बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

नेपालमा प्लाज्मा थेरापीबाट कोरोनाको उपचार हुने, तोकिए यी १२ अस्पताल

मंगलबार, साउन २० २०७७

काठमाडौं(जस)–नेपालमा १२ वटा अस्पतालबाट कोरोना संक्रमितको प्लाज्मा थेरापीबाट उपचार हुने भएको छ । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले नेपालमा कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न १२ वटा अस्पताल तोकेको जानकारी गराएका छन् । नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै एनएचआरसीले देशभर यसलाई विस्तार गर्न लागेको हो । केहि दिन अघि काठमाडौँको शिक्षण अस्पतालमा एक संक्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिएको र उनी कोरोना मुक्त भएका थिए ।
सदस्य सचिव डा. ज्ञवालीले प्लाज्मा थेरापीबाट तथा क्लिनिकल अध्ययन लागि नौ सरकारी र तीन निजी अस्पताल छनोट गरिएको बताए । जसमा सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी र धुलिखेल अस्पताल रहेका छन् भने निजीतर्फ मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल छनोट गरिएको छ ।
प्लाज्मा थेरापीबाट हुने उपचार दाता र उपचार गर्ने दुबैको स्वेच्छाले मात्र यो विधिबाट उपचार गरिने उनले बताए । यसका लागि सरकारले स्पष्ट गाइड लाइन समेत बनाएको डा. ज्ञवालीले जानकारी दिएका छन् । जसमा दाता कोरोना संक्रमण भएर निको भएको, पछिल्लो १४ दिनसम्म कुनै लक्षण नदेखिएको र रक्तदानसम्बन्धी नेपाल रेडक्रस सोसाइटीको मापदण्ड पूरा भएको हुनुपर्ने उल्लेख छ । साथै प्लाज्मा रिसिभर गर्न कोरोना संक्रमित, १८ वर्ष उमेर पुगेको र अस्पतालमा भर्ना भएको हुनुपर्ने, स्वास्थ्य अस्वथा गम्भीर वा ज्यान जोखिममा पर्न सक्ने चिकित्सकको राय चाहिने उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार