विश्व कोरोना भाईरस (कोभिड-१९) भाइरसको प्रकोपसँग जुधिरहेको छ। हर कुना कुनामा यसको बारेमा मानिसहरुलाई जानकारी भइसकेको अवस्था नकार्न सकिन्न। यो भाइरस आफुमा जति खतरनाक छ त्यो भन्दा बढी यसले उत्पन्न गराउने मानसिक तनावको खतरा, सामाजिक खतरा र आर्थिक खतरा छ। यो भाइरस बिरुद्धको एन्टिडोट नहुनुले त्रास अत्याधिक फैलिएको स्वाभाविक हो। मुलतः सामान्य जनमानसमा कोरोना भाइरसको बारेमा थाहा छ तर यस्लाई कसरी किनारामा राख्ने ज्ञान नहुन सक्छ । जसले दर्दा त्राहीमाम पैदा भएको छ ।
यतिबेला हामी सामाजिक अभियन्ता जसले अलिक सचेत बर्ग भनेर आफुलाइ उभ्याउनेहरुमा ठूलो जिम्मेवारी छ । अहिलेको अवस्थामा, अझ सामाजिक संघ संस्था, राजनीतिक संगठन आदिको नेतृत्व गर्ने/प्रतिनिधित्व गर्ने हामी जस्ताले त धेरै संवेदनशील र बिवेकी भइ हतोत्साहित नभएर काम गर्न अत्यावश्यक भएको छ । युद्धको अग्र मोर्चामा सामेल भएर आफुलाई नायक बनाउने समय यही हो ।
युएई नेपालीहरुको भविष्य बनाउने हेतुले जाने खाडी मुलुक मध्येको एक सुरक्षित र सबल गन्तव्य स्थल पनि हो । जहाँ करिब ३ लाख नेपाली छन। यो देशको स्थानिय कानुनले बर्जित गरे पनि जिल्ला, जाति, प्रदेश आदि गरेर करिब ९७ भन्दा धेरैको हाराहारिमा सामाजिक संस्था दूतावासमा सुचिकृत छन। हालको अवस्थामा ती संघसंस्थाले के गर्न सक्छन त ? गहन बिषय हो।
मुख्य गरेर बिश्वभर करिब ८० देशमा शाखा भएको गैर आवासीय नेपाली संघ जसलाई नेपाल सरकार आफैले मान्यता दिएको छ, साथै दूतावासको सहजीकरण गर्ने संस्था पनि भनेर चिनिन्छ उसको जिम्मेवारी अत्याधिक ज्यादा भएको म महसुस गर्छु।
म ब्याक्तिगत तवरले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइको महासचिव हुनको साथै युएइमा एक सानो ब्यवसाय पनि गर्छु । यो महामारीले आफ्नो स्वरुप बढाएर यहाँ सम्म ल्याउन अघि म नेपाल आइसकेको थिएँ । म आउदा युएइमा जम्मा ७ जना भाइरस संक्रमित थिए भने एक नेपाली पनि संक्रमित थिएनन। आज ३ हजार संक्रमित हुनका साथै १४ जनाको मृत्यु भएको छ । १ महिला नेपाली महिलाको मृत्यु लगायत अन्य ११ नेपाली संक्रमित भएको तथ्यांक छ। गैर आवासीय नेपाली संघ युएइको जिम्मेवार पद ओगटेको कारण हाम्रो जिम्मेवारी युएइ मात्र नभएर नेपाल पनि हो भन्ने मेरो ब्याक्तिगत धारणा छ।
हामी यस्तो देश(युएइ)मा बसेको छौं जहाँ स्वास्थ सेवा विश्व स्वास्थ संगठनको मापदण्ड अनुसार छ, सुरक्षा सेवा कडा छ, केहि समस्यामा कम भन्दा कम समयमा त्यस्को समाधान खोजिन्छ। तर हामी त्यो देशको नागरिक हैन। तथापी त्यहाँको कार्ड बोकेर बसेका छौ र सोही अनुसार हामीलाई नागरिक झै वास्ता गरिन्छ। नेपाल आफुमा नै गरिब र स्वास्थ क्षेत्रमा निकै पछि रहेको कारणले यी सुविधा नेपालमा पाइहाल्ने अवस्था छैन। युएइमा रहेका नेपाली मध्ये अहिले धेरैलाई भाइरस प्रभावित झै लक्षण देखिएको छ तर उपचार गराउन हस्पिटलमा बेड नभएको जस्तो कुरा बाहिर आउन थालेको छ । तर अर्कोतिर युएइ सरकारले सामान्य ज्वरो खोकी आदि आउँदैमा भयभित भएर अस्पताल भिडभाड नबनाउन अनुरोध गरेको छ। यदि समस्या जटिल भए निदान गर्न युएइ सरकारले कुनै कसर बाकी नराख्नेमा हामी बिश्व्स्त छौ। किनकी भर्खर नै दुई संक्रमित नेपाली ठिक भइ डिस्चार्ज हुनु भएको छ।
युएइको नेपाली समाज दुई खेमामा बाधिएको देखिन्छ । नेपाल जान पाउँ र यहाँ सुरक्षित छौ भन्ने बिच। नेपाल सरकारलाई आफ्नो नागरिक घर नलगेको आरोप लगाइदै छ र बेवास्ता गरेको पनि । तर गहन भएर सोचौं त के यो अवस्थामा हामी ज्यादा सुरक्षीत कहाँ छौ। यदि बिदेशबाट आउने नेपाली भाइरस संक्रमित छ रहेछ भने के नेपालमा त्यो लेभलको उपचार पाइएला त ? आफ्नो घर परिवारको प्रेमले कतै घर परिवारकै ज्यान जोखिममा त पार्दैनौ ? हामी सोही घरपरिवारको उज्ज्वल भविश्य हेतु बिदेशिएका हैनौ र? तत्काललाई कोरोना फ्री सर्टिफिकेट जारी गरे पनि त्यसको समयावधि कति हो ? कति बिश्वसनीय छ ? कति दिनको ज्ञारेन्टी हुन्छ ? के नेपाल सरकारले ती नेपाल आउनेको संख्याको सामर्थ्य थाम्न सक्छ ?
नेपाल सरकारले पनि बिस्तारै आफुलाई सबल भने बनाउदै लानुपर्छ, क्वारेन्टाइन, आइसोलेसन क्याम्प, इन्टेन्सिभ केयर युनिट आदिको संख्या बढाउदै बिपत्ति सामनाको लागि तयार हुन जरुरी छ जसका कारण बिस्तारै आफ्ना नागरिक ल्याउन सकियोस । तर युएइमा रहेका साथिहरु हतास भएर घर फर्किन अत्तलिन हुन्न। बरु मानसिक रुपमा दरिलो भएर बस्न जरुरी छ। युद्ध मोर्चामा रहेका सिपाहीहरु नै कमजोर मानसिकता बनाए यो बिशाल युद्ध कसरी जितिएला? यसले त हामीलाई अवसर दिएको छ । नायक बन्ने अवसर ।
गैर आवासीय नेपाली संघ युएइसँग यो बिपतमा एक उदाहरण भएर उभिने सुवर्ण अवसर आएको छ। करिब दुई लाख लोकल पैसा(दिर्हाम) आफ्नो कोषमा राखेर हैन त्यसको सदुपयोग गरेर सेवामा जुट्नु पर्छ। एक बर्ष हुन लाग्दा पनि संस्थाको निर्वाचन गराउने निर्वाचन प्रमुख राजेश दर्शन अर्याल जीले कोषको रकम हस्तान्तरण नगरेर सुनियोजित रुपमा गैर आवासीय नेपाली संघ युएइलाई काम गर्न असहज बनाए पनि नेपाल र युएइका नेपालीलाई सहयोग गर्ने क्रम जारी छ। स्थानिय कानुनको पालना गर्दै नेपाल एसोसिएसन नाममा दर्ता गरिएको गैर आवासीय नेपाली संघ युएइ आज नेपालीहरु रोइ कराइ गरिरहेका अवस्थामा सहयोग गर्न चाहन्छ । तर त्यही जनताबाट उठेको पैसा निर्वाचन समिती प्रमुख राजेश दर्शन अर्यालले आफू खुशी आफ्नो ब्यक्तिगत जस्तो गोजीमा राख्नाले सहयोगमा असहज अवश्य भएको छ। अर्याल जीले यो घडीमा त्यो बारे सोच्न जरुरी छ ।
हामी गैर आवासीय नेपाली संघ युएइका पदाधिकारीहरुले फोनहरु आउदैमा हतोत्साहित नभएर आफ्नो पीडा लुकाइ समाजलाइ हौसला बढाउने समय हो यो। त्यहीँ भएका नेपाली साथै नेपालमा रहेका नेपालीलाई पनि हेर्ने समय हो यो। अहिलेको तत्कालीन अवस्था हेर्दा र म स्वयं यहाँ नेपालमा रहेको र बुझेकोले गर्दा हामी जो जहाँ छौ त्यही सुरक्षित छौं भन्ने बुझेको छु। बरु युएइका खाना नपाएका नेपालीहरुलाई सहयोग गर्न हामी आर्थिक रुपमा सबल हुन जरुरी छ। मानसिक रुपमा दर्हो बन्न जरुरी छ । अनावश्यक रुपमा होहल्ला गरेर आतंक सिर्जना नगरौं । सामाजिक संजालमा बरबादै भयो भने जसरी दोहोरी खेलेर नखेलौं । यो संकट हो र यसलाई पार लगाउन नेपाल सरकार र त्यहीँको सरकारलाई आवश्यक सहयोग गरौं । काम धेरै कुरा कम गरौं ।
हामी जस्ता गैर आवासीय नेपाली जति नेपालमा छौं हामी तपाईंहरुको तपाइहरुको परिवारको रक्षा गर्न खटिनेछौ । नेपाल सरकारलाई यहाँबाट सहयोग गर्छौ । तपाइहरु त्यहाँबाट सहयोग गर्नु होला। आरोप प्रत्यारोप गरेर हैन हातेमालो गरेर मात्र यो युद्ध जितिन्छ । र अन्त्यमा, फेरी पनि भन्छु जो जहाँ छौं त्यहीँ बसौं । जीवन भन्दा महत्वपूर्ण अरु छैन । त्यो भन्दा ठुलो ईमरजेन्सी केही हुन्न ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij