काठमाडौं(जस)–आज कतारले आफ्नो राष्ट्रिय दिवस मनाउँदैछ । देशका संस्थापक शेख जस्सिम बिन मोहम्मद बिन थानीको स्मरण गर्दै हरेक वर्ष डिसेम्बर १८ तारिकका दिन कतारले राष्ट्रिय दिवस मनाउने गर्दछ । सन् १८७८ को यसै दिन उनले आफ्नो पिता शेख मोहम्मद बिन थानीको देहान्तपछि राजगद्दी सम्हालेका थिए । उनकै पालामा कतार एक स्वतन्त्र मुलुक बनेको थियो ।
राष्ट्रिय दिवसका अवसरमा राष्ट्रियभाव झल्किने गरि गाडी सजाउने, कर्नेशमा सैनिक परेड, आतसबाजीलगायत हवाई शो पनि गरिन्छ । राष्ट्रिय दिवस मनाउन हरेक वर्ष आयोजक समितिले नारा सार्वजनिक गर्ने गर्दछ । ‘भगवान तपाइको हामी प्रशंसा गर्दछौ र हाम्रो हरेक कार्यमा तपाइको निर्णय स्वीकार गर्दछौं’ भन्ने नै यो वर्षको नारा रहेको छ । हरेक वर्ष झैँ कतारका संस्थापक शेख जस्सिम बिन मोहम्मदले लेखेको कविता बाट यो वर्षको नारा प्रेरित भएको हो । कविता त्यो समयमा कतारी युवापुस्ताको पनि प्रतिनिधित्व गर्दै लेखिएको थियो । शेख जस्सिम सेना प्रमुख,बिध्वान, निर्णायक,योद्धा र कवि पनि थिए । उनले यूरोप, भारत ,अफ्रिका लगायतका राष्ट्र संग सम्बन्ध विस्तार गरि पर्लको व्यापार समेत बढाएका थिए । जसले गर्दा धेरै कतारी जनताले आफ्नो जीवनस्तर सुधार गरे ।
राष्ट्रिय दिवसका दिन आज विभिन्न कार्यक्रम गरिदैछ । कतार आर्मी, आईएसएफ, आन्तरिक मन्त्रालय, अमिरी गार्डले कर्नेशमा सामुहिक सार्वजनिक परेड गर्ने गर्दछ । यो वर्ष परेड तथा हवाई शो कार्यक्रमको समय बिहान ९ बजे रहेको छ । भाइरसको महामारीका कारण राष्ट्रिय दिवसको दिन हुने यस वर्षको ‘राष्ट्रिय परेड’ मा आमन्त्रित व्यक्तिहरु मात्रै सहभागी हुन पाउने व्यवस्था भएको छ । विशेष आमन्त्रित व्यक्तिहरु स्वास्थ्य संस्था क्षेत्रका कर्मचारी र तीनका परिवार पर्ने आयोजक समितिले बताएको छ । अन्य व्यक्तिहरुलाई बिहान कर्नेश प्रवेशमा रोक लगाईनेछ । कार्यक्रम अल कास टिभी, कतार टिभी र बाट घरमै बसेर लाइभ हेर्न सकिन्छ । स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्दै सावधानी र रोकथामकारी उपाय पालना गरेर परेड आयोजना हुनेछ । यस्तै आतशबाजी कर्नेशमा बेलुका ८ः३० बजे हुनेछ । मास्क,सामाजिक दुरी लगायत भाइरस विरुद्धको नियम पालना गरेर आताशबाजी कर्नेश,कतारा र बन्दरबाट हेर्न सकिन्छ ।
राष्ट्रिय दिवसकै अवसर पारेर अल रय्यान रंगशालाको उद्घाटन र अमिर कपको फाइनल पनि हुनेछ । अल रय्यान रंगशालाको उद्घाटन आज हुँदैछ । कतारको राष्ट्रिय दिवसको अवसर पारेर उद्घाटन हुन लागेको रंगशालामा अमिर कपको फाइनल खेल पनि हुँदैछ । खलिफा,अल जनौब,वक्रा र एजुकेसन सिटी रंगशाला पछि उद्घाटन हुने रय्यान रंगशाला कतारले आयोजना गर्ने फिफा विश्वकपका लागि आठ मध्ये चौथो रंगशाला हुनेछ । जम्मा ४० हजार दर्शक सिट क्षमता भएको यस रंगशालामा २०२२ विश्वकपको अन्तिम १६ सम्मका खेलहरु सन्चालन हुनेछ । चम्किलो वस्तुको आकारमा निर्माण भएको रंगशालाले परिवारको महत्त्व, मरुभूमिको सौन्दर्य, मूल वनस्पति र जीव जन्तु, र स्थानीय र अन्तर्राष्ट्रिय व्यापार पक्षलाई चित्रण गरेको छ । रंगशाला पुग्न दोहा मेट्रोको ग्रीन लाइन अन्तर्गत अल रिफा स्टेशन जान सकिनेछ । मेट्रो दिउँसो २ बजे देखि चल्नेछ । फाइनल हेर्न टिकट लगभग सोल्ड आउट भैसकेको बताइएको छ ।

राष्ट्रिय दिवसका अवसरमा कतारमा सार्वजनिक बिदा हुने गर्दछ । देशको प्रायजसो सरकारी तथा निजी कार्यक्षेत्र यस दिन बन्द हुन्छन् । यधपि अत्यावश्यक स्थान जस्तै अस्पताल, सुरक्षागार्ड, विमानस्थल, होटेललगायत कार्यक्षेत्रमा भने बिदा हुँदैन । बिदा नदिने क्षेत्रमा ओभरटाइम दिएर मात्र काम लगाउनु पर्ने श्रम कानुनमा उल्लेख छ । यो वर्षको सार्वजनिक बिदा डिसेम्बर १७ तारिकमा दिइएको छ । २००७ को जुन अघि कतारले सेप्टेम्बर ३ मा आफ्नो राष्ट्रिय दिवस मनाउने गर्दथ्यो । सेप्टेम्बर ३,१९७१ मा कतारले बेलायतबाट स्वतन्त्रता पाएको थियो ।
कतारको राष्ट्रिय दिवसको अवसरमा थुप्रै कैदीहरुसे आममाफी पाएका छन् । विभिन्न देशका नागरिकले आममाफी पाएको बताइएको छ । निजहरुको चालचलन तथा कैद भुक्तानीको आधारमा कतारका अमिरबाट हरेक वर्ष रमादान महिना र राष्ट्रिय दिवसमा कैदीहरुलाई आममाफी दिने चतन छ । कोरोनाभाइरसको महामारीको समयमा यसै वर्ष १० जना नेपालीले आममाफी पाएका थिए ।
राष्ट्रिय दिवसको अवसरमा ट्राफिक विभागते कतार राष्ट्रिय दिवस समारोहको लागि नीजि सवारी चलाउँदा अपनाउनुपर्ने नियमको सूची निकालेको छ । डिसेम्बर १५ देखि २१ सम्मका लागि विभागते निकालेको नियमअनुसार निजी कारमा चालक सहित चार जनाभन्दा बढी बस्न नपाउने, सवारीको सिसामा रंग लगाउन नपाउने र सवारीको रङ्ग परिवर्तन गर्न नपाउने, सवारी चलाउँदा अगाडि र पछाडिको नम्बर प्लेट छोप्र नपाउने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने, सवारीको झ्यालबाट बाहिर निस्कन पाइने छैन् । यस्तै राष्ट्रिय दिवसको दिन हुने परेड समारोहमा आमन्त्रित व्यक्तिहरु मात्र सहभागी हुन पाउने आयोजक समिति बताएको छ । त्यस्तै अन्यताई बिहान कर्नेश प्रवेशमा रोक लगाइएको छ ।