काठमाडौं(जस)– नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । मंगलबार बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरि माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको हो । मंगलबार बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको संगठानिक गतिबिधिका बारेमा छलफल हुने बताइएको छ । यसअघि चैत्र १ र २ गते बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक विषयमा निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिएको थियो । सर्वोच्चको फैसलापछि ब्युँतिएको माओवादी केन्द्रलाई केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको सर्मथन फिर्ता लिने दबाब बढेको छ । ओलीको राजीनामा माग्ने र विरोध गरिरहने तर समर्थन फिर्ता नलिने दोहोरो चरित्र देखाएको आरोप माओवादी केन्द्रलाई लागिरहेको बेला स्थायी कमिटीको बैठक बस्न लागेको छ ।
प्रचण्ड र राजदूत यान्छीबीच भेट
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट गरेकी छन् । राजदुत यान्छीलसँग सोमबार बिहान प्रचण्डनिवास खुमलटार पुगेर भेटवार्ता गरेकी हुन् । केही समयअघि नेपाली राजनीतिमा हस्तक्षेपको आरोप लागेकी चिनियाँ राजदूत यान्छी पछिल्लो समय बढ्दो राजनीतिक विवदाबीच फेरि सक्रिय भएकी हुन् । माओवादी केन्द्रका एक नेताले राजदूत यान्छी र प्रचन्डको भेट भएको बताए । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।
गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता बदर गर्दै दुवै पार्टीलाई ब्युँताएपछि राजदूत यान्छीले पहिलोपटक प्रचण्डलाई भेटेकी हुन् । यसअघि नेकपामा विवाद हुँदा राजदुत यान्छीले आफ्नो सक्रियता बढाउदै नेकपाका श
ीर्ष नेताहरुलाई पालै पालो भेट्ने गरेकी थिइन् । उनले नेकपाको विवाद मिलाउन सक्रियता देखाएको भन्दै सामाजिक संजाल र मिडियामा व्यापक आलोचना पनि खेप्नु परेको थियो । अहिले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने चर्चा चलिरहेका बेला यान्छी र प्रचण्डको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।