काठमाडौं(जस)–जनस्वास्थ्यविद्ले ५०० भन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मंगलबार जनस्वास्थ्यविद् डा सुरेश तिवारीले १२ जिल्लामा संक्रमण समुदायस्तरमा नै पुगेकाले नियन्त्रण गर्नुपर्ने बताए । मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा ५०० भन्दा बढी संक्रमित छन् । मंगलबार एकै दिन एक हजार ६९ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ४० हजार ५२९ जनामा संक्रमण देखिएको छ । ‘ती १२ जिल्ला संक्रमणको हटस्पट भएको छ, त्यहाँ संक्रमण समुदायस्तरमा पुगेको हामीले आकलन गरेका छौँ’, उनले भने । नस्वास्थ्यविद् डा तिवारीका अनुसार औसत २२ देखि २४ प्रतिशतले संक्रमण बढिरहेको छ । महिलामा आठ प्रतिशत र वृद्धमा एक प्रतिशतबाट चार प्रतिशत पुगेको छ । परीक्षण गरिएकामध्ये ८ देखि ९ प्रतिशतमा संक्रमित बढिरहेको तथ्यांकले देखाएको जनाइएको छ । डा तिवारीले कोभिड १९ कै कारण मुलुकको अर्थतन्त्र ठप्प पार्न नहुने पनि बताए ।
एक हजार नयाँ संक्रमित थप, आठ सय निको
कोभिड–१९ को संक्रमण विगत २४ घण्टामा एक हजार ६९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनम मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा ३४४ महिला र ७२५ जना पुरुषमा संक्रमण देखिएको जानकारी दिए । चौबिस घण्टामा पिसिआर परीक्षण १२ हजार ८८ जनामा भएको थियो । अहिलेसम्म नेपालमा ४० हजार ५२९ जना कोभिड–१९ को संक्रमण देखिएको छ । डा गौतमले विगत २४ घण्टामा ७६८ निको भएर घर फर्किएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म २२ हजार १७८ जना संक्रमण निको भएर घर फर्किएका छन् । अहिलेसम्म ५५ प्रतिशत निको भएका छन् । उनले अहिलेसम्म १२ जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको जानकारी दिए । मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही रहेका छन् ।
पाँच जिल्ला संक्रमणमुक्त
डा गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुगु संक्रमण मुक्त भएका छन् । उनले संक्रमित देखिएकामध्ये १२७ जना सघन उपचार कक्ष र १७ जना भेन्टिलेटरमा उपचाररत रहेको जानकारी दिए । सघन उपचार कक्षमा प्रदेश नंं १ मा चार, प्रदेश नंं २ मा २९, वाग्मती प्रदेशमा ७५, गण्डकी प्रदेशमा ६ र प्रदेश नंं ५ मा १३ जना उपचाररत रहेका छन् भने भेन्टिलेटरमा वाग्मती प्रदेशमा १४ र प्रदेश नंं ५ मा ३ जना छन् । संस्थागत आइसोलेसनमा १० हजार ८३२ जना र होम आइसोसनमा सात हजार २८० जना छन् । यस्तै सक्रिय संक्रमित १८ हजार ११२ जना र क्वारेन्टिनमा सात हजार ३९० जना छन् ।
उपत्यकामा ४८१ संक्रमित
कोभिड–१९ को संक्रमण उपत्यकामा ४८१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३९३, भक्तपुरमा ३० र ललितपुरमा ५८ जनामा संक्रमण देखिएको बताए । प्रदेश नंं १ को उदयपुर एक, ओखलढुङ्गा दुई, खोटाङमा दुई, झापा १४ , पाँचधरमा एक, मोरग १२ र सुनसरीमा ५६ रहेका छन् । यस्तै प्रदेश नंं २ का धनुषा एक, पर्सा दुई, बारा ११, महोत्तरीमा दुई, रौतहट पाँच, सप्तरी एक र सर्लाही १९ जना रहेका छन् । यस्तै वाग्मती प्रदेशको काभ्रेमा आठ जना, चितवनमा ४५, दोलखामा ११, धादिङमा ११, नुवाकोट दुई, मकवानपुर छ, रसुवा एक, रामछाप दुई, सिन्धुपाञ्चोकमा एक र सिन्धुली ६ रहेका छन् । गण्डकी प्रदेशमा कास्की चार, गोरखा आठ, तनहु पाँच, नवलपरासीपूर्व १५, पर्वत एक र लमजुङमा ३२ रहेका छन् । यस्तै प्रदेश नं ५ मा अर्धाखाँची नौ, कपिलवस्तु सात, गुल्मी १३, दाङ १३, नवलपरासी ९पश्चिम० चार, पाल्पा एक, प्यूठान एक, बर्दियामा सात, बाँकेमा ३३, रुकुमपूर्व एक र रुपन्हेदीमा ९१ रहेका छन् । कर्णाली प्रदशेमा जुम्ला दुई, दैलेख दुई, सल्यान एक र सुर्खेतमा एक जना रहेका छन् । सुदूरपश्चिम प्रदेशमा अछाम १३, कञ्चनपुर चार, कैलाली २० डडेल्धुरामा दुई जना, डोटीमा २४, बझाङ ४० र वैतडी १२ जना रहेका छन् ।
चार वर्षीया बालिकासहित ११ को निधन
कोभिड–१९ को कारणले मंगलबार एकै दिन ११ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमले विगत २४ घण्टामा महोत्ततरीका एक चार वर्षीया बालिकासहित ११ जनाको निधन भएको जानकारी दिए । महोत्तरीकै ३७ वर्षीय, सिरहाका ६५ वर्षीय, पर्साका तीन जना ५३, ६० र ८० वर्षीय, बारा ६० वर्षीय, चितवनको ५२, काठमाडौँको ७० र ३५ वर्षीय र मकवानपुरको ५८ वर्षीय पुरुष छन् । हालसम्म संक्रमणबाट निधन हुनेको संख्या २३९ जना पुगेको छ । नेपालमा कोभिड–१९ को कारणले मृत्यु हुने ०।५९ प्रतिशत हो । गौतमले संक्रमणको दर बढ्दै गइरहेकाले सचेत रहन आग्रह गरे ।