बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पताल, कोरोना रोकथामका लागि हालसम्म १० अर्ब रुपैयाँ खर्च

बिहिबार, जेष्ठ २२ २०७७

काठमाडौँ(जस)–स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्याइरोन्मेन्ट एण्ड क्लाइमेट एक्सन फाउण्डेशन (हेकाफ ३६०) ले बुधबार उपलब्ध गराएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मन्त्री ढकालले सामान्य अवस्थाका बिरामीलाई उपचारका लागि आइसोलेसनकक्ष स्थापना गरी त्यहाँ राखिने बताएका हुन् । उनले अन्तर्राष्ट्रिय अभ्यास र अध्ययनमा सङ्क्रमित भएकामध्ये ८० प्रतिशत बिरामी सामान्य अवस्थाका हुने भएकाले गम्भीर अवस्थाका बिरामीलाई अस्पताल र उपचारको अभाव नहोस् भन्नका लागि अब नयाँ नीतिमा जाने स्पष्ट गरे ।
उनले मुलुकमा १५ हजारसम्म सङ्क्रमित हुनसक्ने आँकलनका आधारमा त्यसको पाँच प्रतिशतका लागि भेन्टिलेटरसहितको अस्पतालमा राख्न सकिने गरी प्रबन्धमा सरकार लागेको जानकारी दिदैं स्वास्थ्य सामग्रीको अभाव भएका बेला प्राप्त सहयोगलाई अतिआवश्यक ठाउँ हेरेर पारदर्शीरूपमा वितरण गरिने बताए । चु जी फाउण्डेशनका अध्यक्ष महेश नकर्मीले ३० थान भेन्टिलेटरसहित रु एक करोड ७० लाख मूल्य बराबरको सामान उपब्ध गराइएको जानकारी दिदैं कोरोना उपचार र रोकथामका क्रममा सरकारसँग मिलेर आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे । सन् १९६६ मा एक बौद्ध गुरुमा चेङ येनको सक्रियतामा स्थापित चुजी फाउण्डेशनको संयुक्त राज्य अमेरिका, चीन, क्यानाडासहित ६३ मुलुकमा शाखा स्थापित छन् ।
कोरोना रोकथामका लागि हालसम्म १० अर्ब रुपैयाँ खर्च
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले हालसम्म करिब १० अर्ब रुपैयाँ खर्च गरेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना नियन्त्रण उपचार, क्वारेन्टिन निर्माण र राहत वितरणमा सरकारले ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारले गरी ९ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका हुन् । अझै स्थानीय तहबाट भएको खर्चको विवरण आएको छैन् । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेशहरुबाट १ अर्ब ८ करोड र स्थानीय तहहरुबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको उनले बताए । अझै स्थानीय तहहरुले गरेको खर्चको पूर्ण विवरण नआएको उनले बताए । बुधबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति बैठकमा खर्चको विवरण सार्वजनिक गरिएको हो ।
समिति बैठकमा लक डाउनलाई सहज बनाउँदै कसरी लैजान सकिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । जनजीवन सहज बनाउँदै लक डाउनलाई कसरी लैजाने भन्ने विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग पनि छलफल भएको छ । तहगत रुपमा लकडाउन खुकुलो पार्दै लैजाने गरी मस्यौदा तयारी गरी सरकारलाई बझुाउने समझदारी पनि बैठकमा बनेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार