काठमाडौं, १९ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक चलखेलको चर्चापछि मेडिकल ईक्युपमेन्ट खरिद सम्झौता रद्द गरेको छ । यसअघि स्वास्थ्य सेवा विभागले चीनबाट मेडिकल सामाग्री खरिद गर्न ओम्नी समूहसँग उपकरण खरिद सम्झौता गरेको थियो । उक्त सम्झौता अब रद्द गर्ने निर्णय भएको विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले स्प्ष्ट पारेका छन् ।
आज (बुधबार) मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विभागका महानिर्देशक श्रेष्ठले ओम्नीले तोकिएको समयमा आवश्यक सामाग्री दिन नसेको र दिएका सामाग्रीहरु पनि कमसल रहेको भन्दै सम्झौता रद्द गरिएको स्पष्ट पारेका हुन्। उनले भने,“हामीलाई उक्त कम्पनीले भनेको समयमा औषधिजन्य सामग्री ल्याउन नसक्ने जनाएको छ, त्यसैले उक्त कम्पनीसंँग औषधि ल्याउने सहमति रद्द गरिएको हो ।”
उनले सम्झौतानुसार उक्त कम्पनीले १८ प्रतिशत रकम खर्च गरेर १० प्रतिशत मात्र औषधि ल्याएको जानकारी दिए। उनले सहमतिअनुसार औषधि नल्याएको हुनाले उक्त कम्पनीको धरौटी जफत गर्नाका साथै कालोसूचीमा राख्नका लागि सम्बन्धित निकायलाई अनुरोधसमेत गरिने जानकारी दिए। महानिर्देशक श्रेष्ठले अहिले संकटका बेला उक्त कम्पनीमार्फत ल्याइएको सामग्रीमा २० प्रतिशतभन्दा बढी मूल्य परेकोसमेत स्वीकार गरे ।
उक्त कम्पनीसँंग केही दिनअघि मात्र द्रुतगतिमा औषधि ल्याइने सम्झौता भएको थियो । उक्त सम्झौतानुसार गत आइतबार कम्पनीले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि औषधिजन्य सामग्री ल्याएको थियो । उनले उक्त कम्पनीसँंगको सम्झौता रद्द गरेर पुनः बिहीबारदेखि अर्को सम्झौताका लागि प्रक्रिया थालिने जानकारी दिए। “अहिलेलाई हामीसंँग पर्याप्त मात्रामा पुग्ने औषधि रहेको छ”, उनले भने, “बिरामीको स्वास्थ्यको उपचार गर्न संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई हामी प्रशस्त औषधिजन्य उपकरण दिन सक्छौं।” उनकाअनुसार तीन दिनको बोलपत्र आह्वान निकालेर पाँच दिनभित्र औषधिजन्य सामग्री ल्याउने मन्त्रालयको तयारी छ ।