र २३ गतेदेखि सञ्चालनमा आएको प्रतिनिधिसभा कर्मकाण्डी देखिएको छ । चैत्र २३देखि यताका प्रतिनिधि सभाका बैठकहरु शोक प्रस्ताव पारितमै सीमित भएको अवस्थामा सोमबार बसेको बैठक पनि सरकारी पक्षको प्रतिरक्षा रप्रतिपक्षको आरोपमै केन्द्रित रह्यो । सांसदहरुले नै सदनलाई प्रभावकारी बनाऊन सरकारसँग माग गरिरहेको अवस्था छ । सोमबारको बैठकमा पुनःस्थापित संसद्लाई बेवास्ता गर्दै महत्वपूर्ण बिजनेसको बेवास्ता गरेको भन्दै सांसदहरूले प्रधानमन्त्रीको आलोचना गरे । जनप्रतिनिधिको थलो संसद् र प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई बेवास्ता गरेर प्रधानमन्त्रीले जनमतको अपमान गरेको उनीहरूको गुनासो थियो ।
नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले महत्वपूर्ण विधेयक अड्किएको अवस्थामा सरकारले संसद्लाई गतिहीन बनाएको टिप्पणी गरे । उनले प्रतिपक्षी दल कांग्रेसले राजीनामा मागिसकेको सन्दर्भ तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले कामचलाउ सरकार भनेको अवस्थामा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनु पर्दैन भनी प्रश्न गरे । कांग्रेसकै रङ्गमती शाहीले संसद् र सिंहदरबारमा उपस्थित नभएर प्रधानमन्त्रीले जनमतको अपमान गरेको आरोप लगाइन । उनले संसद्लाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको जस्तो अवस्थामा पुर्याएको भनी कटाक्ष गरिन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजबहादुर बुढाक्षेत्रीले संसदलाई प्रभावकारी बनाएर लैजाने सबै राजनीतिक दलको दायित्व भएको बताउँदै प्रधानमन्त्रीबाटै जनादेशको उपेक्षा भएको आरोप लगाए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरूले सरकारले स्वाधीनता, विकास र समृद्धिका यात्रामा तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको विशेष समयमा भाग लिँदै नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारका काम कारवाहीको प्रतिरक्षा गर्दै पछिल्ला उपलब्धिको प्रशंसा गर्नाका साटो विरोधका लागि विरोधमात्र गरेको बताए । उनले भने, “वर्तमान सरकार बन्नु अघिसम्म राजनीतिमा मात्रै सीमित छ, राष्ट्रिय विकास र स्वाभिमान एजेन्डा बनेको थिएन, बाटा, सिँचाइ, विद्यालय, पुल मात्रै होइन, समृद्ध नेपाली र सुखी नेपालीको राष्ट्रिय अभियान ठीक ढङ्गबाट अघि बढिरहेको छ ।”
सत्य विनाको राजनीतिले सही गन्तव्यमा पुग्न नसक्ने बताउँदै उनले मुलुकलाई विकासको मार्गतर्फ उन्मुख नगराउने हो भने राजनीतिक दल हुनको के अर्थ रह्यो भने । पूर्वमन्त्री बाँस्कोटाले भने, “विकास र समृद्धिको यात्रमा संसारसँगै हिँड्न चाहन्छाँै भने सम्भावना र चुनौतीलाई मनन गर्नै पर्छ, सन्त नेता कृष्णप्रसाद भट्टराईले देखेको सपना केपी ओलीको नेतृत्वको सरकारले पूरा गरेको छ, मेलम्चीको पानी काठमाडाँै ल्याइएको छ, मुलुकका विभिन्न भागमा रेलसेवा विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार हँुदैछ ।” सरकारले गरेका उपलब्धि र विकासलाई देख्न नसक्ने हो भने आँखामा लाउने चस्मा र कानमा रुवा हाल्न सुझाव दिँदै उनले भने, “समर्थन फिर्ता लिन र विकल्प प्रस्तुत गर्न नसक्ने पक्षले वर्तमान सरकारलाई काम चलाउ भन्न नसुहाउने तर्क गरे ।
नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेल प्रधानमन्त्रीको कुनै पनि हालतमा सत्ता नछोड्ने कुर्सी मोहका कारण मुलुक लामो समयदेखि राजनीतिक अन्योलमा फसेको बताए । उनले भने, “सर्वाेच्च अदालतको निर्णयपछि सरकारले एक खाले निकास दिनुपथ्र्याे, आफ्नो पछाडिको जनमत र संसदीय दलको समर्थन कस्तो छ भनेर प्रधानमन्त्रीले अब पनि विश्वासको मत लिन कि नलिने ?”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद शशी श्रेष्ठले नागरिकता राज्य र व्यक्तिको सम्बन्ध कायम गर्ने महत्वपूर्ण दस्तावेज भएकाले पहिचान स्थापित गर्ने यस्तो महत्वपूर्ण दस्तावेजसम्बन्धी विधेयक समितिबाट लामो समयअघि नै अघि बढेको भए पनि सदनमा यसबारे किन छलफल हुन सकेन भनी प्रश्न गरिन । उनले भनिन् “नागरिकताको विषयमा समितिलाई दोष लगाउने कामप्रति गम्भीर आफ्नो असहमति छ, सदन शोक प्रस्ताव र सामान्य प्रतिवेदन पेश गर्ने कार्यमै अल्झिरहेको छ, यस्तो प्रवृत्ति अन्त्य हुनुपर्छ, संसद बोलाउनु भनेको सदन चलाउनु मात्रै होइन ।
जनता समाज पार्टीका नेता एकवाल मियाँले पथलैया– वीरगञ्ज करिडोरमा समयमै सडक निर्माण नहुँदा धुलोले वरपरका बस्तीमा समस्या परेकाले छिटो निर्माण सम्पन्न गर्ने वतावरण बनाउन सरकारको ध्यानाकर्षण गरे । उनले भने, “देशभरको शिक्षा क्षेत्रको अवस्था भद्रगोल छ, सरकारी विद्यालयका पूर्वाधार मात्र होइन पढाइएको गुणस्तर पनि खस्केको छ । विद्यार्थीको सङ्ख्याका आधारमा शिक्षकको दरबन्दीको व्यवस्था होस् ।” राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङ्देनले मुलुकको वर्तमान राजनीतिक अस्थिरताले गन्तव्य अन्योल बनाएको धारणा राखे । उनले भने, “हामी कहाँ जाने भनेर हिँडेका थियाँै, कहाँ पुग्यौँ, हामीले अस्थिरताको सामना गरिरहेका छाँै, यसमा प्रणालीको पनि दोष छ । सरकार परिवर्तन वा नयाँ निर्वाचनबाट मात्र यो समस्या समाधान हँुदैन, त्यसका लागि नयाँ सम्झौता गर्नुपर्छ ।
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विश्व सम्पदाको सूचीमा रहेको चाँगुनारायण मन्दिर पानीको मुहान र बस्ती विस्तारले अप्ठेरोमा परेकाले सरकारले त्यसलाई जोगाउन समयमै ध्यान पुर्याओस् भने । नेकपा एमालेका दिलबहादुर क्षेत्रीले सरकारले १६५ निर्वाचन क्षेत्रमा रणनीतिक सडक शिलान्यास गरेकामा धन्यवाद दिँदै मुुलुकलाई फलाममा आत्मनिर्भर तुल्याउन नवलपुरको फलाम खानी सञ्चालनका लागि विभिन्न काम भइरहेको बताए ।
नेपाली कांग्रेसका सांसद डिला सङ्ग्रौलाले सरकार लोकतन्त्रलाई प्रहार गर्दै सर्वाेसत्तावादी बाटोतर्फ अघि बढेको आरोप लगाइन । उनले भनिन, “संसद्लाई बिजनेसविहीन बनाइएको छ, त्यो अवस्था अन्त्य गरियोस्, मेलम्ची खानेपानी कार्यान्वयन भएसँगै स्व कृष्णप्रसाद भट्टराईको योगदानलाई हामी सबैले स्मरण गर्र्नैपर्छ । नेकपा माओवादी केन्द्रका पूर्णकुमारी सुवेदीले बाँकेको नरैनालगायतका क्षेत्रमा भएका आगलागीका घटनाका पीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गरिन ।
जसपाका प्रमोद यादवले सबै सरकारी संयन्त्रको सदुपयोग गर्ने ढङ्गबाट भएका सरकारी अस्पताललाई सुव्यवस्थित गर्न सुझाव दिए । नेकपा एमालेका सांसद पदम गिरीले काठमाडौँवासीको तिर्खा मेटाउने काम सरकारले गरेको तथा विकासका सबै क्षेत्रको गति रफ्तारमा अघि बढिरहेको बताए । नेपाली कांग्रेसका उमा रेग्मीले काठमाडौँवासीको खानी पानीको चाहना र स्व कृष्णप्रसाद भट्टराईको योगदानको स्मरण गरिन । सोही दलकै सांसद दिव्यराज भण्डारीले उपसभामुखको निर्वाचन नहुँदा वर्तमान सरकारले महिलाको हक हितमा किन चासो दिएन भनी चासो र जिज्ञासा उठेको बताए ।
सदनलाई प्रभावकारी बनाउन सांसदको माग
मुलुकका विभिन्न भागमा भएका आगलागी, कोरोना सङ्क्रमण, रणनीतिक महत्वका सडक शिलान्यास, दशगजा क्षेत्रमा निर्माण गरिएको बाँध लगायतका विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदले अग्नि पीडितलाई तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न, कोरोना नियन्त्रणका लागि थप कदम चाल्न र दशगजा क्षेत्रको बाँध निर्माण भइरहेकामा त्यसलाई समयमै रोक्न सरकारसमक्ष आाग्रह गरेका हुन् ।
