काठमाडौं(जस)–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा सूर्य चिह्नबाट निर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सबै सांसदहरुलाई बोलाइएको सांसद तथा एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् । ओलीले संसदीय दलको बैठक बोलाएपछि नेपाल–खनाल पक्षले भने बहिष्कार गर्ने भएको छ । एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफुहरु सो बैठकमा नजाने बताएका छन् ।
बैठकमा एमालेको नेपाल–खनाल पक्षले भने भाग नलिने भएको छ । एमालेको सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा आफुहरु नजाने बताएका छन् । एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको ललितपुरको सानेपास्थित हेरिटेज पार्टी प्यालेसमा बुधबार र बिहीबार हुने राष्ट्रिय कार्यकर्ता भेलाको पहिलो दिनको कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भट्टराईले बैठक सूचना आफुहरुलाई आएको तर कार्यव्यस्तताका कारण आफुहरु उपस्थित नहुने बताएका छन् ।
उनले भने, ‘हामीलाई बुधबार मात्र एसएमएस आएको थियो, संसदीय दलका नेता प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बैठक भएको जानकारी आएको छ । हामीलाई संसदीय दलमा उपस्थित हुन कुनै समस्या छैन । तर बुधबार र भोलि पार्टीको राष्ट्रिय कार्यकर्ता भेला रहेको उहाँलाई राम्रो जानकारी रहेको छ र हामीले विनम्रताका साथ भेलाको कार्य व्यवस्ताका कारण उपस्थित हुन नसक्ने जानकारी गराएका छौं । त्यसपछि हुने बैठकमा सहभागी हुन्छौं ।’
त्यस्तै पार्टी सचिव भट्टराईले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता नभएको जानकारी दिएका छन् । संसदीय दलका नेता समेत रहेका ओलीले विहिबार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि सूर्य चिह्नबाट निर्वाचित राष्ट्रिय सभा र प्रतिनिधि सभाका सबै सांसदहरुलाई बोलाइएको सांसद तथा एमाले नेता विशाल भट्टराईले जानकारी दिएका छन् ।