बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

संक्रमण अझ बढ्छ : स्वास्थ्य मन्त्रालय

शुक्रबार, भाद्र १२ २०७७

काठमाडौं(जस)– सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्र्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताए । उनले संक्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राख्नुभयो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले संक्रमण बढीरहेको उहाँको भनाइ छ । उनले संक्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न अनुरोध गरे । प्रवक्ता डा. गौतमले संक्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गरे । सकारात्मक सोच र चिन्तन गरी सबैले आ–आफ्नो ठाउँबाट संक्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको उनको भनाइ छ । उनका अनुसार कोभिड–१९ को रोकथामको प्रमुख उपाय खोप र जनस्वास्थ्यका मापदण्डको पालना रहेको छ ।
बिहीबार दिन एक हजार १११ जनामा संक्रमण देखिएको छ भने आठ जनाको संक्रमणका कारणले निधन भएको छ । उनले संक्रमणको रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारीलाई सहानुभूति प्रकट गर्न आग्रह गरे । ‘नेपालमा सवै अङ्ग संक्रमणको रोकथाम र नियन्त्रण गर्न अहोरात्र खटिएका छन्, खटिएका कर्मचारीका परिवार पनि संक्रमणबाट पीडित भएका छन्’, उनले भने, ‘यस्तो कठिन घडी संक्रमण रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारी र परिवारप्रति सबैले सहानूभुति राख्नुहोस ।’ संक्रमणको नियन्त्रण र रोकथामका लागि विश्वमा भइरहेका अनुसन्धान प्रयासको सरकारले अध्ययन गरिरहेको उनले बताए । विश्वका कतिपय देशले परीक्षण गरिरहेका कतिपय खोप, औषधी सफल परीक्षणपश्चात हाम्रो देशका नागरिकले पनि राहत पाउने उनको भनाइ छ । कोभिड–१९ बाट आफू र आफ्नो परिवारलाई बचाउनसमेत उनले अनुरोध गरेका छन् ।
बिहीबार नेपालमा थप एक हजार १११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३३४ महिला र ७७७ पुरुषसहित एक हजार १११ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५६९ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म २० हजार ७३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ५६ रहेको प्रवक्ता गौतमले बताएका छन् ।
त्यस्तै पछिल्लो २४ घन्टामा १२ हजार ६२९ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ६ लाख ४७ हजार ८८१ नमुनाको पिसिआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टाइनमा ९ हजार ४८८ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ६३ जना रहेका छन् । त्यस्तै होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार २१० जना रहेका छन् । अहिले आइसीयुमा उपचारत संक्रमितको संख्या १४७ जना रहेका छन् भने भेन्टिलेटरमा राखेर उपचारत कुल १७ रहेका छन् ।
उपत्यकामा ३७७ जना संक्रमित थपिए
बिहीबार काठमाडौँ उपत्यकामा बिहीबार ३७७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित भेटिएका छन् ।
कोरोनाबाट थप ८ जनाको मृत्यु, कुल संख्या १८३ पुग्यो
नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ५ जना महिला र ३ पुरुष रहेका छन् । मृत्यु हुने महिलामा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका एक एक जना रहेका छन् । त्यस्तै काठमाडौँ, पर्सा र कपिलवस्तुका एक एक पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ३३४ महिला र ७७७ पुरुषसहित एक हजार १११ जना संक्रमित थपिएको जानकारी दिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार