काठमाडौं । काठमाडौँमा लकडाउन झन् कडा हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार सूचना जारी गर्दै लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ । जारी सूचना अनुसार अहिलेसम्मका सबै पास खारेज गरेर अत्यावश्यकहरुका लागि नयाँ निलो रङ्गको पास जारी गर्ने जनाएको छ ।
सवारी पास बिना सवारी साधन र पैदल यात्रुलाई काठमाडौँ प्रवेशमा निषेध गरिएको छ । साथै निर्माण सामग्री बोकेका सवारी साधनले बेलुकी ८ बजेदेखि बिहान ६ बजे भित्र मात्र संचालन गर्न जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको मूल सडक, भित्री सडक तथा गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको अनावश्यक भीडभाड हुने गरेको पाइएकाले त्यसो नगर्न अनुरोध गरेको छ । त्यसो गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाहीका लागि नियन्त्रणमा लिन सकिने कार्यालयले जनाएको छ ।