बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

बुधबार एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए, संक्रमित संख्या ९ सय नाघ्यो

बिहिबार, जेष्ठ १५ २०७७

काठमाडौं(जस)– नेपालमा बुधबार एकैदिन अहिलेसम्मकै धेरै कोरोनाभाइरस (कोभिड–१९) संक्रमित फेला परेका छन् । बुधबार एकैदिन १२९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु सबै सप्तरीका हुन् ।
कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखिएको छ । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो पोजेटिभ देखिएको हो । बाँकेको भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।
बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका ७ पुरुष र ३ महिला रहेका छन् भने चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् । अर्का एकजना ५५ वर्षीय पुरुष बझाङका रहेको खुलेको छ भने अर्की एक महिला बोल्न नसक्ने भएकोले पहिचान नभएको महाशाखाका प्रमुख डा. तिवारीले बताए । नेपालमा बुधबार संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् ।
नेपालमा कूल १८३ जनाले कोरोनाको सङ्क्रमण जितेका छन् । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म १४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।
पछिल्लो समयमात्रै थप २८ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । डिस्चार्ज हुनेमा सबैन्दा बढी प्रदेश नं २ का ९७ जना छन् । यस्तै प्रदेश नं १ का ३०, वागमती प्रदेशका ११, गण्डकी प्रदेशका दुई, प्रदेश नं ५ का ३८ र सुदूरपश्चिम प्रदेशका पाँच जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशको विभिन्न प्रयोगशालामा पिसिआर विधिमार्फत तीन हजार ५८० नमूना परीक्षण गरिएको छ । त्यस्तै २४ घन्टामै आरडिटी विधिमार्फट दुई हजार ३२० नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सरकारले हालसम्म पिसिआर विधिमार्फत ५८ हजार २७७ र आरडिटी विधिद्वारा एक लाख २८७ जनाको परीक्षण गरेको छ । देशभर बनाइएको क्वारेन्टिनमा हालसम्म ७० हजार ३०५ जना रहेका छन् । यस्तै विभिन्न अस्पतालको आइसोलेनसमा ६९९ जनाको उपचार भइरहेको छ । हालसम्म कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार