शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

म्याग्दीको पहिरोमा मृतकको संख्या २७ पुग्यो, बेपत्ता तीनजना जीवितै

आइतबार, असार २८ २०७७

म्याग्दी(जस)– म्याग्दीको धवलागिरि, मालिका र रघुगङ्गा गाउँपालिकामा शुक्रबारको पहिरामा पुरिएर मृत्यु हुनेको संख्या २७ जना पुगेको छ । प्रहरीका अनुसार बेपत्ता भएका तीनजना जीवितै सम्पर्कमा आएका छन् । चारजना अझै बेपत्ता छन् । धवलागिरि–६ मराङका १८, मालिका–७ बिमका ८ र रघुगङ्गा–६ ठाडाखानीका एक जनाको शव भेटिएको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए । उनका अनुसार धवलागिरि–६ मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशीष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरामती जुग्जाली, करिष्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको मृत्यु भएको छ ।
मालिका–७ बिमकी विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, निशा नेपाली, विष्णु नेपाली र सन्दीप नेपालीको पनि पहिरामा पुरिएर मृत्यु भएको छ । लापु खोलाले बगाएर रघुगङ्गा–६ ठाडाखानीका ५० वर्षीय नलीमान छन्त्यालको मृत्यु भएको थियो । मराङको रिखको पहिरामा बेपत्ता भएका ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, अर्जुन जुग्जाली जीवितै सम्पर्कमा आएका छन् । पहिराले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरि–६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखु खोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोका भेटिएका छैनन् ।
प्रहरीका अनुसार पहिराका जोखिममा रहेका धवलागिरि गाउँपालिकाका ५९०, मालिकाका १९६, रघुगङ्गाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । पहिरामा घाइते भएका १२ जनाको हेलिकप्टरबाट उद्धार गरिएकामा सात जनाको बेनी अस्पताल, एक जनाको काठमाडाँै र चार जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ । बेपत्ताको खोजी र उद्धारका लागि शनिबार बिहान सुरक्षाकर्मी घटनास्थल पुगेका हुन् । भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण २४ घण्टापछि मात्रै सुरक्षाकर्मी पुगेका हुन् । पहिरोमा परेर घाइते भएका मराङका दुई र बिमका एक जनाको ओमकुमारी शान्ति कोष र जिसी ग्रुपको समन्वयमा प्रभु एयरको हेलिकप्टरबाट उद्धार गरिएको छ । मराङकी २२ वर्षीया मञ्जिता श्रीपाली र सात वर्षीय सफल श्रीपालीलाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको छ । बिमका ४० वर्षीय पूर्ण परियारको बेनी अस्पतालमा उपचार भइरहेको छ । ताकममा दुई, कल्लेनीमा दुई र राम्चेमा दुईजना घाइतेको उद्धार गर्न बाँकी छ । थप क्षति हुन नदिनका लागि जोखिमयुक्त बस्तिका वासिन्दालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको देवीस्थानका वडा सदस्य डिलबहादुर पुनले बताए ।
धवलागिरी गाउँपालिकाको काफलडाँडास्थित रानीबनबाट पहिरो खस्न थालेपछि छ परिवार विस्थापित भएका छन् । मनप्रसाद मगर र डण्डपानी जैसीको घरमा पहिरोले क्षति पु¥याएको देवी देउराली युवा क्लवका सदस्य लोकेश गर्बुजाले बताए । मगर, जैसी, हेमनाथ पौडेल, तेजबहादुर विक, खुमबहादुर मगर, रामबहादुर मगर र चित्रबहादुर मगरका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । धेरै ठाउँमा पहिरो गएकाले ३९ घरधुरीको बसोबास भएको काफलडाँडा गाउनै जोखिममा परेको गर्बुजाले बताए । पहिरो र स्थानीय खोलामा आएको बाढीले सुन्तला बगैचा, धान खेत, कोदो र मकै बारी पुरिएर क्षति पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार