शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

राष्ट्रपति भण्डारीको बंगलादेश भ्रमण : नेपाल र बंगलादेशबीच चार विषयमा समझदारीपत्रमा हस्ताक्षर

मंगलबार, चैत्र १० २०७७

ढाका । नेपाल र बंगलादेशबीच आज दुवै राष्ट्रका राष्ट्राध्यक्षका उपस्थितिमा चार विषयको समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी र उनका समकक्षी मोहम्मद अब्दुल हमिदका उपस्थितिमा बंगलादेशको राष्ट्रपति कार्यालय, बङ्गबन्धु भवनमाम पर्यटन सहयोग, सरसफाइ, सांंस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्गसम्बन्धी सझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव यादवप्रसाद कोइराला र बंगलादेशी नागरिक उड्डयन सचिव मोहम्मद मकामेल हुसेन, नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई र बंगलादेशी वरिष्ठ कृषि सचिव मोहम्मद ममाहुल इस्लाम, सांस्कृतिक मामिला सचिव बदरुल आरेफिन र वाणिज्य सचिव मोहम्मद जफार उद्दिनले हस्ताक्षर गर्नुभएको थियो । समझदारीपत्रमा हस्ताक्षरअघि दुई राष्ट्रपतिबीच राष्ट्रपति भवनमा भेटवार्ता भएको थियो ।
सहकार्य र सहयोगलाई विस्तार गर्न आह्वान
बंगलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जा व्यापारका लागि नेपाल, बंगलादेश र भारतबीचको त्रिपक्षीय सहयोगलाई सुदृढ पार्नु आवश्यक भएको बताएकी छिन् । बंगलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको जन्मशतवार्षिकीका अवसरमा ढाकास्थित ‘नेशनल परेड स्क्वायर’मा आयोजित ‘नेपाल–बंगलादेश सम्बन्ध र बङ्गबन्धुको जन्म शतवार्षिकी’ विषयमा विशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विकासको आवश्यकता परिपूर्ति गर्न नेपालको जलविद्युत् र बंगलादेशको प्राकृतिक ग्यास महत्वपूर्ण साधन बन्ने सक्ने बताइन् ।
दुवै देशले यसअघि नै ऊर्जा सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेकाले व्यापार, पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल, पर्यटन, शिक्षा, संस्कृति एवं जनस्तरको सम्बन्ध अभिवृद्धि गरी आपसी सहकार्य र सहयोगलाई विस्तार गर्न राष्ट्रपतिले आह्वान गरिन् । राष्ट्रपति भण्डारीले व्यापार अड्चनको निवारण, पूर्वाधारको विकास एवं सहज बजार पहुँचले व्यापार सम्बन्धलाई उल्लेख्य रुपमा बढाउन सक्ने जनाउँदै दुवै देशलाई लाभदायी हुने गरी व्यापार घाटा न्यूनीकरण गर्दै लैजानुपर्नेमा जोड दिइन् । ‘बहुपक्षीय मञ्चहरुमा आपसी समर्थन र सहयोगका माध्यमबाट हाम्रा दुई मुलुकका समान हितहरु प्रवद्र्धन गर्नका लागि पनि हामी उत्तिकै सक्रियतापूर्वक लागिरहेका छौँ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘सम्पर्क सञ्जाल विस्तार गर्न काठमाडौँ–ढाका खण्डमा उडानहरु थप्न र बंगलादेशको शइदपुर र नेपालको विराटनगरजस्ता ठूला शहरबीच हवाई सम्पर्क स्थापना गर्न सकिन्छ ।’
भारत र बंगलादेशसँग नेपालका नदीहरुको आबद्धताबाट जलमार्ग विकास गर्न सहयोग पुग्ने जनाउँदै उनले सडकमार्गको स्तरोन्नति र रेलमार्गको विकास एवं तिनको आबद्धताले पनि यस प्रक्रियामा अर्थपूर्ण योगदान दिन सक्ने बताइन् । उनले बंगलादेशको रोहनपुरमा सामान भण्डारण गरी रेल पारवहनद्वारा द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने समझदारी प्रक्रिया अगाडि बढेकामा खुशी व्यक्त गरिन् । दुवै देशको प्राकृतिक सौन्दर्य, ऐतिहासिक तथा पुरातात्विक क्षेत्र एवं सांस्कृतिक सम्पदाको सम्पन्नताका कारण नेपाल र बंगलादेशले पर्यटन क्षेत्रमा आपसी सहयोग विस्तार गरी लाभ लिन सक्ने बताउँदै राष्ट्रपति भण्डारीले बंगलादेशी पर्यटकले नेपालका हिमाल, हराभरा उपत्यका, अपार जैविक विविधता र महत्वपूर्ण ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक क्षेत्रको भ्रमणबाट लाभ लिन सक्ने जनाइन् ।
नेपाली पर्यटकले बंगलादेशका सुन्दर समुद्री तट, सदाबहार समुद्री वनस्पतिका सुन्दर वन र सांस्कृतिक एवं ऐतिहासिक क्षेत्रको भ्रमण गर्न सक्ने उनले बताइन् । राष्ट्रपति भण्डारीले बङ्गबन्धुको ‘सोनार बंगाल’ को परिकल्पनानुसार बंगलादेशले द्रुत गतिका विकास गरिरहेको थापा पाउँदा खुशी व्यक्त गर्दै नेपाल सरकारले पनि आफ्ना सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न केन्द्रित गरिरहेको र नेपालले छिट्टै मध्यम आय भएको मुलुकका रुपमा आफूलाई स्तरोन्नति गराउने अवगत गराइन् । उनले लामो समयदेखि नेपाल र बंगलादेशबीच निकट, मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध रहिआएको पनि उल्लेख गरिन् ।
कार्यक्रममा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले राष्ट्रपति बङ्गबन्धुको जन्मशत वार्षिकीको गत वर्ष भिडियो सन्देशका माध्यमबाट उद्घाटन समारोहलाई शुभकामना दिएकामा राष्ट्रपति भण्डारीप्रति आभार व्यक्त गर्दै बंगलादेश स्वतन्त्रताको आन्दोलनमा नेपाली नेता र जनताले नैतिक सहयोग तथा हतियार समेत दिएको स्मरण गरिन् । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाल र बंगलादेश दुवैले मध्यम आय भएको मुलुकमा एकैसाथ स्तरोन्नति गर्न लागेकामा खुशी व्यक्त गर्दै आफ्नो देशको स्वतन्त्रताको आन्दोलनमा भएको नेपालको सद्भावप्रति धन्यवाद व्यक्त गरिन् । बंगलादेश स्वतन्त्र मुलुक भएपछि मान्यता दिनेमध्ये नेपाल एक अग्रणी मुलुक भएकाले पनि आफूहरु नेपालप्रति सँधै ऋणी रहेको उनको भनाइ थियो ।
समारोहमा बङ्गाली र नेपाली कलाकार टोलीबाट सांस्कृतिक प्रस्तुति गरिएको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारीकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेन, बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रलगायत भ्रमण दलका सदस्यको सहभागिता थियो । यसअघि राष्ट्रपति भण्डारीसँग ढाकास्थित होटेल कन्टिनेन्टलमा बंगलादेशका प्रधानमन्त्री हसिनाले शिष्टाचार भेटवार्ता गरेकी थिइन् । सोमबारै यहाँका विदेशमन्त्री डा अब्दुलले राष्ट्रपतिसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेकी थिइन ।
राष्ट्रपति भण्डारीसँग बङ्गलादेशका प्रधानमन्त्रीको भेटवार्ता
बङ्गलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग सोमबार राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ ।
सोमबारै यहाँका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका थिए । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार यहाँ आइपुगेकी हुन् ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुगेका राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित छन् । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् ।
राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल र संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले बिदाइ गरेका थिए । सो अवसरमा मन्त्री, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलगायत उपस्थित थिए । राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकुडीले सम्मानगारत अर्पण गरेको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा सोमबार बिहान यहाँको राजधानी ढाकामा आइपुगेकी हुन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा आइपुगेी हुन् । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुगेकी राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गरे । राष्ट्रपति भण्डारीलाई विमानाट ओर्लेलगत्तै बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले पनि स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइयो । राष्ट्रपति भण्डारीले त्यसपछि यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे । त्यहाँ उनले वृक्षरोपण पनि गरिन ।
राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी सुपुत्री उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकाल, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, राष्ट्रपतिको कार्यालयका सचिव डा हरि पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीलगायत छन् ।
यस्तै परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी, राष्ट्रपतिका निजी चिकित्सक डा कैलाश भण्डारीलगायत ढाकास्थित नेपाली दूतावासका समेत गरी ५४ जना भ्रमण दलमा छन् । भ्रमण दलमा कलाकार अशोकुमार राईका नेतृत्वमा सांस्कृतिक कलाकर्मीको १९ सदस्यीय टोली तथा तीन सञ्चारकर्मी पनि छन् । रासस

प्रतिक्रिया
सम्बन्धित समाचार