काठमाडौं / लोकसेवा आयोगले राजपत्राकिंत प्रथम श्रेणी (सहसचिव) को अन्तर्वार्तामा सहभागी हुन पीसीआर विधिबाट कोरोना परीक्षण अनिर्वाय गरेको छ । आयोगले मंगलबार सूचना जारी गर्दै उपत्यकाबाहिर कार्यरत वा काम विशेषले लक डाउनको अवधिमा उपत्यकाबाहिर गएका उम्मेदवारहरूले अन्तर्वार्ता अगावै कोभिड–१९ पीसीआर परीक्षण गराएर बुझाउन भनिएको छ ।
आयोगले पीसीआरको सक्कल रिपोर्ट लोक सेवा आयोगको कन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य बुझाउन भनेको छ । सूचनामा परीक्षण गराउन कुनै कठिनाइ भए आयोग नै सहजीकरण समेत गरिदिने उल्लेख छ । आयोगले असार २ बाट विभिन्न समूहको सहसचिव पदका उम्मेदवारको अन्तर्वार्ता गर्दैछ ।
