काठमाडौं, २५ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा चेल्सी र वेस्ट ह्याम युनाइटेड विजयी भएका छन् । चेल्सीले एभर्टन तथा वेस्ट ह्यामले लिड्स युनाइटेडलाई हराएका हुन् ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई २-० ले हराएको हो । चेल्सीको जीतमा जोर्गिन्होले एक गोल गरे भने एक गोल एभर्टनको तर्फबाट आत्मघाती भएको थियो ।
खेलको ३१औं मिनेटमा बेन गोड्फ्रेबाट भएको आत्मघाती गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । ६५औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल भएनन् र चेल्सी २-० ले विजयी भयो ।
जीतसँगै २८ खेलबाट ५० अंक जोडेको चेल्सी अंकतालिकाको चौथो स्थानमा रहेको छ भने पराजित एभर्टन २७ खेलबाट ४६ अंकसहित छैटौं स्थानमा रहेको छ ।
यस्तै अर्को खेलमा वेस्ट ह्यामले लिड्स युनाइटेडलाई २-० ले नै हराएको हो । वेस्ट ह्यामको जीतमा जेसे लिङ्गार्ड र क्रेग डवसनले १-१ गोल गरेका थिए ।
त्यसैगरी वेस्ट ह्यामले पाएको एक पेनाल्टीमा लिङ्गार्ड चुकेका पनि थिए । उनको प्रहार विपक्षी गोलरक्षक मेस्लियरले बचाएका थिए । यद्यपि वेस्ट ह्याम २-० ले विजयी रहँदै ३ अंक भने बटुल्न सफल भयो ।
जीतसँगै २७ खेलबाट ४७ अंक जोडेको वेस्ट ह्याम अंकतालिकाको पाँचौं स्थानमा रहेको छ भने पराजित लिड्स ३५ अंकसहित ११औं स्थानमा रहेको छ ।