काठमाडौं । नेपाली राजदूतावास मस्कटले ”Nepal- Oman Literature & Nature: Posthumous Recognition to Late Mr. Mohamed Al Harthi, The Eternal Traveller” विषयमा साहित्य र पर्यटन सम्बन्धी एक वेभिनार शनिबार आयोजना गर्यो । काठमाडौं सेरोफेरोका महत्त्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेख्नुभएका ओमानी नागरिक स्व. मोहम्मद अल हार्थीले नेपाली पर्यटन र साहित्यिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदरस्वरूप मरणोपरान्त सम्मान प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो।ओमानका लागि नेपालका राजदूत महामहिम सर्मिला पराजुली ढकालले कार्यक्रमको औचित्यता सम्बन्धमा शुरूवाती मन्तव्य राख्नुभएको कार्यक्रममा दूतावासका द्बितीय सचिव सोमेश थापाले नेपाल तथा ओमानबाट कार्यक्रममा सहभागी हुनुभएका विशिष्ट वक्ताहरूको संक्षिप्त परिचय सहित सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।
कार्यक्रममा ओमानी लेखिका अझहर अल हार्थीले स्व. मोहम्मद अल हार्थीज्युको भ्रमण तथा लेखनको बारेमा आफ्ना संक्षिप्त भनाइहरू राख्नुभएको थियो । सो अवसरमा महामहिम राजदूत सर्मिला पराजुली ढकालले स्व. मोहम्मद अल हार्थीको सम्मानमा एक सम्मान-पत्र वहाँको छोरी तथा बाल चित्र पुस्तक लेखिका तथा प्रकाशक इब्तिहाज अल हार्थीमार्फत प्रदान गर्नु भएको थियो। स्वर्गीय पिताको सम्मानमा दूतावासद्बारा प्रदान गरिएको सम्मान-पत्र स्वीकार गर्दै इब्तिहाजले आफ्नो परिवार तथा व्यक्तिगत तर्फबाट सम्मानको लागि धन्यवाद ज्ञापन गर्दै आफ्ना भनाइहरू राख्नुभएको थियो। कार्यक्रमका दौरान महामहिम राजदूतज्यूद्बारा स्व. मोहम्मद अल हार्थीज्यूको नाममा बनाइएको उहाँप्रति समर्पित वेभसाईटको शुभारम्भ गर्नुभएको थियो। स्व.मोहम्मदद्बारा नेपालको भ्रमण सम्बन्धमा लिखित पुस्तकका अनुवादक डा. ईथान कोरिनले पुस्तकको अनुवाद अनुभव लगायत बारेमा संक्षिप्त भनाइ राख्नुभएको थियो। त्यसैगरी नेपालबाट कार्यक्रममा सहभागी मान्सी अग्रवालले नेपालको बारेमा पुस्तक लेख्ने तथा नेपालको पर्यटन प्रबर्द्धनका सहयोग पुर्याउने विदेशी नागरिकहरूलाई नेपाली राजदूतावास मस्कटले गरेको सम्मानको प्रशंसा गर्दै आफ्नो नेपाल बसाईका साथै नेपालको विविध प्राकृतिक वातावरण, जीव तथा वनस्पति लगायत विविध पर्यटकीय गतिविधिको बारेमा संक्षिप्त
भिडियो सहितको प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा प्रा. तुलसी दिवसज्यूले स्वर्गीय ओमानी लेखकप्रति सम्मान व्यक्त गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै कविताको माध्यमबाट मानिसलाई कसरी प्रकृतिसँग आबद्ध गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना विचारहरू व्यक्त गर्नुभयो।साथै सोही अवसरमा नेपालका विविध संस्कृतिको बारेका संक्षिप्त जानकारी प्रस्तुत गर्दै भाषा, कला र विविध संस्कृतिले अनौपचारिक कूटनीतिमा पार्ने प्रभाव सम्बन्धमा समेत प्रकाश पार्नुभयो। त्यसैगरी मध्यपूर्वको मरुभूमि “Empty Quarter” पार गर्नु भएकी ओमानी नागरिक बैदा अल जद्जाली तथा जेनी मेक्गीलले आफ्नो साहसिक यात्राको बारेमा अनुभव बाँड्दै स्व. मोहम्मद अल हार्थीको लेखनबाट नेपालको बारेमा जान्ने मौका प्राप्त भएको बताउनु भएको थियो। नेपालका प्रसिद्ध युवा कवि नवराज पराजुलीले पुस्तक भाषानुवाद सम्बन्धी आफ्नो अनुभवहरू साट्दै मोहम्मद अल हार्थीको योगदान कति महत्वपूर्ण छ भन्ने बारे आफ्नो धारणा राख्नु भएको थियो।त्यसैगरी कार्यक्रममा सगरमाथा आरोही प्रथम ओमानी महिला नादिरा अल हार्थी, इन्टरनेशनल डिप्लोमेसी एण्ड प्रोटोकल अध्ययन संस्थानकी अध्यक्ष इनेस पिरेस, लेखिका लक्ष्मी कोथानेथ, शिक्षाविद् तथा महिला व्यावसायी म्यागी जीन्स ओ बि इ , समाजसेवी तथा २०१९ की ओमानी वर्ष महिला डा. राज्यश्री नारायनकुर्ती, ओमानको स्वास्थ्य मन्त्रालयबाट डा. अमिरा अल रैदान, नेपाली सोसल क्लबका अध्यक्ष विकल झा लगायतले कार्यक्रममा आफ्ना भनाइ तथा अनुभवहरू बाँड्नुभएको थियो।
कार्यक्रमको अन्त्यमा महामहिम राजदूतज्यूले नेपाल र ओमानबाट कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउनुभई सहभागीहरूका विचार तथा अनुभवहरू धैर्यतापूर्वक आदानप्रदान गरी कार्यक्रमलाई सफल बनाउनु भएकोमा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रमका सहभागीहरूलाई नेपाल भ्रमण गर्न आव्हान गर्दै राजदूत पराजुलीले कार्यक्रमको समापन गर्नुभयो।
उक्त कार्यक्रममा विमल ढकाल, डा. चित्रा नारायण, बेलायती यात्री मे.ज. रिचार्ढ स्ट्रानफोर्ड, राजदूत महामहिम रलेह सुलेमानी अल हादी, एनआरएनएका प्रवक्ता डि बी क्षेत्री ओमानस्थित नेपाली समुदायका प्रतिनिधिहरू, नेपाली दूतावास ओमानका कर्मचारीहरू लगायत करीब ५० जना सहभागी हुनुहुन्थ्यो।













