शनिबार, बैशाख १३ २०७७
निस्चल दाहाल
झापा / बर्ष ४३,४० र २८ का क्रमशः टेनिलाल राजवंशी, कन्हैया राजवंशी र राम कुमार राजवंशी आफ्नो परिवार छाडी केही पैसा कमाउन ब्लक्सको काम गर्न भनी राजधानी तिर छिरेका थिए। लकडाउनको कारण काठमाडौं र ललितपुरमा नै रहन परेका उनिहरु पैदल झापा आइपुगेका छन, यात्रा गर्ने शक्ति परिवारको मायानै रहेको उनिहरु भन्छन।
टेनिलाल ३ छोराछोरीका पिता, कन्हैया र राम कुमार दुई नानिका पिता हुन । ललितपुरको ब्लक्स बनाउने कारखानामा काम गर्न पुगेका टेनिलाल र राम कुमारलाई के थाहा कोरोना भाइरसको प्रभाव कति सम्म हुन्छ भन्ने? त्यस्तै काठमाडौमा सोही तवरको काम गर्न गएका कन्हैया पनि अनजान थिए, जसरी हजारौ नेपाली यस्तै पिडाबाट गुज्रिए । कचनकवल गाउँपालिका वार्ड ३ बस्ने टेनिलाल र वार्ड ६ बस्ने कन्हैया अनि रामकुमारको दु:खदायी दृढता प्रशंसा योग्य छ तर अव्यवस्थित सरकारि नीति र बेखबर सरोकारवालाहरु सग चित्त दुखाइ पनि हुन्छ।
सरकारले कोभिड १९ कोरोना भाइरसको प्रकोप रोक्न चैत्र ११ गते देखि देश ब्यापि लकडाउनको आव्हान गर्यो जस्कारण जो जहि छन ती त्यहि अवश्य रहने भए। यो वास्थविक कथा माथी उल्लेखित तीन ब्याक्तिको त हो तर यस्ले हजारौं ती ब्याक्तीहरुको प्रतिनिधित्व गर्छ जस्ले सयौ किमि दुरि पैदल हिडेर आफ्नो गन्तव्य पुगे। जस्ले जीवन रक्षा गर्न जीवन नै दाउमा लगाए, जस्ले परिवार सग रहन एकफेर पनि ज्यानको बारे नसोची यात्रामा होम्मिए।
बैशाख २ गते आदिवासी समुदायको महान पर्व सिरुवा पनि पर्छ जुन अघि नै घर फर्कने आश राखेका थिए तिनै जनाले । तर लकडाउन खुल्ने कुनै छाटकाट नदेखे पछि एक झोलामा ओछ्याउन सामान्य तन्ना, केही कपडा, टर्च, चिउरा र पानी बोकेर बिहान ६ बजे काठमाडौ बाट झापा कचनकवल सम्मको यात्राको लागि निस्किए तीन भाइ।
धुलिखेल सम्म हिडुन्जेल त उत्साह थियो किनकी हामी घर जाने सोचमा थियौ तर कहाँ सजिलो हुने रहेछ र, पैताला पोल्न सुरु भइ हाल्यो नि, कन्हैयाले भने। धुलिखेलमा एक दम्पतिले केही चाउचाउ, पानी दिएको सम्झदै टेनिलालले त्यो त हाम्रोलागि अमृत भयो भने। घुडाको अपरेसन गरेका टेनिलालले भेउ पाइसकेका थिए धुलिखेल आइसक्दा कि यात्रा सहज छैन भन्ने। तर फर्कने कुरो रहेन। साहुले पैसा दिइरहन नसक्ने, काठमाडौमा दिन दिन खाना र बस्न असुविधा बढ्दै गइरहेको र पारिवारिक चिन्ता, अब पाइला त झापा तर्फ नै बढाउन पर्यो नि हैन, भावुक हुँदै कन्हैयाले भने।
नसुती हिडेको हिडयै गरेका तिनजना एक दिनमा सिन्धुली आइ पुगे, यात्रामा सयौ अन्य मानिसहरु भेटियो जो सर्लाही , सप्तरी, इलाम आदि तर्फको लागि स साना बाल बालिका सहित हिड्दै थिए। सिन्धुलिको बोर्डरबाट करिब २० किमि एक निजि बिद्यालयको बसले यात्रा गराइदिदा त स्वर्गमा पुगेको भान भयो उनिहरुले भने। बसबाट उत्रे पछि करिब १५ किमिको पैदल यात्रा गरेर तिनभाइ बर्दिबास आइ पुगेका थिए। उनिहरु सिन्धुलिको जंगलमा हिडिरहदा पहाडको बारेमा ज्ञान नभएकोले अत्तालिएको सम्झन्छन। बसौ बाघ भालु आउला, नबसौ ज्यान थकित छ तथापि थकान चिर्दै यात्रामा बढिरहे ।
उसो त पुरै यात्रा पैदल नै तय गरेको हैन, बर्दिबासमा भाग्यवस उनिहरुले एक ट्रक भेटे जस्ले इटहरी सम्म प्रती ब्याक्ति ८०० रुपैया लिएर लाने भन्यो। पैसाको कुरा यो अवस्थामा सर्वोपरि थिएन त्यसैले उनिहरु राजी भए। ट्रकमा के बसेका थिए मुसलधारे पानीले चुट्न थाल्यो। त्रीपालको टुक्रा बटुलेर टाउको छोपेर काप्दै यात्रा गरिरहे उनिहरु । ट्रकले सम्झौता अनुरुप इटहरी नल्याएको र सप्तकोषी पुलको पारी उतारेर ट्रक फर्किएको हुनाले अबको यात्रा पैदला गर्न बाध्य थिए।
अन्नको नाममा, चिउरा, चाउचाउमा नुन हाल्दै मुक्याउदै पानीले घुटुक्क पारेर निलेर हिडेका उनिहरु एक झप कहि सुतेनन । पिडुला सुन्निदा सम्म घरपरिवारको शक्तिले तानी रह्यो। प्रसंग निस्कदै गर्दा रामकुमारले, हामिले कचनकवलको स्थानिय जनप्रतिनिधि, अध्यक्ष सग पनि कुरा गर्यौ वहाँले म हेर्छु भन्नू भयो, तर खै के हेर्नू भयो थाहा भएन भन्दै दुखेसो गरे। हाम्रो यात्रा नितान्त हाम्रो थियो र पीडा बस हाम्रो मात्र थियो कन्हैया आँखा पुस्दै भन्छन।
कोशी कटेर करिब १३ घण्टाको निरन्तर पैदल यात्रा पश्चात् इटहरी आइपुगे रामकुमार,उनिसङ्ग कन्हैया र टेनिलाल छुटिसकेका थिए अब। टेनिलालको घुडाले निकै दु:ख दिन थाल्यो, कन्हैया पनि कमजोरी महशुस गर्न थाले। रामकुमार इटहरी बाट पनि पैदल एक्लै दमक सम्म आए त्यसै गरि कन्हैया, टेनिलाललाइ भने प्रहरिले सहयोग गरि एक भेनमा हालेर दमक पठाइ दियो। दमकमा टेनिलाल र रामको भेट भयो जहाँबाट बिर्तामोड सम्म फेरि गाडिको ब्यवस्थापन गरिदियो प्रहरिले र कन्हैयालाई पनि तर उनी एक्लै थिए।
राम र टेनिलाललाइ लिन बिर्तामोड सम्म एम्बुलेन्स गयो भने कन्हैयाले सम्पर्क गर्ने माध्य नपाएकोले उनी एक्लै हिड्दै अरु लगभग २० किमि बढी दुरि पैदल हिड्न बाध्य भए। राम र टेनिलाललाइ सोही दिन सिधै कचनकवल स्थित क्वारेन्टिनमा लगियो भने राती आइपुगेका कन्हैयालाइ भोलि पल्ट बिहानै। क्वारेन्टिनमा ६ दिन बिताएर ११ गते घर फर्किए सबै जना र परिवारसग मेल भयो।
यो भयो ती तीन ब्याक्तिहरुको सामान्य कथा जस्मा पोख्नै नसकिने ब्यथा लुकेको छ। उनिहरुको परिवारको आखाको आसुले बग्दा बनाएको धाराको छाप गालाबाट मेटिएको छैन। यत्रो लामो यात्रामा निस्कदा जिउदै त आइपुग्लान भनेर हर मिनेट अत्तालिएका थिए परिवारका सदस्य हरु। यात्राको दौरान कहि कहि त्यसरी सहयोग गर्ने प्रहरीहरु भगवानको अवतार सिद्ध भएको थियो हामिलाइ भन्छन उनिहरु र सरकारले यस्तो दु:ख कसैलाइ नदिवोस भन्ने चाहान्छन । रोगले भन्दा भोक र शोकले मानिसलाइ असहज हुन सक्छ र यो झन घातक हुन्छ यसबारे सबैले सोच्न जरुरि छ भन्दै यी पैदल यात्रीहरुले हामिले भोगेको पीडा अरुले कहि कतै भोग्न नपरोस भन्दै प्रार्थना गर्ने बताए।
यात्रा भरमा पिल्सिएका पैतालाका छाला, सुन्निएका पिडुला, अनिदोले एक्लाएको अवस्था, मानसिक तनाव र खाना नपाउदाको पीडा अनि त्यो माथी सरकारको गैर जिम्मेवारी यी बेदनाले पोलेको छ सबै पैदला यात्रुहरुलाइ जस्ले सयौ किलोमीटर आफुलाइ घिसार्दै घर हिडे। हर एक चौकमा साधन सम्पन्न प्रशासन बसेको यो अवस्थामा आवस्यकताको अध्ययन गरेर आफ्नो घर पठाउन किन सक्दैन सरकारले, किन भोकै पराया ठाउमा मार्न खोजेको सरकारले भनेर मलाइ उल्टै प्रश्न थोपरे कन्हैयाले जस्को उत्तर मैले दिन सकिन ।
प्रधानमन्त्रीज्युको एकपटक मैले वक्तव्य सुन्दा पत्रकारले देख्ने अरु कसैले नदेख्ने भन्नु भएको थियो जुन आफैमा लज्जास्पद थियो, आज मेरो आखाले यी तीन पात्र देखे, भेटे र गफ गरे। मेरो आँखा रसायो वहाँहरुको दु:ख र पीडा सहन सक्ने क्षमता देखेर । मैले सम्झिए ती लालाबाला बोकेर गन्तव्य पहिल्याउदै हिडेका पाइलाहरु,मैले सम्झिए ती भोका पेटहरु, मैले सम्झिए ती असिना पानीले चुटेका शरीरहरु र मैले सम्झिए ती तनावग्रस्त अवस्था लिएर बढेका मनहरु । यस्तो पिडाको बावजुत गन्तव्यमा पुग्ने अठोट बोकेका ती सबैलाइ मेरो सलाम छ साथै म लज्जित छु आफ्नो कर्तव्यबाट बिमुख हुन खोजेको सरकार देखेर ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij