काठमाडौँ(जस)–नेपाल प्रहरीका दुई हजार एक सय भन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने सङ्क्रमण दर ह्वात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्राप्त विवरणअनुसार दुई हजार १६१ प्रहरी सङ्क्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए । काठमाडौँ उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६२४ जना सङक्रमित भएका छन् । त्यसमध्य ५५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ जना सङ्क्रमित रहेको जनाइएको छ । त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएको र ७१ को उपचार जारी छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश नं १ मा ३४०, प्रदेश २ मा २५७, वागमती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा सङ्क्रमण देखिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक कडायतले सङ्क्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताए । उनका अनुसार अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन् । सबैको अबस्था सामान्य रहेको कडायतको भनाइ छ । सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कबोभिड–१९ सङ्क्रमण बढिरहेको छ ।
गण्डकी प्रदेश प्रहरी प्रमुखमा कोरोना पुष्टि
गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको हो ।
नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीमा कोरोना उच्च जोखिम देखिएको छ । एक महिनाअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीमा कोरोना देखिएको थियो भने उक्त गणबाट जिल्लाको सुरक्षाका लागि खटिएका प्रहरीको रिपोर्ट पनि पोजेटिभ आएको थियो ।
त्यही गणमा प्रहरीसँगै खाना खानुभएका गण्डकी प्रदेशकै एक प्रदेशसभा सदस्य पनि कोराना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहनुभएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आइतबार थप ६७ जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका सात, बागलुङका तीन र लमजुङका दुई जनामा पोजेटिभ देखिएको हो ।
यससहित गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ५१४ पुगेको छ । तीमध्ये एक हजार ७६६ जना निको भएका छन् । गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । यसैबीच गोरखा नगरपालिका –७ की ७६ वर्षीया महिलाको सघन उपचार कक्षमा उपचारका क्रममा शनिबार मृत्यु भएपछि आइतबार कोरोना पुष्टि भएको छ । उनमा ब्रेनह्यामेरेज थियो ।