बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनआरएनए कोभिड–१९उच्चस्तरीय समितिको बैठक सम्पन्न, समितिले गरेका गतिविधीको समिक्षा साथै आगामी रणनीति तय

आइतबार, साउन ११ २०७७

काठमाडौँ(जस)– गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोभिड–१९ उच्चस्तरीय समितिको बैठक शनिवार सम्पन्न भएको छ । अध्यक्ष तथा उच्चस्तरीय समितिका संयोजक कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ सुरु भएदेखि समितिले गरेका गतिविधीको समिक्षा गर्नुका साथै आगामी रणनीति तय गरेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पन्तले कोरोना भाइरस (कोभिड १९) को महामारीमा विश्वभर छरिएका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाह गरेको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

उहाँले विदेशमा रहेका नेपाली समुदायले व्यहोर्नु परेको अप्ठ्यारो र संवेदनशिल यस घडीमा मलम लगाउने काम भइरहेको भन्दै यस कार्यलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो । आइएलओले गरेको ५ करोड रुपैयाँको सहयोगले संघले नेपालीको मात्र नभएर अन्तर्राष्ट्रिय समुदायले समेत विश्वास गर्ने वातावरण बनेको भन्दै यसले सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्नुभयो । उहाँले कोरोना भाइरसका कारण विदेशबाट नेपाल फर्किएका नेपालीहरुको लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

बैठकमा महासचिव डा. हेम राज शर्माले कोरोना भाइरसको महामारीमा ५० देशमा २१ सय स्वयंसेवक खटिरहेको जानकारी दिनुभयो । उहाँले संघका विभिन्न देशमा स्थापना गरिएका कल सेन्टरमा मार्फत ८१ हजार भन्दा बढीले परामर्श लिएको बताउनुभयो ।

बैठकमा स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले गैरआवासीय नेपालीहरुमा कोरोना प्रभावबाट बच्न र बचाउनका लागि भइरहेका प्रयास र जोखिम बढ्दै गएको पछिल्लो समयमा अपनाउनुपर्ने सावधानीका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
बैठकमा बोल्ने वक्ताहरुले कोरोना भाइरसको जोखिम अझै बढेकोले ढुक्क भएर बस्न नहुने र आफूले सावधानी अपनाए मात्रै अरुलाई पनि संक्रमणबाट जोगाउन सकिन्छ भन्ने भावना मनन गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा सहभागितहरुले नेपालमा फर्किकाहरुलाई सरकारले होम क्वारेन्टिनमा राख्दा समुदायमा कोरोना फैलिन सक्ने जोखिम अझै बढेको बताउँदै त्यस सम्बन्धमा आवश्यक सावधानी अपनाउन उनीलाई सचेत बनाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार