शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

यस्तो छ बकर–इद पर्वको अवसरमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति देउबाको शुभकामना

शनिबार, साउन १७ २०७७

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको दोस्रो ठूलो पर्व बकर इद (इदुल जोहा) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको उल्लेख गरेकी छन् ।

उहाँले मुस्लिम धर्मावलम्बीले यस पर्वका दिन सामूहिकरूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएकी छन् ।

“नेपाल विविध जातजाति, भाषा र संस्कृतिको सङ्गम हो । विभिन्न समुदायद्वारा मनाइने यस्ता पर्वले आम नागरिकलाई सामाजिक सांस्कृतिकरूपमा एकताबद्ध बनाउँदै भावनात्मक ढङ्गले राष्ट्रिय एकता सुदृढ गर्नसमेत मद्दत पुर्याउने अपेक्षा लिएको छु”, शुभकामना सन्देशमा उल्लेख छ ।

कोभिड–१९ महामारीले सम्पूर्ण विश्वलाई आक्रान्त पारिरहेको यस कठिन परिस्थितिमा सावधानीका साथ चाड मनाउने भन्ने आशा गर्दै राष्ट्रपति भण्डारीले बकर इद पर्वले स्थिरता र दिगो शान्तिसहित सामाजिक, आर्थिक विकासका कार्यमार्फत ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा सङ्कल्प पूरा गर्न मद्दत पुगोस् भनी सबैमा शुभकामना व्यक्त गरेकी छन् ।

बकर–इदमा प्रधानमन्त्री ओलीको शुभकामना : विविधताबीचको एकता हाम्रो मौलिक पूँजी हो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इद (इदुल जोहा) ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताएका छन् ।

इस्लाम धर्मावलम्बीको पर्व बकर–इद (इदुल जोहा)का अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्नेसमेत शुभेच्छा व्यक्त गरेका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आआफ्नो ठाउँबाट सक्रिय रहन यस अवसरमा सबैमा आह्वान गरेका छन् । “यसै दिनदेखि हिजारी संवतको नयाँ वर्षको शुरूआत हुने गर्दछ । गरिब तथा असहायलाई दान गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ”, उनले सन्देशमा भनेका छन्, “धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधताका बीच अनुपम सुदृढ एकता रहेको हाम्रो देशमा विभिन्न सांस्कृतिक पर्वहरुले आपसी सद्भाव, सहिष्णुता मेलमिलापलाई प्रवर्धन गर्दै आएका छन् ।”

नेपालमा धार्मिक, सांस्कृतिक र भाषिकलगायतका विविधतालाई संवैधानिकरुपमा सम्मान र संरक्षण गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका छन्, “विविधताबीचको एकता हाम्रो मौलिक पूँजी हो र यसका माध्यमबाट हामीले देशलाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्याउनु पर्नेछ ।”

बकर–इदलाई करिब चार हजार वर्षअघि हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका अगाडि प्रस्तुत गरेको कुर्वानी (बलिदानी)को सम्झनास्वरूप मनाइने पर्वका रुपमा लिइन्छ ।

बकर-इदको शुभकामना दिदै प्रचण्डले भने – नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिपूर्ण

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविध भाषा, धर्म, कला, साहित्य, परम्परा, चालचलन, मान्यता, चाड पर्व वा संस्कारको अस्तित्व, मान्यता एवम् सम्मानको अवस्था नै सांस्कृतिक विविधता भएको बताएका छन् ।
समुदायको पर्व बकर इदका अवसरमा आज एक शुभकामना सन्देश दिदै उनले नेपाल भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको देश भएको र नेपालको संविधानले नै बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र रहेको उल्लेख गरेका छन् ।

समाजमा विकसित भएका सामाजिक मूल्यमान्यता, परम्परा, संस्कृति, उत्पादन सम्बन्ध, प्रविधि लगायतको भौतिक तथा अभौतिक पक्षको समुच्च रुप नै संस्कृति भएको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले सन्देशमा भनेका छन्, “पुरानो सोच र संस्कृतिको अन्त्य गर्दै नयाँ वैचारिक आधारमा नयाँ सोच र संस्कृतिको विकास गर्नु आजको आवश्यकता हो ।”

नेपाली जनताले नयाँ विचारको विकासका आधारमा मुलुकको आर्थिक समृद्धिका लागि आफ्नो अभिमत प्रकट गरेको तथ्य पेश गर्दै उनले जनताको यही आशा र भरोसाको सम्मान भनेको विचार अनुरुपको नेतृत्व निर्माण भएको बताए ।

अध्यक्ष दाहालले सोही पक्षमा दृढतापूर्वक अघि बढ्न आग्रह गर्दै सन्देशमा बकर इद पर्वले नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि ल्याउने उल्लेख गरे ।

बकर-इद पर्वले धार्मिक सहिष्णुता र सद्भावना बढाउदै आएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर-इद’ को पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको उल्लेख गरेका छन् । इस्लाम धर्मावलम्वीको पवित्र पर्व ‘बकर इद’ का अवसरमा आज उहाँले सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दै यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि विगतमा भएका हरेक आन्दोलनमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइको महत्वपूर्ण योगदान रहँदै आएको उल्लेख गर्दै सभापति देउवाले लोकतन्त्रको रक्षार्थ अझ बढी जिम्मेवार रहनुहुनेछ भन्ने विश्वास लिएका छन् ।

उनले ‘बकर इद’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्बीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार