शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

महामारीमा दायित्वबाट पन्छियो सरकार : अब उपचार आफ्नै खर्चमा, शव आफै व्यवस्थापन गर्नुपर्ने’

आइतबार, कार्तिक २ २०७७

काठमाडौं(जस)–सरकार कोरोना भाइरस (कोभिड–१९) संक्रमितको नागरिकको उपचारको दायित्वबाट पन्छिएको छ । अब नागरिकले परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्नेछ भने कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेको व्यक्तिको मृत्यु भएमा शव व्यवस्थापन आफन्तले नै गर्नुपर्ने व्यवस्था भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि, २०७७ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले असोज २५ गते मन्त्रिस्तरीय निर्णय गर्दै होम आइसोलेनमा मृत्यु भएका व्यक्तिको शव आफन्तले नै सुरक्षा अपनाई व्यवस्थापन गर्नुपर्ने निर्णय गरेका हुन् ।
कार्यविधिको बुँदा ४ मा ‘कुनै व्यक्तिको घर आइसोलेसनमा आफन्तले स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्छ ।’ परिवारका सदस्यहरुले र अन्तिम संस्कारमा संलग्न हुने व्यक्तिहरुले सजगता अपनाई अन्त्येष्टि कार्य गर्नुपर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २०७७ असोज १९ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम यस्तो व्यवस्था गरिएको बताए ।
यो निर्णय सबै किसिमका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा लागू हुने छ । आर्थिक रुपमा विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचरी, सुरक्षाकर्मीलगायतको मात्रै सरकारले परीक्षण र उपचार गर्ने बताए ।

थप तीन हजारमा कोरोना पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाख ३२ हजार २४२ पुगेको छ । देशका विभिन्न प्रयोगशालामा २४ घण्टामा १४ हजार ८३१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म ९२ हजार १६६ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ३२६ संक्रमित निको भएर घर फर्किएका छन् ।
हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पिसिआर परीक्षण गरिएको छ । देशभर हाल ३०१ संक्रमितको अतिसघन कक्ष तथा ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको डा गौतमले बताए । प्रदेश नं १ मा ३५ संक्रमित अतिसघन कक्षमा र ११ भेन्टिलेटरमा, प्रदेश नं २ मा १२ संक्रमित अतिसघन कक्षमा, वाग्मतीमा १६६ संक्रमित अतिसघन कक्षमा र ४६ भेन्टिलेटरमा, गण्डकीमा २० संक्रमित अतिसघन कक्षमा र चार भेन्टिलेटरमा, लुम्बिनीमा ५५ संक्रमित अतिसघन कक्षमा र चार भेन्टिलेटरमा, सुदूरपश्चिममा ६ संक्रमित अतिसघन कक्ष र तीन भेन्टिलेटरमा तथा कर्णालीमा सात संक्रमित अतिसघन कक्ष र दुई जनाको भेन्टिलेटरमा भइरहेको जनाइएको छ ।
हाल देशभर ३९ हजार ३४१ सक्रिय संक्रमित छन् । छब्बीस हजार ४०८ संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन् । होम आइसोलेशनमा रहेका संक्रमित प्रदेश नं १ मा चार हजार १२०, प्रदेश नं २ मा ८१४, वाग्मतीमा १६ हजार ७६५, गण्डकीमा ९३०, लुम्बिनीमा दुई हजार २८१, कर्णालीमा ८०८ तथा सुदूरपश्चिम प्रदेशमा ६९० छन् । हाल चार हजार ८३१ संक्रमित क्वारेन्टिनमा छन् । यस्तै हालसम्म प्रदेश नं १ मा सात हजार ९३४, प्रदेश नं २ मा १५ हजार ५७०, वाग्मतीमा ४० हजार २४४, गण्डकीमा चार हजार ७८७, लुम्बिनीमा ११ हजार ८७६, कर्णालीमा तीन हजार ८६८ तथा सुदूरपश्चिम प्रदेशमा सात हजार ८८७ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
काठमाडौंँमा दुई हजार संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा एक हजार ६९८ कोरोना संक्रमित थपिएको डा गौतमले जानकारी दिनुभयो । थपिएका संक्रमितमध्ये काठमाडौँमा एक हजार ४६९, ललितपुरमा १३० तथा भक्तपुरमा ९९ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ । शनिबार पनि १२ संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार