आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

इंग्ल्यान्डविरुद्धको एकदिवसीय श्रृंखला भारतले जित्यो

सोमबार, चैत्र १६ २०७७

काठमाडौं । पाहुना टोली इंग्ल्यान्डमाथि रोमाञ्चक जीत निकाल्दै भारतले एकदिवसीय श्रृंखला जितेको छ । पुनेमा गएराति भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा भारत ७ रनले विजयी भयो ।

भारतले दिएको ३३० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर ३२२ रन मात्र बनाउन सक्यो । इंग्ल्यान्डका लागि आठौं नम्बरमा ब्याटिङ गर्न आएका युवा अलराउन्डर साम करानले अविजित रहँदै ९५ रनको पारी खेलेपनि जीतका लागि पर्याप्त हुन सकेन ।

इंग्ल्यान्ड १६८-६ को स्थितिमा पुगेपछि आएका करानले सम्हालिदैँ इनिङ उकासेका थिए । यद्यपि उक्त प्रयास झिनो अन्तरले असफल हुन पुग्यो । डेविड मलानले ५०, लियाम लिभिङस्टोनले ३६ र बेन स्टोक्सले ३५ रन बनाए । भारतका शार्दुल ठाकुरले ४, भुवनेश्वर कुमारले ३ र टी नटराजनले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा अलआउट हुँदै ३२९ रन बनाएको थियो । उसका लागि रिषभ पन्तले ७८, शिखर धवनले ६७ र हार्दिक पान्ड्याले ६४ रन बनाए । इंग्ल्यान्डका मार्क वूडले ३, आदिल राशिदले २ तथा साम करान, रीश टोपली, बेन स्टोक्स, मोइन अली र लियाम लिभिङस्टोनले १-१ विकेट हात पारेका थिए ।

यस जीतसँगै भारतले तीन खेलको एकदिवसीय श्रृंखला २-१ ले जितेको छ । पहिलो खेलमा ६६ रनले विजयी भएको भारत दोस्रो खेलमा ६ विकेटले पराजित भएपनि तेस्रो खेल जित्दै श्रृंखला जित्न सफल भएको हो । यसअघि भएका टेस्ट श्रृंखला र टी-२० श्रृंखला पनि भारतले जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार