काठमाडौं, ६ जेठ । नेपालमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका नरैनापुरका १२ जना, धनुषाका २ जना, खोटाङका एक जना, दैलेख आठबिस-१ निवासी एक जना, सुनसरीका एक जना र झापाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोनाबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३७५ पुगेको छ ।
मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म ३३ जिल्लाका ३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २१६ जना पुरुष र ५९ जना महिला रहेका छन् । त्यस्तै अहिलेसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।
त्यसमध्ये प्रदेश १ मा ४४ जना, प्रदेश २ मा १३४, बाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा १७० र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कर्णाली प्रदेशमा पनि पहिलो कोरोना संक्रमित भेटिएका छन् ।