काठमाडौं । अस्पतालको विषयलाई लिएर भ्रममा नपर्न ग्राण्डी सिटी क्लिनिकले अनुरोध गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा.लि. कान्तिपथले विभिन्न संचार माध्यमहरुमा भ्रामक समाचारहरु प्रसारण भैरहेकोमा उक्त समाचारहरु बाट भ्रममा नपर्न अनुरोध गरेको हो ।
‘ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रा.लि. कान्तिपथ, काठमाण्डौको स्थापना समितिभेज इन्टरप्राईजेज अस्पताल थाईल्याण्ड, बैंककको परामर्शमा अन्तर्राष्ट्रियस्तरको सेवा दिने उद्देश्यबाट ग्राण्डी ईन्टरनेशनल हस्पिटल टोखा, काठमाण्डौको सहयोगार्थ संचालन भएकोमा कान्तिपथ ज्योति भवनमा ग्राण्डी सिटी क्लिनिक एण्ड डायग्नोष्टिक सर्भिसेज प्रा.लि. स्थापना गरि मध्यमाञ्चल स्वास्थ्य निर्देशनालय हेटौडाको मिति २०७०-०८-२४ को पत्रबाट अनुमति लिई प्रत्येक आ.व.को कर विवरण पेश गरि कर चुक्ता प्रमाणपत्र समेत प्राप्त गरि सेवा प्रवाह गर्दै आईरहेको छ’, अस्पतालले जारी गरेको विज्ञप्तिमा छ ।
यसै क्रममा ग्राण्डी इन्टरनेशनल हस्पिटल टोखाले छुट्टै अस्पतालको रुपमा संचालन गर्नु भनि जानकारी गरे पश्चात यस क्लिनिकलाई अस्पतालको रुपमा स्तरोन्नति गरि जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाण्डौको मिति २०७१÷१२÷२६ को पत्रबाट केही थप शर्तहरु पुरा गर्ने गरी स्वास्थ्य सेवा संचालन गर्न अनुमति पाउँनुको साथै आ.व. २०७३-०७४ को लागि संस्था नविकरण अनुमति प्राप्त भएको अस्पतालले जनाएको छ ।
‘अस्पतालको सेवा विस्तार र स्तरोन्नतिको लागि जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाण्डौमा पूर्वाधार निर्माणको लागि अनुमति माग गरिएकोमा कार्यालयबाट मिति २०७४-०१-२४ को पत्रद्धारा मनशाय पत्र प्राप्त भए अनुरुप यस अस्पतालले उल्लेखित शर्तहरु पुरा गरि थप स्वीकृत सेवा अनुमतिको लागि प्रस्ताव पेश गरि सकेको अवस्था रहेको छ । संस्था नविकरणको लागि शहरी विकाश तथा भवन निर्माण विभागको सिफारिस हुनु पर्ने व्यवस्था अनुरुप विभागबाट निरीक्षणको क्रममा स्वीकृत डिजाइन बमोजिम भवनको केही भागहरु रेट्रोफिट गर्नु पर्नेमा सो रेट्रोफिट कार्य सम्पन्न गरी पेश गरेको विवरण पश्चात भवनको केही पिल्लरहरुको थप रेट्रोफिटिंग कार्य सम्पन्न गर्नु पर्ने भनी पूनः निर्देशन भएको हुँदा उक्त पिल्लरहरुको रेट्रोफिटिंग कार्य अन्तिम चरणमा पुगेको समयमा कोभिड–१९ महामारीले मिति २०७६ चैत्र देखि लागु भएको बन्दाबन्दीको कारण रेट्रोफिटिंग कार्य रोकिएकोमा सो बन्दाबन्दी अन्त्य भई जनजीवन सामान्य भए बित्तिकै निर्माणस्थलमा रेट्रोफिट गर्न बाँकीरहेका कामहरु पनि सम्पन्न भैसकेकोले हाल भवन विभागको स्वीकृतिको प्रतिक्षामा रहेको व्यहोरा सर्वसाधारणलाई जानकारी गराउदछौं’, अस्पतालद्धारा जारी विज्ञप्तिमा छ ।