काठमाडौं(जस)–स्वास्थ्य मन्त्रालयले अहिलेसम्म २८ सय ९५ नमुना परिक्षण भएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा अहिलेसम्म केन्द्रीय प्रयोगशाला टेकुमा २३ सय ८३ तथा काठमाडौँ बाहिरका ९ ठाउमा कुल ५१३ नमुना परिक्षण भएको बताएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा थप कोरोना पोजेटिभ देखिएको छैन ।
त्यस्तै अहिलेसम्म देशभर क्वारेन्टाइनमा ७ हजार ९४० जना रहेका छन् । त्यस्तै आइसोलेसनमा काठमाडौँमा १८ र काठमाडौँ बाहिर ९९ जना रहेको प्रवक्ता देवकोटाले जानकारी दिएका छन् । त्यस्तै र्र्यािपड टेस्टका लागि प्रत्येक प्रदेशमा ५ हजारका दरले र्या्पिड डाएगनोस्टिक टेस्ट (आरडीटि) वितरण गरिएको बताउदै कैलाली र कंचनपुरमा गरिएका नमुना संकलनको ६६ नमुनाको टेस्टको रिपोर्ट निगेटिभ आएको र अन्य नमुनाको नतिजा आउनेक्रममा रहेको उनले बताए ।
प्रवक्ता देवकोटले क्वारेन्टाइनमा बसेकाहरुको टेस्ट गर्न स्थानीय स्वास्थ्य स्वयंसेविका लाई परिचालन गर्न लागिएको बताए । टेस्ट निशुल्क गरिएको र टेस्टको दायरा बढाइएकोले केहि दिनमा व्यापक टेस्ट हुने उनले बताए । कोरोना रोक्न घरमै बस्नु नै उत्तम विकल्प भएकाले घर बाहिर ननिस्किन सबैलाई उनले आग्रह गरेका छन् ।
कास्कीका क्वारेन्टाइन रिक्त, छैन कोरोना
कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण फैलिएका देशबाट आएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । उनीहरु कसैमा पनि कोरोना भाइरसको सङ्क्रमण नदेखिएपछि आआफ्नो घर पठाइएको हो । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले कास्कीका विभिन्न स्थानका क्वारेन्टाइनमा बसेकाहरुमा १४ दिनसम्म कोरोनाको कुनै सङ्क्रमण नदेखिएपछि घर पठाइएको जानकारी दिए ।
क्वारेन्टाइनमा बसेकाहरु कतार, भारत, बंगलादेशलगायत देशबाट आएका थिए । तीमध्ये पोखराको मालेपाटनस्थित कृषि तालीम केन्द्रमा १६ र रुपा गाउँपालिकाको क्वारेन्टाइनमा २० जना राखिएको थियो ।
अन्नपूर्ण गाउँपालिकामा होम क्वारेन्टाइनमा बसेकाहरुमा पनि हालसम्म कोरोना संक्रमण देखिएको छैन । चौध दिनपछि घर पठाइएकाहरुलाई पनि थप एक हप्ता होम क्वारेन्टाइनमा बस्न भनिएको डा शर्माले बताए । अहिले कास्कीका सबै क्वारेन्टाइन रिक्त छन् । पछिल्लो तथ्याङ्कानुसार गण्डकी प्रदेशमा कुल २५१ नमूना सङ्कलन भएको छ जसमध्ये १३५ नमूनाको परीक्षण नेगेटिभ आएको छ । दुई पोजेटिभ आएको छ । एक सय २२ नतिजा आउन बाँकी छ । त्यसैगरी हेल्लो डाक्टर १०९२ कार्यक्रममा ५०२ जनाले चिकित्सकीय परामर्शसहितको सेवा लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।