शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कुनकुन कारणले मान्छेहरु आफू र समुदायको हित विपरितको राजनैतिक पार्टीमा लाग्छन?

मंगलबार, माघ २० २०७७

विश्वास दीप तिगेला

धेरैले राजनीति र राजनीति पार्टी सिद्धान्तमा चल्दछ भन्ने विश्वास गर्दछन् । जनतालाई आकर्षित गर्ने मुख्य आधार नै राजनैतिक पार्टीको सिद्धान्त र नीति हो भन्ने ठान्दछन तर गुद्धिकुरा त्यति मात्र चाहि होइन । कारणहरु मध्येको एक प्रमुख कारण पार्टीको सिद्धान्त र नीति हुन्छ तथापी त्यति नै शक्तिशाली अन्य कुराहरुले पनि भूमिका खेल्ने गर्दछ । त्यस्तो प्रभाव पार्ने के के कुराहरु हुन सक्दछन त्यसको बारे चर्चा गर्नु यो लेखको उद्देश्य हुनेछ । लेखमा आदिवासी जनजाति र आर्य प्रवृतिको बारे पनि तुलनात्मक प्रस्तुती रहनेछ ।

पार्टीको राजनैतिक सिद्धान्त र नीतिको अलवा आफू र समुदायको हित विपरितको राजनैतिक पार्टीमा आबद्ध गराउने ३० कारणहरु यी हुनः आउदो दिनमा कुन पार्टीले आफूलाई फाइदा गर्नसक्छ । हिजो समस्यामा पर्दा कुन पार्टीले सहयोग गरयो । घर परिवारको सदस्यले कुन पार्टीको सहयोगमा रोजगारी वा अवसर प्राप्त गरयो? आफ्नो शत्रु कुन पार्टीमा छ त्यसको ठिक विपरित । आफूलाई ईष्या लाग्ने ब्यक्ति कुन पार्टीमा छ त्यसको विपरित । गाँउ छरछिमेकमा कुन पार्टीको संग धेरै उठवस हुन्छ त्यसको प्रभाव । आफूलाई मन पर्ने विपरित लिंङ्गीको ब्यक्ति कुन पार्टीमा छ त्यसको आकर्षण । घरको मुख्य आयस्रोत जुटाउने ब्यक्तिले कसलाई समर्थन गर्छ । कुटुम्बेरी साइनोले तानिएर । हिजो छिमेकी वा आफन्तको विरुद्ध कुन पार्टी थियो त्यसको विरुद्धमा । पारिवारिक राजनैतिक विरासतको आधारमा । जुन पार्टी कार्यक्रमहरु दिदै जान्छ त्यसमा तानिएर । भविश्यमा कुन पार्टीबाट आफ्नो समुदायको हित गर्न सकिन्छ त्यसको आधारमा । किन हो किन मन परेको ब्यक्ति नेतृत्वमा रहेको कारण । राम्रो पुष्ठभूमि भएका स्वच्छ छवी भएकाको प्रभावमा । आफू असुरक्षित महशुस भएको अवस्थामा सुरक्षित हुनकै लागि सोहि पार्टीमा लाग्ने । कसैको बोलि हार्न नसकेर । पार्टीले सहि मूल्याङकन गरि जिम्मेवारी र अवसर नदिएको खण्डमा । पार्टी भित्र वेथिति भित्रिएको खण्डमा । पार्टीले मूलनीति परिवर्तन गरेको सन्दर्भमा । पार्टीले आफूलाई वेवास्था गरेको अवस्थामा । पार्टीको रणनीतिक प्रयोग । आफूभन्दा जुनियर अगाडि गएको असन्तुष्टिमा । देशकै राजनीति र आन्दोलनको माहौल बहिरहेको धारमा । कसैले उक्साएको वा फूक्र्याएको भरमा । समाजमा भिन्न देखिने चाह । कसैले होच्याउने, हेप्ने गरिरहे त्यसको बदलामा । फलना पार्टी अग्रगामी र प्रगतिशिल हुन्छ भन्ने फेसनेवल कुराको प्रभावमा, होहरेमा जुन चुनाव चिन्हमा भोट हाँलियो अब त्यसै पार्टी तर्फ नजिक । कसैले पार्टीको नीति तथा सिद्धान्त गलत रुपबाट बताएको कारण । पार्टीको नीति तथा सिद्धान्त सम्बन्धी अज्ञानताको कारण । कोहि हेलचेक्राइको कारण । सहि पार्टी तर गलत एप्रोच भएको खण्डमा र नुनपानीको परिबन्दमा परेर आदि कारणहरुले गर्दा मानिसहरु आफैलाई सिध्याउने पार्टीमा समेत समाहित भईरहेका हुन्छन । यो ब्यवहारिक द्धन्द्ध र सिद्धान्त बीचको फ्युजनले उत्पन्न हुने परिणाम सधै रोचक र घोचक हुदै आएको छ ।

