काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गरेको त्रिदेशीय कपमा नेपालले आज आफ्नो समूह चरणको दोस्रो तथा अन्तिम खेल खेल्दैछ । नेपाल बङ्गलादेशविरुद्ध आज साँझ दशरथ रंगशालामा उत्रँदैछ ।
त्रिदेशीय कपको फाइनलमा पुग्न आजको खेलमा नेपाललाई कम्तिमा बराबरी आवश्यक रहेको छ । तर, बंगलादेशले जितेको अवस्थामा भने नेपालको फाइनल खेल्ने सम्भावना सकिनेछ ।
यसअघि, त्रिदेशीय कपको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १-० गोल अन्तरले पराजित गरिसकेको छ । दोस्रो खेलमा नेपाल र किर्गिस्तानले गोलरहित बराबरी खेलेपछि बंगलादेश त्रिदेशीय कपको फाइनलमा पुगिसकेको छ ।
कप अन्तर्गतको दोस्रो खेलमा नेपालले जित निकालेको भए नेपाल पनि फाइनल पुगिसकेको हुनेथियो । तर, आधा घण्टाभन्दा बढी १० खेलाडीमा सीमित भएको किर्गिस्तानसँग बराबरी खेलेपछि आज नेपाली टोली दवावमा रहेको छ ।
आजको खेलमा नेपाल विजेता बनेमा पर्सी सोमबार हुने फाइनल खेल्नेछ भने आजको खेलमा पराजित भएको अवस्थामा नेपालले फाइनल खेल गुमाउने छ । तर, फाइनलका लागि किर्गिस्तानलाई भन्दा नेपाललाई नै सहज देखिएको छ ।
त्रिदेशीय कपमा नेपाल र बंगलादेशले सिनियर राष्ट्रिय टोलीलाई मैदानमा उतारेका छन् । तर, किर्गिस्तानको भने २३ वर्षभन्दा मुनिको टोली सहभागी भएको छ ।