काठमाडौँ(जस)राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छिन् । देशको पछिल्लो राजनीतिक अवस्था बारे छलफल गर्न राष्ट्रपति भण्डारीले मंगलबार ४ बजे सर्बदलीय बैठक बोलाएकी हुन् । बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ । प्रमुख राजनीतिक दलहरु सत्ता समिकरणमा लागेका बेला राष्ट्रपतिले सर्बदलीय बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राष्ट्रपति भण्डारीको बङ्गलादेश भ्रमण तय
राष्ट्रपति विद्यादेवी भण्डारीले यही चैत ९ र १० गते छिमेकी मित्रराष्ट्र बङ्गलादेशको राजकीय भ्रमण गर्ने भएकी छन् । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनले दुई दिवसीय भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति भण्डारीका साथ परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिवलगायत वरिष्ठ अधिकारी तथा सम्बन्धित मन्त्रालयका मन्त्री सहभागी हुने कार्यक्रम तय भएको छ । बङ्गलादेश स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बङ्गलादेशका संस्थापक शेख मुजिबवुर रहमानको शतवार्षिकी जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारीको भ्रमण हुन लागेको हो ।
भ्रमणको अवसरमा राष्ट्रपतिले ‘नेपाल र बङ्गलादेशको सम्बन्ध र बङ्गलबन्धुको जन्म शताब्दी’ को बारेमा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीसँग बङ्गला भवनमा भेटवार्ता गर्ने कार्यक्रम छ । यस्तै आफ्ना समकक्षीले आयोजना गर्नुहुने स्टेट ब्याक्वेटमा सहभागी हुनुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसैगरी भ्रमणका अवसरमा सावरस्थित राष्ट्रिय शहीद स्मारक र धनमण्डीमा रहेको बङ्गलबन्धुको स्मृति सङ्ग्रहालयको अवलोकन गर्नु हुनेछ । नेपाली प्रतिनिधिमण्डलमा सहभागी सांस्कृतिक टोलीले ढाकामा प्रस्तुत गर्ने शताब्दी समारोह कार्यक्रमको अवलोकन पनि गर्नु हुनेछ । राष्ट्रपतिको सम्मानमा नेपाली दूतावासमा आयोजना हुने दिवा भोजमा त्यहाँ रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारी यही चैत १० गते स्वदेश फर्कर्नेछिन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप लगाएकी छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर राष्ट्रपति भण्डारीले सोमबार उक्त खोप लगाएकी हुन् । खोप लगाइसकेपछि उनले भनिन्, ‘विश्व नै कोरोना महामारीका कारण आक्रान्त भइरहेको बेलामा वैज्ञानिकले अध्ययन एवं परीक्षण गरेर कोरोना विरुद्धको खोप हामीलाई उपलब्ध भएको छ । यो निकै खुशीको कुरा हो ।’ सरकारले नेपालमा समयमा नै कोरोना विरुद्धको खोप ल्याएर चरणवद्ध रुपमा लगाउन शुरु गरेको भन्दै राष्ट्रपति भण्डारीले प्रसन्नता व्यक्त गरिन । नेपाल सरकारले समयमा नै खोप ल्याएर जनताको जीवनरक्षालाई पहिलो प्राथमिकता राखेकामा उनले खुशी व्यक्त गरिन ।
पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले खोप लगाएको र अन्यले पनि चरणबद्ध रुपमा लगाइरहेको सन्दर्भमा राष्ट्रपतिले आफ्नै उमेर समूह पर्खेर बसेको जानकारी दिइन । ‘ज्येष्ठ नागरिकलाई पनि लगाउने क्रम चलेको छ । म मेरै उमेर समूह पर्खेर बसेको थिए । यसैबीचमा मैले मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने कार्यक्रम तय भयो’ उनले भनिन्, ‘खोप नलगाई जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले टार्न नसकिने भयो ।’
राष्ट्रपति भण्डारीले कही दिनभित्रै छिमेकी मित्रराष्ट्र बङ्गलादेशको भ्रमण गर्न लागेकी छन् । सो अवसरमा राष्ट्रपतिले निर्धक्क भएर खोप लगाउन नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आग्रह गरे । उनले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, स्वास्थ्य सचिव एवं शिक्षण अस्पतालका पदाधिकारीलाई धन्यवाद दिइन । उनले कोरोना विरुद्ध जनतालाई जागृत गराउँदै जोखिम न्यूनीकरण गर्न सफलता पाएकामा नेपाल सरकारलाई चिकित्सक, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्तालाई मुक्त कण्ठले प्रंशसा गरे । सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीलगायतको उपस्थिति थियो ।