मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोशी अस्पतालमा उपचाररत ३१ कारोना संक्रमितमध्ये ६ जना निको भए, बुधबार डिस्चार्ज

मंगलबार, बैशाख २३ २०७७

विराटनगर, २३ वैशाख । कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये छ जना घर फर्कने भएका छन् ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयमा गरेकाे पत्रकार सम्मेलनमा ६ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिए ।

उनले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिने निर्णय गरिएको बताए ।

उनीहरु सबै भारतीय नागरिकहरु हुन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्री घिमिरेले जानकारी दिए । केही रगत परीक्षणको काम बाँकी रहेकाले बुधबार उनीहरुलाई डिस्चार्ज गरिने लागेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा‍‍. सङ्गीता मिश्राले बताए ।

उनीहरु सबैलाई विराटनगर रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा एक हप्ता राखिने भएको छ ।

मन्त्री घिमिरेले क्वारेन्टाइनको स्थलगत निरीक्षण गरिएको बताउँदै १० वटा वेड रुम र १० वटा शौचालय भएको मस्जिदमा राखिने व्यवस्था गरिएको जानकारी दिए ।

कोभिड अस्पतालमा उपचाररत कोभिड–१९ बाट सङ्क्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मेसु मिश्राले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार