शनिबार, साउन १० २०७७
काठमाडौँ(जस)–गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९ गतेसम्मका विपद्मा १८१ जनाले ज्यान गुमाएका छन् भने अझै ५१ बेपत्ता छन् । विपद्मा परेर २७८ घाइते भएका छन् । यसपालि सबैभन्दा बढी पहिराले क्षति गरेको छ । पहिराका कारण मात्रै १२८ जनाले ज्यान गुमाएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए । वैशाखयता पहिराबाट मात्रै १२८ को मृत्यु भएको छ, ४४ बेपत्ता छन् । यस्तै ११४ जना घाइते छन् । बाढीबाट छ को मृत्यु, सात बेपत्ता र तीन घाइते छन् । चट्याङ लागेर ४७ जनाको मृत्यु भएको र १६१ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।
मनसुन शुरु भएको समय (जेठ ३१) पछि साउन ९ गतेसम्म भने पहिराले धेरै मानिसको ज्यान लियो । त्यसपछि चट्याङले बढी मानवीय क्षति भएको छ । सो अवधिमा बाढी, पहिरा र चट्याङका कारण १४१ जनाको मृत्यु भएकामा पहिराले मात्रै १२६ जनाको ज्यान लियो । बेपत्ता भएका ५१ मध्ये ४४ जना पहिरामै परेका पोखरेलले जानकारी दिए । बेपत्ताको अहिले पनि खोजी जारी छ । उक्त अवधिमा पहिरामा परेर ११३ जना घाइते भएका प्राधिकरणले जनाएको छ । यस्तै बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । चट्याङ परेर १७ जनाले ज्यान गुमाए भने ४२ घाइते भएको प्राधिकरणले जनाएको छ । पछिल्लो १० वर्षमै मनसुन पछिको उक्त अवधिमा सबैभन्दा बढी पहिराको क्षति भएको पोखरेलले राससलाई बताए । उनका अनुसार यसपालि भेल पहिराले नसोचेको ठाउँमा ठूलो क्षति बनाएकाले त्यस्ता जोखिम ठाउँमा बस्दा वर्षाका बेला सचेत हुनुपर्ने देखिएको छ ।
मनसुन शुरु भएकै दिन पर्वतमा जेठ ३१ गते नौजना भेल पहिरामा परेर बिते । त्यसपछि पाल्पा, बझाङ, जाजरकोट, कास्की, सिन्धुपाल्चोक, गुल्मी, लमजुङ र म्याग्दीमा ठूला पहिरो खसेर धनजनको ठूलो क्षति भएको हो । यसपालि गत असार २५ देखि २९ सम्म र साउन ४ देखि ६ गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षा भएको थियो ।
सरकारले विपद्को परेका घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरिसकेको छ । यस्तै विपद्मा मृत्यु भएका व्यक्तिका परिवारलाई रु दुई लाख दिने र एकै परिवारका अन्य व्यक्तिको पनि मृत्यु भएमा प्रतिव्यक्ति थप रु एक लाखका दरले दिने निर्णय गरिसकेको छ । राहत तथा आवास व्यवस्थापनलाई अहिले सरकारले तीव्र रुपमा अघि बढाएको गृहमन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कहाँ के भयो ?
पछिल्लो २४ घण्टामा मुलुकमा विपद्का २२ घटना भएका छन् । ती घटनामा परेर एकको मृत्यु, दुई बेपत्ता र तीनजना घाइते भएका छन् । प्राप्त विवरणअनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ मा रहेको एक कच्ची घर वर्षाका कारण भत्किन गई त्यसमा च्यापिएर एक जनाको मृत्यु भएको छ । सोही नगरपालिका–५ दुईपीपल माझगाउँमा पहिराले पाँच घर पुरिँदा केही पशुचौपाया पुरिएका प्राधिकरणले जनाएको छ । दार्चुलाको महाकाली नगरपालिका–३ बडाली गाउँमा घरबाट बजार आउने क्रममा पहिरामा परेका दुई बालबालिकामध्ये एकजना घाइते अवस्थामा उद्धार गरिएको छ भने एकजना हराइरहेका छन् । यस्तै गोरखाको तिसेङखोलामा पानीको बहाव एक्कासि बढ्न गई एक जनालाई बगाएर बेपत्ता बनाएको जनाइएको छ । उदयपुर, महोत्तरी, बर्दिया, पाल्पा, रोल्पा, नवलपरासी, रौतहट, हुम्ला र कञ्चनपुरमा पनि विपद्का घटना भएको जनाइएको छ । ठाउँठाउँमा पहिरो र बाढीले राजमार्ग अवरुद्ध रहेकाले कतिपय सञ्चालनमा आएको र कतिपय सञ्चालनका क्रममा रहेको जनाइएको छ ।
मौसम
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार र आइतबार भने मौसम सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । प्रदेश नं १ र २ बाहेक अधिकांश प्रदेशका केही स्थानमा अलि बढी वर्षा हुने भए पनि लगातार रुपमा भने वर्षा नहुने मौसमविद् गङ्गा नगरकोटीले बताए । अहिले केही ठाउँमा वर्षा हुने र रोकिने क्रममा जारी छ । न्यूनचापीय रेखा औषत स्थानमै रहेको उनले बताए । मुलुकका अधिकांश भेगका ठूला नदीको बहाव सामान्य घटबढ हुने भए पनि सतर्कता तहभन्दा तलै रहने जनाइएको छ । सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र आसपास भई बग्ने केही साना नदीमा भने आकस्मिकरुपमा बहाव बढ्नसक्ने भएकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
पुनः मौसम सक्रिय हुने
आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । यस वर्ष नेपालमा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो । त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा वाढी पहिरोले जनधनको समेत क्षति भएको थियो । त्यसयता पटकपटक ठाउँठाउँमा भारी वर्षा भयो । गतअसार २५ देखि २९ सम्म न्यूनचापीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो । सोही वर्षाका कारण म्याग्दी, कास्की, जाजरकोट र सिन्धुपाल्चोकमा ठूलाठूला पहिरो खसेर जनधनको क्षति भएको थियो ।
यही साउन ४ देखि ६ गतेसम्म पुनः न्यूनचापीय रेखा नेपाल नजिक पर्दा मनसुनी वर्षा भएको थियो । यसले मुलुकका धेरै ठूला नदीहरुमा बहाव ह्वात्तै बढ्न गई नारायणी, कोशीलगायत नदी खतराको तहसमेत पार गर्दा ठाउँठाउँमा डुबानसमेत भएको थियो भने कतिपय स्थानमा पहिरो खसेर जनजीवन प्रभावित बनाएको थियो । सबै मनसुनी वर्षा आउनुपूर्व नै सरकारले जोखिमको चेतावनी दिँदै सतर्कता अपनाउन भने पछि अकस्मात खसेको पहिरोले धेरै मानिसको ज्यान लियो ।
यसपटक आगामी सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोदिनको रातिदेखि सक्रिय हुने मनसुन केही दिन रहने जनाइएको छ । त्यसले मुलुकका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा गराउने सम्भावना छ । नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने जनाइएको छ । विगतको घटनासमेतलाई मध्यनजर गरी आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।
प्रिमनसुनको समयदेखि नै भारी वर्षा भएकाले यसपटक जमिन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर भित्र चलायमान गराएको भूगर्वविदको भनाइ छ । भूगर्वविद् शिव बाँस्कोटा पहिले गएका पहिरो सक्रिय हुनसक्ने तथा जमिन गलिसकेकाले थोरै पानी पर्दासमेत अन्य क्षेत्रमा समेत पहिरो खस्नसक्ने तथा नदीमा एक्कासी बाढी बढ्ने भएकाले थप सतर्कता अपनाउनुपर्ने बताए । मनसुन सक्रिय भएपछि मुलुकमा बाढी, पहिरो र चट्याङका कारण १४१ जनाको मृत्यु भइसकेको छ । ती मध्ये सबैभन्दा बढी पहिरोले मात्रै १२६ जनाको ज्यान लियो भने ४४ अझै बेपत्ता छन् । उक्त अवधिमा पहिरोमा परेर ११३ घाइते भएका प्राधिकरणले जनाएको छ । यस्तै बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने छ जना बेपत्ता छन् । चट्याङ परेर १७ जनाले ज्यान गुमाए भने ४२ घाइते भएका छन् ।
यसपटक भने पहिचान भएका जोखिम क्षेत्रमा अगाडि नै उद्धारकर्मी तथा सचेतनाका लागि जनशक्ति परिचालन गर्ने तयारी गरिएको र शनिबारदेखि सम्बद्ध सरोकारवालालाई पूर्वतयारीमा जुट्न भनिएको प्राधिकरण प्रमुख पोखरेलले बताए । यसपटकको मनसुन सक्रिय भएपछि अहिलेसम औषतभन्दा निकै धेरै पानी परिसकेको छ । त्यसैले बाढीपहिरो र डुबानको जोखिम धेरै छ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij