काठमाडौं । गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान र केल्मि प्रा.लि विच संघको खेलकुद प्रतिष्ठानलाई आवश्यकता अनुसार खेल सामग्री र खेल पोशाकहरुको प्रायोजन र सहुलियत दरमा उपलब्ध गर्ने गराउने बारेमा एक सहमति पत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता पत्रमा संघको तर्फबाट उपाध्यक्ष एवं महिला तथा युवा विभागका सभापति रविना थापा र केल्मिका प्रबन्धक निर्देशक प्रदीप न्यौपानेले हस्ताक्षर गर्नु भयो ।
कार्यक्रममा संघका उपाध्यक्ष रविना थापाले विदेशमा रहेका दोश्रो पुस्ताका युवाहरुलाई नेपाल संग जोडि राख्ने एक प्रमुख माध्यम खेलकुद रहेको बताउनु भयो । उहांले आगामी दिनमा दोश्रो पुस्तालाई नेपालको खेलकुद क्षेत्रमा सहभागी गराउन संघले सकृयता पूर्वक पहल गर्ने जानकारी गराउनु भयो र उहांले आजको सम्झौताले संघको खेलकुद क्षेत्रमा विकास गर्न ठूलो सहयोग पुग्ने भएको बताउंदै केल्मिलाई हार्दिक धन्यवाद दिनु भयो । केल्मिका प्रबन्धक निर्देशक प्रदीप न्यौपानेले संघको खेलकुद प्रतिष्ठान संग सम्झौता गरी सहयोग गर्न पाएकोमा संघ प्रति हार्दिक अभार प्रकट गर्नु भयो र यस सम्झौतामा भएका विषयलाई सार्थक तुल्याउने प्रति प्रतिबद्धता व्यक्त गर्नु भयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ का अध्यक्ष दिपक श्रेष्ठले गैरआवासीय नेपाली खेलाडीहरुलाई नेपालको खेलकुद क्षेत्रमा जोड्नको लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रमको अन्त्यमा मध्यपूर्व क्षेत्रका क्षेत्रीय उपसंयोजक मनोज कुमार श्रेष्ठ(गोर्खाली)ले नेपालको राष्ट्रिय खेलकुद प्रतियोगितामा गैरआवासीय नेपाली खेलाडीहरुलाई विभागीय टोलीको रुपमा सहभागी गराउन उल्लेखनिय सहयोग गर्नु हुने निवर्तमान अध्यक्ष भवन भट्ट र निवर्तमान युवा संयोजक सुदन थापा तथा गैरआवासीय नेपाली संघप्रति आभार प्रकट गर्दै कार्यक्रममा सहभागी हुनेहरुलाई धन्यवाद प्रकट गर्नुभयो । कार्यक्रममा संघका खेलकुद प्रतिष्ठानका सदस्य सचिव धर्मराज गिरीले स्वागत मन्तब्य दिनु भएको थियो । कार्यक्रममा ओलम्पियन दिपक विष्ट, गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानका सल्लाहकार स्वतन्त्र प्रताप शाह, केल्मीका प्रतिनिधिहरु, संचारकर्मीहरु, विभिन्न खेलुकुद संस्थाका प्रतिनिधिहरुका साथै अन्य गैरआवासीय नेपालीहरुको सहभागीता रहेको थियो