शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेपाल प्रहरी बुझाई, विकास र यथार्थता, निश्चल दाहालको लेख

आइतबार, भाद्र १४ २०७७

निश्चल दाहाल

‘प्रहरी’ यो शब्द सुन्दै मानिसहरु दुई ध्रुबमा बिभाजित हुन्छन । कसैले घुसखोरी, बेइमानीको संज्ञा दिन्छन त कसैले परोपकारी, निस्वार्थी अनि कर्तब्यनिष्ठको । आज हामीले यथार्थ केलाएर हेर्ने हो भने कुन धरातलबाट कहाँसम्म प्रहरीको विकास भयो त ! नेपाली परिप्रेक्ष्यमा उपलब्ध श्रोत साधनको सदुपयोग गरि प्रहरीले कति फड्को मार्यो या कति स्तर गिर्यो? सन १८६४ अगावै देखि स्थापित प्रहरी केही परिवर्तका साथ राणाकालिन अवस्थामा सन १९५१ सम्म रह्यो जसमा आधुनिकतातर्फ नेपाल प्रहरी उन्मुख हुन थाल्यो ।
सन् १९५१ देखि १९९०, यो दौरान नेपालले प्रजातन्त्रको सुनौलो झुल्को देख्न थाल्यो, अनि प्रहरीमा पनि सोही अनुरुपको काम कर्तव्य स्थापित हुन थाल्यो । मुलतः प्रहरीको काम सत्तासीनहरुको नीति अवलम्बन गराउनु नै थियो । सन १९५२ मा प्रहरी मुख्यालयको स्थापना पछि सन १९५६ मा प्रहरी ऐन तथा नियमावली लागू भयो । प्रहरीले बिस्तारै आधुनिकतामा प्रवेश गर्न थालेको थियो । समयको बहाव सँगै प्रहरीका काम तथा कर्तव्यका परिधिहरु बढ्न थाले, मुलुक आधुनिकतामा प्रवेश गर्दै जाँदा सोही अनुरुप यो संस्थान पनि आफुलाइ ढाल्दै गयो । भर्तीकेन्द्र स्थापना सन १९६३ मा गराइएपछि प्रहरी भर्तीको नया स्वरुप आउन थाल्यो । हाल करिब ६८,००० को हाराहारीमा नेपाल प्रहरी रहेको तथ्यांक छ । यो तथ्यांक यसकारण पनिन महत्वपूर्ण छ कि हाम्रो हर एक बूँदामा यो हामीले मूल्याङ्कन गर्नुपर्छ ।
ईतिहासदेखि आजको दिन बर्तमानलाइ नियाल्दा नेपाल प्रहरीलाइ कसरी हेर्ने ? देशले संक्रमणको प्रभाव थेग्न नसक्दा पहिलो लाइनमा यही प्रहरी, बाढी पहिरो, आगलागी, चोरी, डकैती, बलात्कार, अपराध, आतंकवाद आदि सबैसँग जुध्ने पहिलो संस्था यही प्रहरी । तस्करी, कमिसनखोरी, अदालती प्रक्रियाको कार्यान्वयन , कानुनी शासनको स्थापना र ब्यवस्थापन आदि सबैका लागि अग्रपंक्तिमा यही प्रहरी । नेपाली जनसंख्या को आधारमा र नेपाली क्षेत्रफल अनि वर्गीकरणको हिसाबले हेर्दा साथै हाम्रो मानसिकता र पृष्ठभुमि हेर्दा के प्रहरी पर्याप्त छन् त ?
आन्दोलन मत्थर गर्न यही प्रहरी, नेताको सुरक्षा यही प्रहरी, हुल हुज्जत रोक्न यही प्रहरी, रोग महारोग, माहमारिमा अगाडि यही प्रहरी, के संख्या पर्याप्त होला त ! के यो संस्थाको काधमा धेरै बोझ दिइएको छैन होला त ? हामी चर्चा गरौ प्रहरी भित्रको अवस्थाको, एक संस्था जसमा लगभग ६८,००० सदस्य छन, ती हजारौ मानिस भलै एकै प्रकारको तालिम लिएर भर्ती भएका होलान तर, मानसिकता त अवश्य मानिस पिच्छे फरक पर्छ नै नि हैन र ? त्यसमा कोही खराब निस्कदा पुरै सिस्टमलाइ नै दोष दिनु न्यायसंगत होला त ? प्रश्न अनेक छन ।
आजको अवस्थालाइ हेरौ, कोरोना माहामारीमा जकडिएको हाम्रो अवस्थामा बोर्डरदेखि लिएर जनमानसको बीचसम्म भिजेर निरन्तर खटिरहेको जनशक्ति यही प्रहरी हो । आफ्नो ज्यानको बाजी मारेर नेपाल सरकारले तोकेको निकै कम तलबमा, घर परिवारदेखि सयौं हजारौ किलोमिटर पर आफ्नो ड्युटी निभाइरहेका हुन्छन यी प्रहरी । भारतीय सिमाबाट अवैध सामान आउँछ आइरहेको छ । बास्तवमा रोक्न असम्भव प्राय देखिएको छ तर, त्यसमा के दोष यही प्रहरीको हो त ? धरातलमा आएर यथार्थ उत्खनन नगरी आरोपित मात्र गरेर एक सम्पूर्ण संस्थालाइ गालीगलौज गर्नु कति शोभनीय होला त !
अझ चर्चा गर्दा, यो माहामारीको अवस्थामा सुरक्षा भत्ताको कुरा आउँदा स्वास्थकर्मीले अवस्था हेरि दोब्बरसम्म पाउने, शिक्षाकर्मीले बेकामे तलब पाउने, सरकारी अन्य निकायजस्तै निजामती कर्मचारीहरुले बिना काम तलब सुबिधा पाउने तर यी ज्यान माया मारेर खट्ने प्रहरीलाइ दुई छाक पनि राम्ररी नसिब नहुने ? अनि अझै ताना खप्नु पर्ने? के प्रहरी जनतामाझ भिजेकोले नै हो त आरोपको लगातार शिकार बनेको ? उत्तर हामी आफै खोजौ ।
यो महंगीमा रासन भत्ता दुई बर्ष देखि समायोजित नभएको, पोशाक आफैले किनेर लगाउनु पर्ने सम्म अवस्था भएको यो संस्थान आफैमा गरिब संस्थान देखिन थालेको छ तर काममा यस्ले बाधा गरेको त देखिन्न! अब यस्ता चुनौती बावजुत काम गर्ने संस्थाका सदस्यहरुलाइ माया गर्ने, सम्मान गर्ने कि बितृष्णा ! यो लेखलाइ अझ सिमित परिधीमा राख्न चाहन्छु, झापा जिल्लामा मात्र पछिल्लो एक महिनामा श्रावणमा मात्र अवैध भन्सार चोरी, तस्करी नियन्त्रण तर्फ ५३९०००० रुपैया, पशु चौपाया तस्करी नियन्त्रण तर्फ ४००००, गिट्टि बालुवा उत्खनन तर्फ ६१०००० रुपैया मुल्यांकन बराबरको जफती गरिएको छ । यसै समयमा अनेकन क्वारेन्टिनमा सुरक्षा दिनदेखि लिएर, राहत बाँड्न सहजीकरण गर्ने, सामाजिक सुरक्षा स्थापना गर्ने हर कार्यमा प्रहरी अब्बल रहन जरुरि छ जुन कुरा बखुबी निभाएको देखिन्छ । अब यस्तो संस्थाका कमजोरी भनेर स्थलगत अनुगमन नगरी हामिले मनोबल गिराउने काम गर्नु किमार्थ बुद्दिमता हुन्न ।
नेपाल सरकारले मल बीउ बिजन उपलब्ध गराउन सकेन, किसानको सहजीकरणको लागी प्रहरी आफैले चुस्तता देखाएर केही सहजीकरण गर्न चाह्यो तर त्यस्मा बिचौलिया पसेर किसानको छातिमा संङ्गिन रोप्दै आफुले मलजल थुपारेर कालो बजारी गर्न थस्ले जस्को प्रत्यक्ष आरोप प्रहरीले खेप्न परेको छ । छापा मारौ आन्दोलन, नमारौ, नपक्डौ घुस खाएको आरोप । आफ्नो संगठनलाई राम्रो देखाउन के गर्नु पर्ने त यो संस्था ले ? हामीले कदापि हाम्रो कमजोरी कोट्याउन सकेनौ, कतै यो सिस्टम खराब गर्ने हामी आफै त हैन ?
घरपरिवारलाइ पर्याप्त उपलब्ध गराउने तलब नभएको प्रहरीको गोजिमा १००–५० हालिदिएर उसलाइ बिगार्ने कतै हामी त हैनौ ? मेरो भनाई कदापि त्यो १००–५० लिने प्रहरीको समर्थनमा हैन तर, उसलाइ प्रोत्साहित पनि त हामी नगरौ । सचेत नागरिक बन्ने हाम्रो पनि त उत्तिकै दायित्व हैन र ? हरपल हरक्षण देशको सेवामा लागेर आफ्नो समय, स्वार्थ र बिविध आवश्यकताहरुको तिलान्जली दिने नेपाल प्रहरीलाइ मेरो सलाम छ । म आफू सचेत रहेर प्रहरीलाई समेत सचेत गराउदै सहयोग गर्छु, अनि तपाईं नि ? यो संगठनको गरिमामा ठेस नपुर्याइ सबैले सहयोग गरौ, आखिर बिना बर्दीको प्रहरी त हामी पनि त हो नि हैन र ?

जनसवाल राष्ट्रिय दैनिकको २०७७ भदौं १४ गते आइतबारको इपेपर (वार्षिकोत्सव विशेषांक)
https://www.janasawal.com/epaper/2020/08/30/2018/

प्रतिक्रिया
सम्बन्धित समाचार