सांसद योगेश भट्टराईले ताप्लेजुङ्को दोभान बजारमा गत फागुन १८ गते भएको आगलागीको घटनाबाट पीडितलाई तत्काल बसोबास तथा राहतको व्यवस्था गर्न र दीर्घकालीन समाधानका निम्ति पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उक्त क्षेत्रमा आगलागीबाट रु आठ करोडभन्दा बढी धनमालको क्षति भएको र पाँच घर जलेर नष्ट भएको उनले जानकारी दिए । साथै जिल्लामा पटक–पटक आगलागीका घटना हुने गरेको र पछिल्लो पटक मात्रै जिल्लामा पाँच पटक आगलागी भएको स्मरण गराउँदै सांसद भट्टराईले आगलागी नियन्त्रणका लागि दीर्घकालीन उपाय अवलम्बन गर्न आग्रह पनि गरे ।
सांसद राजेन्द्रकुमार राईले अहिले देशैभर आगलागीका घटना बढिरहेको र यसबाट सामुदायिक वन तथा अन्य वनमा ठूलो क्षति पुगेको भन्दै आगलागीको घटना नियन्त्रण गरी प्रदूषित वातावरण नियन्त्रणका लागि विशेष पहल गर्न आग्रह गरे । सांसद रेखा कुमारीले दशगजा क्षेत्रमा बाँधको समस्या निरन्तर पेचिलो बन्दै गएको भन्दै समाधानका लागि पहल गर्न सरकारसमक्ष माग गरे । सांसदद्वय रेणुका गुरुङ र मीना सुब्बाले छिमेकी मुलुक भारतमा कोभिड–१९ महामारी बढिरहेको र नेपालमा पनि यसको खतरा बढेको भन्दै महामारी नियन्त्रणका लागि सरकारले गरिरहेको तयारीबारे सदनलाई जानकारी गराउन माग गरे । सिमानामा कडाइ गर्न र जोखिम नियन्त्रणमा जुट्न स्वास्थ्य सहायता कक्ष, क्वारेन्टिन आदिको व्यवस्थाा गर्न पनि उनीहरूको माग थियो ।
सांसद मोहन बानियाँले कर्णाली राजमार्गको सडक साँघुरो भएको र ठाउँठाउँमा पहिराले सडक अवरुद्ध हुँदा यात्रुले सास्ती बेहोर्नुपरेको भन्दै पर्यटकीय क्षेत्र रारा जाने महत्वपूर्ण सडक पनि भएकाले उक्त सडक मर्मतका लागि तदारुकता देखाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्गको बेवारिसे सडक मर्मतका लागि विशेष पहल गर्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मेटमणि चौधरीले दाङ उपत्यकामा पर्ने राप्ती नदी किनारमा अवैधरूपमा बालुवा चोरी निकासी र वन अतिक्रमणको घटना बढेको भन्दै संलग्न दोषीमाथि कडा कारवाही गर्न माग गरे ।
सांसद भरतकुमार साहले लुम्बिनी सांस्कृतिक नगरपालिका–५ र ६ मा आगलागी हुँदा २५ बिघा जग्गा नष्ट भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै पीडितलाई तत्काल क्षतिपूर्ति दिलाउन सरकारसमक्ष माग गरे । सांसद भैरवबहादुर सिंहले बझाङमा खाद्य अभाव बढेको भन्दै चाँडो आपूर्ति गर्न माग गरे । सांसद रामबहादुर विष्टले म्यान्मारमा भइरहेको सैनिक कुको भत्सर्ना गर्दै त्यहाँ चाँडै प्रजातन्त्र बहाली होस् भनी कामना गरे । सांसद राजेन्द्रकुमार केसीले लामो समयको व्यग्र प्रतीक्षामा मेलम्चीको पानी काठमाडौँ आउनु सुखद भए पनि उपत्यकाका ललितपुर र भक्तपुर जस्तै कीर्तिपुरले अझै पानी नपाएको भन्दै ती क्षेत्रमा पनि पानी वितरणको व्यवस्था मिलाउन सरकारसमक्ष माग गरे ।सांसद महेश बस्नेतले सरकारका राम्रा कामलाई छायाँमा पारेर विरोधीहरू सरकारको आलोचनामा तल्लीन भएकामा आक्रोश पोखे । उनले सरकार गठन भएदेखि पार्टी एकीकरणको किचलो झिकेर, मिडिया मिसन चलाएर सरकारविरुद्ध घेराबन्दी गरेको आरोप लगाए । सांसदहरू मीनबहादुर विश्वकर्मा, मैनाकुमारी भण्डारी, यज्ञबहादुर बोगटी, लक्ष्मी परियार लगायतले समसामयिक विषयबारे सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया
सम्बन्धित समाचार