काठमाडौं । संयुक्त अरब एमिरेट्स यूएईले नेपाललाई सात मेट्रिक टन स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ । सहयोग सामग्रीसहितको जहाज यूएईले बुधबार नेपाल पठाएको हो । सहयोग सामग्री कोरोना उपचारमा खटिएका ७ हजार चिकित्सकहरुलाई पुग्ने यूएईले जनाएको छ । यूएईले प्रदान गरेको स्वास्थ्य सुरक्षा सामग्री सहितको जहाज बुधबार नै नेपाल पुगेको यूएईका लागि नेपाली राजदुत कृष्णप्रसाद ढकालले जानकारी दिए ।
नेपालका लागि यूएईका राजदूत सईद हमदान अल नकबीले अहिलेको महामारीको सामना गर्ने सबै देशहरूलाई सक्दो सहयोग गर्ने योजनाअनुरुप नेपाललाई सहयोग प्रदान गरिएको बताए । सहयोगको माध्यमबाट एकजुट भए मात्रै संकटबाट बाहिर जान सकिने उनको भनाइ छ ।
यूएईले नेपालसहित ३२ देशमा ३ सय ३३ मेट्रिक टन मेडिकल सामग्री सहयोग गरिसकेको छ । त्यो सहायताले कोरोनाको लडाईंमा अग्रपंक्तिमा बसेर काम गर्ने ३ लाखभन्दा बढी चिकित्सकलाई सहयोग पुग्ने यूएईको अपेक्षा छ । यूएईले नेपाललाई देखाएको सद्भाव र सहयोगप्रति नेपाल सरकार तथा आबुधावीमा रहेको नेपाली दूतावासले धन्यवाद व्यक्त गरेको छ ।