बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

उपत्यकाका सबै नाका सिल गर्न काठमाडाैं महानगरकाे आग्रह

मंगलबार, जेष्ठ ६ २०७७

काठमाडौं, ६ जेठ । काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गर्ने भएको छ।

महानगरपालिकाको ४६ औं विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गर्ने निर्णय गरेको हो। काठमाडौंमा कोरोना भाइरस संक्रमणको खतरा बढ्दै गएकोले यसबारे महानगरले नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेखी पठाउने निर्णय बैठकमा भएको छ।

‘सरकारले घोषणा गरेको लकडाउन अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु (नाका) बाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारीसाधन तथा पासको दुरूपयोग गरी मानिस उपत्यका प्रवेश गर्ने क्रम अहिले पनि नरोकिएको गुनासो आएको छ,’ महानगरका प्रवक्तासमेत रहेका वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

लकडानउनको अवधिमा कोही व्यक्ति अत्यावश्यक कामको लागि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थान विन्दुमै स्वास्थ्य परीक्षण गरी कोरोना भाइरस नभएको पुष्टि भएपछि मात्र उपत्यका प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउन नेपाल सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
सम्बन्धित समाचार