सुर्खेत(जस)–कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठकले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मार्ग प्रशस्त गरिदिन आग्रह गर्ने भएको छ ।
आइतबार सुर्खेतमा बसेको दलको बैठकले सरकारमा रहेको प्रमुख घटकले समर्थन फिर्ता लिने निर्णय गरेकाले मार्ग प्रशस्त गरेर सहजीकरण गरिदिन मुख्यमन्त्री शाहीलाई आग्रह गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा र दल रावल गरी तीन मन्त्री छन् । मन्त्रीहरुले छिट्टै राजीनामा दिने बताइएको छ ।
‘मन्त्रीहरुलाई फिर्ता बोलाउने भन्ने भएको छ, यो आजको मात्रै नभई यसअघि नै गरिएको निर्णय हो’, संसद यमलाल कँडेलले भने, ‘आजको बैठकबाट मन्त्रीहरु पनि सरकार छाड्न तयार हुनु भएको छ ।’ बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले तत्काल राजीनामा दिने–नदिने विषयमा पनि छलफल भएको थियो । मन्त्री नन्दबहादुर बुढाले उपयुक्त समयमा राजीनामा दिने सहमति भएको जानकारी दिए । यस्तै बैठकले प्रमुख सचेतक गुलावजङ्ग शाहको अध्यक्षतामा तीन सदस्यीय विधान संशोधन सुझाव समिति गठन गरेको छ ।
पार्टी छोडेका दुई प्रदेश सांसदलाई हटाउन प्रचण्डको पत्राचार
बुटवल । माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा आफ्नो पार्टीबाट निर्वाचित भएर पार्टी परित्याग गरेका दुई सांसदलाई पदबाट हटाउन लुम्बिनी प्रदेश संसद सचिवालयलाई पत्रचार गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रबाट निर्वाचित सांसदद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई सांसद पदबाट हटाउन पत्राचार गरेका हुन् ।
माओवादी केन्द्र परित्याग गरेका सांसद न्यौपाने र पन्थीलाई यसअघि माओवादी केन्द्रले स्पष्टिकरण सोधेको थियो । न्यौंपाने र पन्थी दुविया माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित रूपन्देहीका न्यौपाने र गुल्मीका पन्थी नेपाल कम्युनिष्ट पार्टी नेकपाको विघटनपछि माओवादी केन्द्रमा नफर्कीइ ओलीकै नेतृत्वमा रहने निर्णय गरेका थिए ।