काठमाडौं। साउदीले काफला (स्पोन्सरसिप) प्रणाली परिमार्जन गरेकाे छ । याेसँगै अब साउदीमा रहेका विदेशी कामदारले काम फेर्न र स्वदेश फर्किन रोजगारदाताको स्वीकृति लिनुपर्ने छैन । अरब न्युजका अनुसार त्यहाँकाे सरकारले केही समयअघि नै गरेको घोषणा आजदेखि कार्यान्वयन भएकाे हाे ।
परिमार्जित प्रणालीबाट लाभ लिन करारमा रहेकाले १ वर्ष पुगेपछि र करार नभएका वा म्याद सकिएकाहरूले तत्काल नयाँ रोजगारदाता कम्पनीमा जान सक्ने साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयका वरिष्ठ अधिकारी सत्ताम बिन अमेर अलहर्बीलाई उद्धृत गर्दै अरब न्युजले उल्लेख गरेकाे छ ।
साउदी नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकमध्ये पर्छ । काफला प्रणाली परिमार्जनकाे लाभ त्यहाँ कार्यरत लाखाैं नेपालीले पाउने छन् ।
आप्रवासी श्रमिकलाई सरकारी सेवाको लागि सिधा आवेदन दिन अनुमति पनि साउदीले दिनेछ । यसका लागि मन्त्रालयले वेबसाइटमै सामान्य अवस्थाका आवेदन र विवाद मुद्दा भएकाका लागि प्लेटफर्महरू बनाइ प्रयोगमा ल्याउनेछ तथा निश्चित प्रक्रियासँगै सरकारी दस्तुर तिरेर यो सेवा सुविधा लिन सक्नेछन । रोजगार परिवर्तनको शुल्क नयाँ रोजगारदाताले तिर्नुपर्ने छ ।
साथै आइतबारदेखि नै अब साउदी बाहिर बिदामा वा घुमफिरमा जान पनि रोजगारदाताको स्वीकृति आवश्यक नपर्ने, मन्त्रालयमै आवेदन दिएर स्वीकृत भएपछि साउदी बाहिर जान सकिने व्यवस्था गरिएकाे छ ।