शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

पार्टी एकता जोगाउन संघर्ष गरिरहेको छु : अध्यक्ष दाहाल

शनिबार, असार २७ २०७७

चितवन(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुम्न नदिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी माडीद्वारा शनिबार यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले कम्युनिष्ट आन्दोलनलाई ऐक्यबद्ध बनाउनका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न नदिने बताए ।
उनले भने, ‘पार्टी एकताबद्ध बनाउँदै समाजवादको बाटोमा हिँड्नका लागि जनताले विश्वासका साथ मत दिएका हुन् । त्यसमा कहीँ कसैले चुक्नु हुँदैन । हतारमा निर्णय गरेर भोलि पछुताउने समय नआओस् भन्ने नै हो ।’ अध्यक्ष दाहालले अब पार्टी दुर्घटनामा नजाओस् र देश दुर्घटनामा नजाओस् भन्नका लागि पार्टीभित्रको विवाद मिलाउन लागिपरेको बताए । उनले थपे, ‘कुनै न कुनै समझदारी र सहमतिमा देश र जनतालाई अघि राखेर काम गरे समस्याको हल निस्कन्छ ।’ उनले भने, ‘प्रधानमन्त्रीको चाहना पनि सहमति र समझदारी गरेरै अघि बढ्ने रहेको छ ।’
कार्यकर्ताहरुलाई निर्देशन दिँदै अध्यक्ष दाहालले हतार गरेर कुनै खालका गतिविधि नगर्न आग्रह गरे । कार्यकताहरु एकताको पक्षमा दृढ भएर उभिने समय आएको उनको भनाइ थियो । सो अवसरमा उनले कोरोनासँगसँगै बाँच्न र हिँड्न सिक्नुपर्ने बताए । यद्यपि सचेत भने हुनुपर्ने उनको भनाइ थियो । आफू निर्वाचित भएको माडी क्षेत्रमा अरूले गरेजस्तो सामान्य विकास निर्माणले नहुने भन्दै दीर्घकालीन महत्व राख्ने महत्वपूर्ण आयोजनाहरु अघि बढेको उनले बताए ।
निकुञ्ज ऐन संशोधन प्रक्रियामा रहेको, आकासेपुलका लागि अध्ययन गर्न रु एक करोड विनियोजन भएको र चक्रपथ निर्माण गर्ने योजना रहेको पनि उनले बताए । सो अवसरमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा भएका विकास निर्माणका बारेमा जानकारी गराएका थिए । शनिबारै दाहालले बाढीले बगाएर मृत्यु भएका व्यक्तिको घरमा पूर्व सिंह तामाङको घरमा पुगेर जानकारी लिएका थिए ।
नदी कटान रोक्न आवश्यक काम भइरहेको छ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणी नदीको कटान रोक्नका लागि आवश्यक काम भइरहेकाले डर मान्नुपर्ने अवस्था नरहेको बताएका छन् । भरतपुर महानगरपालिका वडा नं २७ र २८ को सीमाक्षेत्र न्यूरेचोकमा नारायणीले कटान गरेको क्षेत्रको शनिबार निरीक्षण गर्नुहुँदै उनले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको बताए ।
यस क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसदसमेत रहेका दाहालले प्रधानमन्त्रीसँगको शनिबारको संवादलाई छाडेर आफू निरीक्षणमा आएको बताए । पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्रीसँग परामर्श गरेर आफू निरीक्षणमा आएको अध्यक्ष दाहालले जानकारी दिए । दाहालले आफू निर्वाचित भएदेखि नै राप्ती र नारायणीमा तटबन्धसहितको चक्रपथ अघि वढाएको बताए ।
विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्याङ्कन कार्य भइसकेको र बजेटका लागि अर्थ मन्त्रालयमा कुरा भईरहेको दाहालले जानकारी दिए । उनले सरकार सकारात्मक रहेकाले सो काम सम्पन्न हुने विश्वास दिलाउनुभयो । पानी परेपछि शुक्रबारबाट सो क्षेत्रमा नारायणीले कटान गर्न शुरु गरेको हो । दाहाललाई यस क्षेत्रका प्रदेशसभा सदस्य कृष्ण भुर्तेल र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नदी कटानका बारेमा जानकारी गराएका थिए । दाहालले शनिबारै माडी नगरपालिकाको बाढी प्रभावित विभिन्न क्षेत्रको पनि निरीक्षण गर्दै छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार