काठमाडौं । सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी सर्वोत्तमले आईपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको हो ।
त्यस्तै कम्पनीले प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक समेत नियुक्त गरेको छ । सर्वोत्तमले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी गरेको छ । आईपीओ जारी गरेको ३ महिनाभित्रै ३५ प्रतिशतसम्म लाभांश दिने समेत कम्पनीले जनाएको छ ।कम्पनीले बिक्री प्रबन्धक नियुक्त गर्ने कार्यक्रममा लगानीकर्तालाई १० प्रतिशत बोनस र २५ प्रतिशत नगद गरि ३५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।
कम्पनीले बुक बिल्डिङ्ग मार्फत ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । जसमध्ये २४ लाख कित्ता सेयर संस्थागत लगानीकर्तालाई र ८ लाख कित्ता जिल्लाबासीलाई र ३ लाख कित्ता कर्मचारीलाई छुट्याइएको र बाँकी रहेको २५ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरिने कम्पनीले जनाएको छ ।
बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्न लागेको कम्पनीको सेयर मूल्य न्युनतम प्रतिकित्ता ७५० रुपैयाँ तोकिएको छ भने अन्तिम मूल्य संस्थागत लगानीकर्ताद्वारा मूल्य तोकिएपछि मात्रै सर्वसाधारणका लागि मूल्य निर्धारण हुने कम्पनीले जनाएको छ। सर्वसाधारणको लागि १० प्रतिशत कम अर्थात प्रतिकित्ता ६७५ रूपैयाँमा सेयर जारी हुने कम्पनीले जनाएको छ।
कम्पनीले तोकेको मूल्यको २० प्रतिशत कम अर्थात् ६०० रुपैयाँ र माथिल्लो सीमा ७५० को २० प्रतिशतले बढी अर्थात् ९०० रुपैयाँसम्म हुन सक्ने कम्पनीले जनाएको छ ।