यी कारणहरुको अलावा मुलुकको निर्वाचन प्रणाली पनि एक मुख्य कारण रहेको छ । आदिवासी जनजातिहरुको निम्ति छुटाईको समानुपातिक कोटा नेपाल आदिवासी जनजाति महासंघले चुन्नुपर्ने ब्यवस्था भएको भए आदिवासी जनजातिहरु राजनैतिक पार्टीप्रति अनावश्यक ज्यादा बफादार हुनुपर्दैनथ्यो । क्यानडा लगायत धेरै मुलुकको संसदमा आदिवासी जनजातिको कोटालाई आदिवासी जनजातिकै समाज र संगठनले चयन गर्ने परम्परा छ । त्यसो हुदा आदिवासी जनजातिहरुको संगठन आफैमा शक्तिको रुपमा स्थापित भई संस्थागत हुने थियो । राजनैतिक पार्टीले जनजाति सांसद चयन गर्ने ब्यवस्था अर्थात गैरजनजातिले तौलीतौली जनजाति साँसद छान्ने ब्यवस्थाको कारण नेपालका आदिवासी जनजातिका आन्दोलनहरु भनेजस्तो प्रभावकारी बनेका छैनन र आदिवासी जनजातिहरु राजनैतिक पार्टीद्धारा परिचालित हुन परेको छ ।

समाजशास्त्री हारोल्ड लासवेलका अनुसार राजनीति भनेको कसले के पाउछ, कहिले पाउछ र कसरी पाउछ भन्ने कुरा नै राजनीति हो । तसर्थ राजनीतिको मुलधारमा नआई अर्थात राज्यसत्तामा नपुग्ने समुदाय वा ब्यक्ति बिलाउदै र पतन हुदै जाने प्रष्ट छ । जसरी हुन्छ समुदायको राजनीति प्रति आकर्षण र जागरुकता आवश्यक छ । चाहे जुनसुकै माध्ययमबाट किन नहोस तर सिधा मात्र बुझ्नु र लिनु अर्थात जनजातिको मुद्धा र हित विपरितको पार्टीमा लागेकालाई धार लागेर गाली गर्नु सराप्नु आफै अर्को जनजातिहरुको समस्या हो जसले ति पार्टीमा लागेका जनजातिहरुको मनोबल घट्दछ र उनीहरु स्वयं फस्टेसन भई जनजाति विरुद्धकै कर्ममा लाग्न सक्छन जुन चाहि महागल्ति र महामूर्खता हो । आफ्नो समुदायको हितको विपरित मुद्धा वा पार्टीमा लाग्नेलाई गालि गर्नेमा सबैभन्दा अग्रपंक्तिमा जनजाति र आर्य समुदाय देखिन्छन् । सरसर्ति हेर्ने हो भने नेकपा ओली गुट, नेकपा दाहाल गुट, नेपाली काँग्रेस पार्टीमा लागेका जनजाति नेता तथा कार्यकर्तालाई निक्कै कडा भाषामा निरन्तर सघर्षरत जनजातिहरु खुबै गालि गर्छन र दोस्रो दर्जाको जनजातिको रुपमा चित्रण गर्ने कोसिस गर्छन । त्यस्तै गरि केही समय अघि सम्म क. प्रचण्ड माओवादी पार्टीलाई नेतृत्व गर्दै आदिवासी जनजातिका मुद्धाहरुलाई पनि बोकी रहेको बखत ८० प्रतिशत भन्दा बढि आर्य पत्रकारहरुले उनको खइरो खने थुके तर जब प्रचण्डले जनजाति मुद्धालाई छोडेर जब ब्राम्हणवाद अर्थात राजनीति भाषामा जनताको बहूदलिय ब्यवस्था (जबज) नजिक पुगे कुनै आर्य पत्रकार र अगुवाले गालि गरेको देखिन्न यसको अर्थ हो आफूले भने जस्तो नहुदा गालि गर्ने सराप्ने संस्कार जनजाति र आर्य दुवैमा बढि देखिन्छ ।

एक प्रसिद्ध समाजशास्त्री माइकल सर्मरले भनेका छन राजनीतिक सिद्धान्त र धार्मिक विचार आवश्यक पर्दैन मान्छेको प्रवृति बुझन, विज्ञानले नै प्रमाणित गरिसकेको छ की मानव लोभी, स्वार्थी, परोपकारी र सहयोगी हुन्छ भन्ने कुरा । यो भनाईलाई आधार मान्ने हो भने राजनीतिक सिद्धान्त र धार्मिक विचार नै सर्वपरी होइन । मान्छे जो कोहि लोभी, स्वार्थी हुन्छौ नै त्यति मात्र होइन परोपकारी र सहयोगी पनि हुन्छौ । त्यसैले बेग्लै पार्टीमा आबद्ध भयो, आफू र आफ्नो समुदायलाई कमजोर बनाउने नीति भएकै पार्टीमा प्रवेश गरयो वा आबद्ध भईरहयो भनी गाली मात्र गरिरहन पनि सहि होइन । उनीहरुको पनि माथि भनिए झै कुनै पनि कारण कारक बनेको हुन सक्दछन् । उनीहरु पनि आआफ्नो ठाँउबाट आवश्यक यथासक्दो भूमिका खेलीरहेको हुन्छ वा खेल्न सक्छन तर उनीहरुलाई पनि सहि अवसर जुर्नूपर्ने हुन्छ ।

जनजाति आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका एकाध नेतृत्व राजनैतिक भूमरीले पहिचानको ठिक विरोधी पार्टीमा लगेर अड्काई दिएपछि उनलाई पनि आन्दोलित जनजातिहरुले झोले भन्दिए । उनका बारेमा धेरै स्टाटस लेखिए जसको परिणाम उनी जनजाति आन्दोलनबाट विमुख भए र अहिले गुमनाम छन् । त्यो घाटा जनजाति आन्दोलनलाई नै भयो । प्रायः सबै आदिवासी जनजातिहरुलाई थाह छ । संविधानमा बेइमान छ । कान्छो शासकहरु नीतिगत रुपबाट जनजाति, थारु, मधेशी, खस, दलित, मुस्लिमहरुलाई कमजोर बनाउन चाहान्छन, निरन्तर शोषण गर्न चाहान्छन तसर्थ कान्छो शासकको रुपमा उदाएका नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसमा जनजातिको उपस्थिती र शक्तिको रुपमा आवाज, दबाब बन्नु झनै आवश्यक देखिन्छ अन्यथा अझ ब्यापक शोषणको निम्ति, प्रतिगमनको निम्ति बाटो खुल्ला हुन जान्छ । त्यसैले सडक तताउने, कहिल्य पनि सरकारी पदको लाभमा रयाल नचुहाउने, सत्ताको सपना नबोक्ने, बफादार आदिवासी जनजातिहरुको आन्दोलनको महत्व छ । त्यस्तै महत्व नेका र नेकपा भित्रका आदिवासी जनजाति नेताहरुको पनि छ । अहिले नेकपा ओली गुट धर्मनिरपेक्षता खारेजीको पक्षमा उभिन सक्ने चर्चा चलिरहदा त्यस ओली गुट भित्रै रहेका जनजातिहरुले शसक्त दबाब दिनुपर्ने आवश्यक छ भने नेकाँ भित्र पनि एकाध नेताहरु धर्मनिरपेक्ष खारेजीको पक्षमा बेलाबखत वकालत गर्ने गरेको सुनिन्छ । ठूला पार्टीमा धेरै विचारका नेता कार्यकर्ता हुनु स्वभाविक भएपनि धर्मनिरपेक्षताको विरुद्धको आवाज विल्कुलै सहि होइन त्यसैले नेका भित्रका आदिवासी जनजाति नेताहरुको हस्तक्षेपकारी भूमिका हुन जरुरी छ । आआफ्नो पार्टीमा सहि विषयमा, सहि समयमा आवाज र दबाब उठाउदा पार्टीबाट बाहिरिनु परेपनि चिन्ता छैन । झनै ठूलो आदिवासी जनजाति समाज अर्थात पार्टी छदैछ त्यसैले त्यहि हिम्मतका साथमा काम गर्न आवश्यक छ ।

नेता भनेको तालि र गाली दुबै स्वीकार्न सक्नु पर्दछ । मलाई कसैको झोले भन्यो भन्दैमा चित्त दुखाएर कर्तब्य विमुख हुन मिल्दैन । जसले गाली गरयो त्यसले सबैलाई गाली नै गरिरहेकै हुन्छन । त्यसैले आदिवासी जनजाति लगायत पछाडी पारिएकाहरु आफ्नो हक र अधिकारको लडाईमा सामान्य ठेस लाग्नुलाई वास्त गर्नुहुन्न । चिन्ताको विषय के हो भने आदिवासी जनजाति तथा पिछडिएकाहरु एकदिन मात्र आँखा चिम्लेर बस्ने हो भने कान्छो शासकले अतिक्रमण गरि आँखा र आवाज दुबै हरण गरिदिन सक्छन । ढुक्क हुने समय अहिले विल्कुलै छैन ।

अहिले ब्वाँसो प्रवृति भन्ने चर्चा पनि शुरु भएको छ । ब्वाँसो प्रवृतिको अर्थः आफै शिकार गर्न नसक्ने तर स्यालले मारेर ल्याएको शिकार खोस्ने । नेका, नेकपामा रहेका जनजातिहरु आफै कुनै आन्दोलन हाँक्न नसक्ने तर हिजो सडकमा स्व. गोरे बहादुर खपाङी, स्व. डा. गोपाल गुरुङ, सुरेस आले, ओम गुरुङ, कुमार लिङदेन, लक्ष्मण थारु, आङकाजी शेर्पा, पासाङ शेर्पा, पर्शुराम तामाङ, बालकृष्ण माबुहाँङ, राजकुमार लेखी लगायतले आन्दोलन उठाउदा पार्टीबाट जनजातिको नाममा फाइदा लिनेहरु पनि छन जो मुद्धामा त बेइमान छन नै त्यो भन्दा बेइमान आफ्नो समुदाय, आफ्नो भावी सन्ततिहरुको भविश्य माथि नै खेलवाड गरिरहेका छन । यो कुरा ब्वाँसो भूमिकामा रहेका र अनवरत आन्दोलन पक्ष दुबैले ख्याल गर्न आवश्यक छ ।

हक, अधिकार, अवसर प्राप्तिको लागि नीतिगत अनुकुल राजनैतिक पार्टीमा आबद्ध हुन सकौ, आफू आबद्ध हुन नसके पनि अरुलाई आबद्ध हुने सल्लाह दिऔ । घरको भूत र बनको देवता मिल्दैन । त्यस्तैगरि हाम्रो राम्रो पार्टी यो हो त्यसैले त्यो भन्दा बेग्लै पार्टी गलत र त्यसमा लाग्ने आदिवासी जनजाति लगायतका नेताहरु बेठिक हुन भनी खोइरो खन्नु पनि गलित हो तथापी त्यो पार्टी देश र जनताको हित विपरित छ भनी संचेतना दिनु भने आवश्यक हुन्छ । उक्त संचेतनालाई इगोको रुपमा लिनु हुदैन । अब देखि सबैलाई थाह हुनुपर्छ राजनीतिक सिद्धान्तले मात्र राजनीतिक पार्टीमा मान्छेहरु रहेका हुदैनन माथि नै उल्लेख भए अनुसार अनेक कारणले त्यसमा आबद्ध भएका हुन सक्छन । विकसित मुलुकहरुको हकमा चाहि बढि राजनीति सिद्धान्त र नीतिको कारण पार्टीमा आबद्ध हुन्छन तर नेपाल र हामी नेपाली प्रजातान्त्रिक अभ्यासकै क्रममा छौ । तिम्रो पार्टी पहिचान विरोधी, मेरो पार्टी पहिचानवादी भनेर खण्डन मात्र नगरौ, स्वस्थ सुझाव र मुद्धामा कार्यगत एकता गरौ ।

पहिचान विरोधी पार्टीमा रहेका जनजाति नेता, कार्यकर्ताले कति सम्म दबाब र भूमिका खेलिरहेको छ ख्याल गरौ । गाली गलौजलाई कमि गरौ, गाली पाउने नेताहरुले पनि यसलाई सामान्य प्रकृयाको रुपमा लिई निरन्तर आफ्नो लक्ष्य प्राप्तिको निम्ति अघि बढनु आवश्यक छ । हाम्रो आन्दोलन जारी छ, बेइमान संविधानको पूर्नलेखन वा शंसोधन आवश्यक छ । सबैको साझा र निष्पक्ष संविधान बने मात्र शान्ति हुन्छ । शान्ति भए मात्र विकास र संमृद्धि सम्भव छ । ब्यक्ति होइन विधिलाई पछ्याऔं तब मात्र अग्रगमन सम्भव छ । आफ्नो जाति समुदायको हित विपरित नीति तथा सिद्धान्त बोकेको राजनैतिक पार्टीमा आबद्ध तथा सक्रिय नेता कार्यकर्तालाई संचेत गराऔ, गाली गलौजलाई चाहि सकिन्छ बन्द गरौ, सकिन्न कमी गरौ । अतः जादाजादै, फलामको घनले सुनलाई पिटदा सुन चिच्याएन तर फलामले फलाम पिटदा जोडजोडले चिच्यायो तब सुनले सोध्यो तिमी किन त्यतिधेरै चिच्याएको? र फलामले भन्यो आफ्नै फालामले आफैलाई पिट्दा ज्यादै पीडा हुदो रहेछ त्यसैले । यसर्थ पिटने र पिटाई खाने दुवैले अबउप्रान्त विचार गरौ ।

विश्वास दीप तिगेला, २८ जनवरी २०२१

प्रतिक्रिया
सम्बन्धित समाचार