बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

सातै प्रदेशका प्रहरीलाई लकडाउन कार्यान्वयन गर्न आइजिपी ज्ञवालीको निर्देशन

बिहिबार, बैशाख २५ २०७७

काठमाडौं(जस)–प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सातै प्रदेशका प्रहरी प्रमुखहरुलाई लकडाउन कार्यान्वयन र शान्ति सुरक्षा चुस्त पार्न निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरबाट बुधबार भिडियो कन्फ्रेन्सद्वारा उनले यस्तो निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक ज्ञवालीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण सिर्जना भएको विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषित लकडाउन कार्यान्वयन गर्न अग्रपङ्तिमा खटिएको प्रहरीको सक्रिय योगदानका कारण सकारात्मक सन्देश गएको चर्चा गर्दै अझै थप कडाइका साथ लाग्न आग्रह गरे ।

विषम परिस्थितिमा खटिएका प्रहरी कर्मचारीहरुको स्वास्थ्य स्थितिप्रति प्रदेश प्रहरी नेतृत्व अझै संवेदनशील हुनुपर्ने उनले उल्लेख गरे । प्रहरी कर्मचारीलाई आवश्यक मास्क र स्यानिटाइजर तथा अग्रपङ्तिमा खटिएका प्रहरीका लागि पिपिई समेतको आवश्यकताअनुसार थप व्यवस्था गरिने उनले आश्वासन दिए ।
सीमा क्षेत्रमा थप सक्रियता अपनाउनुपर्नेतर्फ जोड दिँदै उनले जिल्ला प्रशासन कार्यालय र अन्य सुरक्षा निकायहरुसँग समन्वय र सम्बन्धको माध्यमबाट सीमा व्यवस्थापन गर्न प्रदेश प्रमुखहरुलाई निर्देश गरे ।

उनले सम्बन्धित प्रदेशको समस्या र आवतजावत उक्त प्रदेशभित्र नै समाधान गरी अन्तरप्रदेश र अन्तर जिल्लामा आवतजावत पूर्णरुपमा बन्द गरी अति संवेदनशील एम्बुलेन्स लगायतलाई मात्रै अनुमति दिन भन्नुभएको छ । प्रहरी महानिरीक्षक ज्ञवालीले समाजमा विभिन्न अपराधहरु घटन नदिन सचेत हुनुपर्नेमा जोड दिँदै हुन सक्ने घटनाप्रति उच्च संवेनशील भई कार्य गर्न निर्देशन दिए । बाढी, पहिरो, हावाहुरी, खडेरीलगायतका प्राकृतिक प्रकोपहरु समेत आउन सक्ने मौसम भएकाले त्यसतर्फ समेत चनाखो रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार