सोमबार, भाद्र २२ २०७७
काठमाडौं(जस)–सरकारले कोरोना भाइरस (कोभिड–१९) का सन्र्दभमा राष्ट्रिय मार्गचित्र निर्धारण गर्ने भएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी सो सम्बन्धमा जानकारी दिदैं प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको बताए । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट डा प्रदीप ज्ञवाली र स्वास्थ्य विपद् व्यवस्थापन एकाइबाट एक सदस्य–सचिव रहने छन् ।
यस्तै मन्त्रालयले सबै सरकारी प्रयोगशालाले गर्ने नमूना संख्याको ५० प्रतिशत नमूना परीक्षण मापदण्डमा नपरेका व्यक्तिको शुल्क लिएर परीक्षण गर्नका लागि अनुमति दिने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले सबै सरकारी प्रयोगशालाले गर्ने परीक्षणको ५० प्रतिशत सरकारको मापदण्डमा परेका संक्रमितको नमूनाका लागि स्वाब निःशुल्क गर्ने र ५० प्रतिशत मापदण्डमा नपरेका व्यक्तिको नमूना परीक्षणमा शुल्क लिने भन्ने निर्णय गरिएको बताए । पचास प्रतिशत नमूना परीक्षणका लागि प्रयोग हुने सम्पूर्ण रिएजेन्ट अस्पताल वा प्रयोगशालाले आफैँले खरिद गर्नुपर्ने छ ।
मन्त्रालयका प्रवक्ता डा गौतमले अर्थ मन्त्रालयबाट ६० श्यया सघन उपचार कक्ष ९आइसियु० का लागि बजेट निकासा भएको जानकारी दिए । ती आइसियु शय्या त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा बन्ने छन् ।
यस्तै सरकारले वीर अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य आपत्कालीन कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिए । कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ । उपत्यकामा कोरोना अस्पतालका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीका अस्पताल छन् । ती अस्पतालमा कोभिड–१९ बाहेकका अन्य बिरामीको उपचार गरिँदैन ।
यस्तै विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्झौता गरी स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ । ती स्वयंसेवकलाई कोभिड–१९ फैलिएको ठाउँमा गई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न परिचालन गरिने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।
कोभिडको मार्गचित्र निर्धारण गर्न समिति
नेपालमा थप ९८० मा कोरोना
पछिल्लो २४ घण्टामा नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । नौ दिनअघि कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ रहेको थियो । देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । आइतबार थपिएका संक्रमितमा पुरुष ६९० तथा महिला २९० छन् ।
हालसम्म २८ हजार ९४१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा एक हजार ८१४ संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना निको भएर घर फर्किनेको उक्त संख्या हालसम्मकै बढी हो । हालसम्म सात लाख ६८ हजार ३४५ को पिसीआर परीक्षण गरिएको छ । देशभर हाल १७४ संक्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने २१ लाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए । वागमती प्रदेशमा १०९ जनाको अति सघन कक्षमा र २१ जनाको भेन्टिलेटरमा, प्रदेश नं १ मा नौ जनाको अति सघन कक्ष र तीन जनाको भेन्टिलेटरमा, प्रदेश नं २ मा २८ जनाको अति सघन कक्षमा, प्रदेश नं ५ मा २० जनाको अति सघन कक्ष र तीन जनाको भेन्टिलेटरमा, गण्डकी प्रदेशमा पाँच जनाको अति सघन कक्षमा तथा कर्णालीमा तीन संक्रमितको अति सघन कक्षमा उपचार गरिँदै छ ।
हाल देशभर १७ हजार २७ सक्रिय संक्रमित छन् । हाल सात हजार ८२६ संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् । प्रवक्ता गौतमका अनुसार सबैभन्दा बढी प्रदेश नं २ मा तीन हजार ५०० संक्रमित होम आइसोलेसनमा छन् । यस्तै वागमती प्रदेशमा दुई हजार ३३६, प्रदेश नं ५ मा ९७८, प्रदेश नं १ मा ७४३, सुदूरपश्चिम प्रदेशमा १२६, गण्डकी प्रदेशमा १०० तथा कर्णालीमा ४३ कोरोना संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।
चौबीस घण्टामा कहाँ कहाँ कति भेटिए संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नं १ को उदयपुर, ताप्लेजुङ, भोजपुर र ओखलढुंगामा एक–एक जना, झापामा २६, मोरङमा २९, संखुवासभामा छ तथा सुनसरीमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा १०, पर्सामा २५, बारामा ७३, महोत्तरीमा तीन, रौतहटमा आठ, सप्तरीमा ११, सर्लाहीमा पाँच तथा सिरहामा छ जनामा कोरोना देखिएको छ । वागमती प्रदेशको काठमाडौँमा २९०, काभ्रेपलाञ्चोकमा एक, चितवनमा ३०, दोलखामा सात, धादिङमा १०, भक्तपुरमा ३२, ललितपुरमा ३२, सिन्धुपाल्चोकमा एक तथा सिन्धुलीमा दुई जनामा कोरोना पुष्टि भएको छ ।
गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा पाँच, तनहुँमा सात, नवलपरासी पूर्वमा १२, लमजुङमा दुई, बागलुङमा तीन तथा स्याङ्जामा २२ जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेश नं ५ को अर्घाखाँचीमा ११, कपिलवस्तुमा चार, दाङमा तीन, नवलपरासीमा दुई, पाल्पामा १९, प्युठानमा चार, बर्दियामा छ, बाँकेमा छ र रुपन्देहीमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । यस्तै कर्णाली प्रदेशको कालिकोटमा एक, जाजरकोटमा दुई, जुम्लामा पाँच, दैलेखमा दुई र सुर्खेतमा ४४ जनालाई कोरोना संक्रमण भएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा तीन, कैलालीमा २१, अछाममा ११, डडेल्धुरामा दुई तथा बझाङमा १० जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा थपिए ३५४ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ३५४ कोरोना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । थपिएकामध्ये काठमाडौँका २९०, ललितपुरका ३२ तथा भक्तपुरका ३२ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या आठ हजार २५४ पुगेको छ । हालसम्म काठमाडौँमा छ हजार ६२४, ललितपुरमा ९१९ तथा भक्तपुरमा ७११ कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
एकै दिन कोरोनाबाट नौको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका तीनसहित सात पुरुष तथा दुई महिला छन् । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या २८९ पुगेको छ । प्रवक्ता गौतमका अनुसार काठमार्डौँमा ८५ वर्षीय, ७४ वर्षीय र ६८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मृत्यु हुनेमा मोरङकी ६५ वर्षीया महिला र ४५ वर्षीय पुरुष, झापामा ४५ वर्षीया महिला, पर्सामा ७७ वर्षीय पुरुष, धनुषामा ३५ वर्षीय पुरुष तथा चितवनमा ७० वर्षीय पुरुष रहेका छन् ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij