बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

थप ९ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ४५३ पुग्यो

बिहिबार, जेष्ठ ८ २०७७

काठमाडौँ(जस)– नेपालमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितमा झापामा ८ जना पुरुष र रुपन्देहीका एक पुरुष रहेका छन् । साथै आज रुपन्देहीको क्रिम्सन अस्पतालमा उपचारत गुल्मीका शिक्षकको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४५३ पुगेको छ । जसमा पुरुषको संख्या ३८३ र महिला ७० जना रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म ३८ जिल्लाका ४५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३८३ जना पुरुष र ७० जना महिला रहेका छन् । त्यस्तै अहिलेसम्म कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।

त्यसमध्ये प्रदेश १ मा ८४ जना, प्रदेश २ मा १३६, बाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा १९७, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

परिक्षणको अवस्था :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म करिब एक लाख १७ हजार नमुना परीक्षण सम्पन्न भएको जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङ प्रवक्ता डा. विकास देवकोटाले र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) र पीसीआर परीक्षणबाट एक लाख १७ हजार ४३१ नमुना परीक्षण भएको जानकारी गराएका हुन् ।

उनका अनुसार आरडिटी विधिबाट ७८ हजार ६९५ र पीसीआर विधिबाट ३८ हजार ७३६ गरी कुल एक लाख १७ हजार ४३१ वटा नमुना परीक्षणहरु सम्पन्न भएका छन् ।

पछिल्लो २४ घण्टामा पिसिआर ३ हजार ४१३ र र्यापिड टेस्ट मार्फत ३ हजार ६२३ नमुना परीक्षण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।

हाल २५ हजार ३० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै आज टेकु अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै अहिलेसम्म ४९ जना डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार