काठमाडौं(जस)– कतारको रोजगारीमा सिन्डिकेटेबारे छानविन गर्न गठित समितिले कतार रोजगारमा सिन्डिकेट र चलखेल नरहेको निष्कर्ष निकालेको छ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले १७ वटा मेनपावरले मात्रै कतारमा श्रमिक आपूर्ति गर्न सक्ने गरी सिन्डिकेट लाद्न खोजिएको चर्चापछि र व्यवसायीले संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी नै गरेपछि छानविन समिति गठन गरेको थियो ।
संसदीय समितिले कतारको रोजगारीमा सिन्डिकेड लाद्न खोजिएकोबारे ७ दिनभित्र अध्ययन अनुसन्धान गरेर प्रतिवेदन बनाउन भनेपछि मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालको नेतृत्वमा समिति बनाएको थियो । समितिमा श्रम मन्त्रालयका दुई उपसचिव, परराष्ट्र मन्त्रालयका एक उपसचिव र वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधि सदस्य रहेका थिए । सो समितिले १७ वटा ।मेनपावरसँग स्पष्टीकरण सोधेर प्रतिवेदन समितिसमक्ष बुझाएको हो । यो प्रतिवेदन श्रम मन्त्रालयले संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई पेश गरिसकेको भएपनि समितिमा अध्ययनकै क्रममा रहेको बताइएको छ ।
प्रतिवेदनमा कतार रोजगारीमा सिन्डिकेटको चलखेल नभएको निष्कर्ष भएपनि मन्त्रालय कतार रोजगारीका नाममा कामदार चरम आर्थिक शोषणमा परेको उल्लेख भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रतिवेदनमा कामदारमाथि भइरहेको चरम आर्थिक शोषण रोक्न यस अघि कतारसँग सन् २००५ मा गरिएको श्रम सम्झौता पुनरावलोकन गरी शून्य लागतमा कामदार पठाउन सरकारले पहल गर्नुपर्ने सुझाव दिइएको छ ।
नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मुलुक कतारसँग २००५ मा श्रम सम्झौता भए पनि सो सम्झौता पर्याप्त नभएको भन्दै यसमा पुनरावलोकन गर्न विज्ञहरुले समेत सरकारलाई सुझाव दिँदै आएका छन् । कतारसँगको श्रम समझदारी नवीकरण गर्न दुई देशबीच छलफल भए पनि कतारले यसमा चासो नदेखाउँदा सम्झौताको प्रक्रिया अगाडि बढ्न सकेको छैन । कतार रोजगारीका नाममा पछिल्लो समय केही मेनपावर व्यवसायीहरुले अनधिकृत रुपमा कामदार पठाउन थालेसँगै थप आशंकाको घेरामा मेनपावर व्यवसायीहरु तानिएका थिए । श्रममन्त्री रामेश्वर राय यादवले कुनै खालको सिन्डिकेट लागू गर्ने र हुन दिने पक्षमा आफू नरहेको बताउँदै आएका छन् ।
केही समयअघि कतार पुलिसमा पठाउने भन्दै अनधिकृत रुपमा अन्तरवार्ता लिइरहेको अबस्थामा नेपालका लागि कतारी राजदूतावासको गाडीसमेत फेला परेपछि विभिन्न आशंका उब्जिएका थिए । सो सम्बन्धमा नेपालस्थित कतारी राजदूतावासले कतार पुलिसमा नेपाली नागरिकलाई लैजान कतारी नागरिक अन्तर्वार्ता लिन आएको विषयमा कतार राजदूतावासको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारिसकेको छ ।
दूतावासले नेपालवाट कतारमा आवश्यक पुलिसमा भर्ती गराउन डिमाण्ड गर्ने केही मेनपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेको र ती मेनपावर कम्पनीमा कस्ता– कस्ता प्रविधि उपलब्ध छन् र कतार पुलिसका लागि सांच्चिकै फिजिकल्ली र मेन्टल्ली फिट हुन सक्छन् सक्दैनन् भनेर मेनपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलीलाइ राज्यको जिम्मेवार निकाय राजदूतावासले सवारी साधन उपलब्ध मात्र गराएको बताउँदै कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदुतावासको कुनै किसिमको संलग्नता नरहेको उल्लेख गरेको थियो ।