विश्वासदीप तिगेला
१. हिन्दु धर्मालम्बीको संख्या घट्छ ५५ देखि ६५ प्रतिशतमा रहन्छ र हिन्दु राज्यको माग गर्नेको शक्ति घटछ । तर सहि तथ्याङ नदेखाई पहिलाको भन्दा झनै बढि देखाउन पनि सक्दछ ।
२. यस पटकको नेपालको राष्ट्रिय जनगणना पछि लिम्बुवानको मुद्धा अन्त्य हुनेछ । किन की लिम्बुको संख्या अनुपातमा घटछ । पहिलो कारण लिम्बु धेरै (युके, अमेरिका) विदेशिए र दोस्रो कारण दुईचार सयले थर याक्थुङ लेख्नेछन । राजनीति र अधिकार प्राप्तिमा जनसंख्याको मुख्य भूमिका हुन्छ । लिम्वुवान सबै जातिको भूमि भनिए पनि दाबी गर्ने पहिलो स्टेक होल्डर लिम्बु नै हो त्यसैले लिम्बुको जनसंख्या घटे लिम्बुवानको मुद्धा पनि अन्त्य हुनेछ अर्थात अस्थित्वमा हुनेछैन ।
३. भारतमा ‘प्रधान’ थर सरकारद्धारा मान्यता प्राप्त भएकोले सबै थरि नेवारहरुले प्रधान लेख्ने गर्दछन । ‘शर्मा’ थर पनि भारत सरकारद्धारा मान्यता प्राप्त भएको र शर्मा चिरपरिचित तथा सम्मानित भएकोले नेपालकै अधिकारी, आचार्य लगायतले समेत आफ्नो थर नेलेखी शर्मा लेख्ने गरेको छ त्यसको कारण हो सरकारको मान्यता, पहिचान र प्रतिष्ठा प्राप्त गर्नु हो । शर्मा थरको पहिचानको लाभ लिनु । तर त्यसको ठिक विपरित पूर्वी नेपालमा रहने थोरै संख्यामा रहेको केही लिम्बुहरुले थरमा याक्थुङ र धर्ममा युमा हुनुपर्ने सवाल उठाएका छन । थर लिम्बुको सट्टा याक्थुङ लेख्दा पहिलो कुरा सरकारले मान्यता दिएको छैन दोस्रो कुरा लिम्बुको संख्या घटने छ । त्यसै पनि लिम्बुको जनसंख्या अनुपातमा घटदो छ फेरी याक्थुङ लेखेमा विभाजित भई झनै घटनेछ । धर्मको महलमा युमा लेखे किरात धर्मालम्बिहरुको संख्या घटनु संगै समग्र किरातको प्रभाव घटनेछ र सरकारद्धारा दिने मान्यता र सुविधा पनि घटनेछ । लिम्बु, राई, याख्खा, सुनुवार, धिमाल, सुरेल, जिरेल, थामी, हायु किरात भएको कुरा अकाटय इतिहास छ यसमा कसैले शंका र चिन्ता नगरे हुन्छ । अर्को संम्वेदशिल सवालः भारत, पाकिस्तान, बंगलादेश र नेपाल मुलुकमा राजनीतिक लाभको निम्ति धर्म प्रबद्र्धन हुन्छ । यदि तपाईले आफ्नो धर्ममा सचेत हुनुभएन भने अन्य धर्मले तपाई माथि प्रभाव लाद्छ । यसर्थ धर्मको नाममा युमा लेख्ने कुरा घातक छ । युमा शब्द आफैमा फेदापे लिम्बु भाषाको शब्द हो । त्यसैले युमा भन्ने वित्तिकै थोरै जनसंख्या भएको लिम्बुले मात्र मान्ने भन्ने कुरा हो त्यसमा पनि अत्यधिक लिम्बुहरु किरात नै लेख्ने पक्षमा छन भने दुईचार सयले मात्र युमा लेखेको खण्डमा कसरी प्रभावकारी हुन सक्छ? किरात धर्म लेख्नुको अर्थ लारुम्बाकै सत्यहाँङ विधि पछ्याउनु भन्ने होइन । भोगबलि चढाउने, नचढाउने, राईहरुको तिनचुले सुनुवार, याख्खा लगायतको आआफ्नो विधि हो । तर गणनामा याक्थुङ थर र धर्मको महलमा युमा लेख्नु भनेको लिम्बुवान प्राप्ति अभियानको विरुद्धमा हुने देखिन्छ ।
अर्को पनि उद्धाहरणः दलित जातिलाई सम्मानजनक शब्द शिल्पी जाति भनौ भनेर प्रस्ताव आयो तर दलितका विज्ञहरुले स्वीकार गरेनन त्यसको कारण हो दलित शब्द सरकारद्धारा मान्यता पाएको र आन्दोलनको रुपमा स्थापित भईसकेको कारण हो । उसो त हिन्दुहरुको वेद र पुराणमा कतै पनि हिन्दु धर्म उल्लेख छैन तथापी हिन्दु धर्म स्वीकार्य छ । मुन्धुम वा मुन्दुममा किरात शब्द होसनहोस स्वीकार्न सकिन्छ । र, अलिखित मुन्धुमको कुरा मात्र लिनु प्राज्ञिक क्षेत्रमा मान्य हुदैन । स्थापित नाममा कति शक्ति हुन्छ ख्याल गर्न जरुरी छ । नेपाल भित्र मुलवासी, आदिवासी जे सुकै भने पनि संयुक्त राष्ट्र संघ अर्थात बाहिरी विश्वले इण्डिजिनियर्स शब्द मात्र चिन्दछ । जतिसुकै ठूलो र कठोर अभियान/आन्दोलन गर्नुहोस इण्डिजिनियर्स भन्नु भएन भने बाहिर विश्व संग जोडिन्न । यसर्थ नामहरु यस्ता हुन्छन की सारा अस्थित्व नै त्यहि शब्दमा हुन्छ । त्यति सम्म स्थापित हुन धेरै कोर्स पार गर्दे आएको हुन्छ ।
जनगणनाबाट आएको तथ्याङ्कको आधारमा सरकारी योजनाहरु बन्ने गर्दछ । युमा लेखिए एक प्रतिशत पुग्ने परिकल्पनै गर्न सकिन्न र सरकारी सुविधाहरु पनि प्राप्त हुन सक्दैन ।
त्यसैले थरमा लिम्बु लेखौ अर्थात याक्थुङ लिम्बु लेखौ । धर्ममा किरात लेखौ तब मात्र लिम्बुवानको आन्दोलन अघि बढछ । थरमा याक्थुङ मात्र लेख्नु र धर्ममा युमा लेख्नु आत्माहत्या गर्नु समान हो, लिम्बुवान आन्दोलनको विरुद्धमा हुनेछ यी कुरा ख्यालहोस । यो अवसर फेरीपनि १० बर्ष सम्म आउने छैन ।
४. यस पटकको नेपालको राष्ट्रिय जनगणना पछि किश्चियन धर्मालम्बिको प्रतिशत बढछ । बुद्धिष्टि, किरात, वोन, मष्ट र मुस्लिमको पनि प्रतिशत बढनेछ । तर सहि तथ्याङ भर्ने वा नभर्ने त्यो कुरा गणक र प्रशोधन गर्नेमा निर्भर हुन्छ ।
५. यस बेला धर्मको विषय स्वेच्छिक हो, त्यो भन्दा ठूलो कुरा संस्कार जोगाउनु हो मात्र भनी रहनु भएको छ भने तपाई नै भोली गोरु काटेको निहूमा वा आरोपमा ३ बर्षको सट्टा १२ बर्ष जेल जानु पर्नेछ । गोरु काटेको निहूमा जेल जाने की नजाने वा कति बर्ष जाने भन्ने कुरा यस पटकको जनगणनामा धर्मको महलमा के लेख्नु हुन्छ त्यसमा भर पर्छ । यसर्थ धर्म र राजनीति कति अन्तरसम्बन्धित हुन्छ र राजनीतिले बनाउने कानुनमा धर्म र धर्मालम्बिको संख्याको कत्रो महत्व हुदो रहेछ भन्ने कुरा प्रष्ट हुन्छ होइन र?
र, एक महान ब्यक्तिले भनेका छन्ः जसले धर्म र राजनीति एकआपसमा जोडिएको अर्थात परिपूरक हुन्छ भन्ने विश्वास गर्दैन, उसले धर्म पनि बुझेको हुदैन र राजनीति पनि बुझेको हुदैन । र, आदाङ्बा, आदाङमा अब पनि लिम्बुवान आन्दोलन विर्षजनको लागि भूमिका खेल्ने की लिम्बुवान प्राप्तिको लागि सक्रिय हुने?