शुक्रबार, चैत्र १४ २०७६
निश्चल दाहाल
झापा / विश्व आज कोरोना(कोभिड19) भाइरसबाट ग्रसित छ। यो महामारीले यस्तो बिकराल रुप ल्याउला, कसैले कल्पन पनि सकेका थिएनन। अझ सम्पन्न र साम्भ्रान्त देशहरुमा यस्ले पुर्याएको असरले हामी सबैलाइ थप चिन्तित तुल्याएको छ। हामी नेपाली बिकासोन्मुख देशका नागरिक, हाम्रो देशमा यत्तिकै पनि स्वास्थसेवा आदिको पहुँच राम्रो छैन। भलै हाम्रो देशमा अहिले सम्म तीन जना यो भाइरसबाट ग्रसित तथ्यांक आए पनि, चेकजाँच गर्ने किटको अभावले वास्तविक तथ्यांक निकाल्न नसकिएको बिज्ञहरु ठम्याउछन।
हामि अहिले लकडाउनमा छौ र सरकारले हामी जनताबाट सहयोगको ठूलो आस राखेको छ। हाम्रो देश भुपरिवेस्टित भएकोले मानिस भित्रने त्यही एक बिमानस्थल छ र केही भारत सग सिमा जोडिएका नाकाहरु। यी नाकाहरु मध्ये बिरगंज , काकरभिट्टा आदि सरकारले प्रत्यक्ष निगरानिमा राखेको कारण केही सावधानी हालको अवस्थामा अपनाइएको देखिन्छ तर झापा जिल्लाको दक्षिणी भाग तथा दक्षिणपुर्वि भागमा भारतसँग सिमाना जोडिएको नाकाहरुमा स्थिती अलिक जटिल देखिन्छ।
झापा जिल्लाको कचनकवल गाउँपालिका , भद्रपुर नगरपलिका आदिबाट मात्रै करिब २० २५ ठाउँबाट भारत पस्न सकिन्छ, र यहाँका जनताहरु प्रायः कामको लागि दिल्ली, पन्जाब, गुजरात, मुम्बाइ आदि जाने गर्छन। त्यहाँबाट यो महामारी फैलदा कति फर्किए त्यस्को लेखाजोखा छैन। म आज कचनकवल गाउँपालिकाको पाठामारी, केचना, बगान, बालुवाडी, फर्साडागी आदि ठाउँ घुम्न जादा धेरै नै ब्याक्ती बाहिर बाट आएको पाए र उनिहरुको स्वास्थ परिक्षण पनि भएको छैन ।
कचनकवल गापा वार्ड ६ का वडाध्यक्ष कुल बहादुर कार्किले त यो वार्डमा मात्र पचास भन्दा बढी भारतबाट भर्खर आएको तथ्यांक दिनु भयो । तर यो भाइरसबाट ती अछुतो छन त ? वहाँ उत्तर दिन सक्नु हुन्न। कचनकवल गापाको मुटु बनियानिमा अवस्थित इलाका प्रहरी कार्यलय बनियानी जहाँको दरवन्दी लगभग २५ प्रहरिको छ तर उपल्ब्ध मात्र १० १२ ती प्रहरी दिन रात माइकिङ्ग गर्दै चोक बजार धाउदै लकडाउनको बारेमा बुझाउदै छन। इप्रका बनियानिका इन्चार्ज हस्त बा श्रेस्ठ आफ्नो स्टाफहरुको यो लगन प्रती खुशी छन र उनी आफै पनि दिन रात खटी रहेका छन। तर के यो पर्याप्त छ त? अवश्य छैन। पथरिया, घेरावारी, पाठामारी, बनियानिमा खटेका प्रहरिहरु आफै सुरक्षित छैनन तथापी काम गर्न छाडेका छैनन। तपाइहरुकोलागी हामी जोखिम उठाउछौ, बस सहकार्य गरिदिन जनमानसमा हामी अपिल गर्दछौ भन्छन सई हस्तबहादुर।
नेपालमा भर्खरमात्र फ्रान्सबाट आएकी एक युवती जो कतार ट्रान्जिट हुँदै आइन उनमा कोरोना भाइरस पोजिटिभ देखियो, सोही प्लेनमा सवार कचनकवल १ का महेन्द्र राजवंशीलाइ(जो अहिले गाउँ पालिकाको क्वारेन्टाइनमा छन) घेरावारी चौकिको सहायतामा इप्रका बनियानिका इन्चार्जको टोलिले सम्झाइ बुझाइ क्वारेन्टाइनमा राखेको छ। कतारबाटै आएका कचनकवल २ का प्रकाश पाठकपनि हाल सोही स्थानमा क्वारेन्टाइनमा राखिएको छ र यहाँ क्वारेन्टाइनमा रहनेको संख्या मनग्य बढ्ने देखिन्छ। यो समाचार तयार पार्दा सम्म, शरीर तापक्रम जाच गराउन क्वारेन्टाइन भएको ठाउमा भारतबाट भर्खर आएका ७ नया ब्याक्ती थिए।
झापा जिल्ला क्षेत्र नं ३ का साम्सद राजेन्द्र लिङ्गदेन र कचनकवल गापा अध्यक्ष अन्जार आलमले क्वारेन्टाइन स्थापना त गराए तर क्वारेन्टाइनमा के के आवश्यकता छ त्यो नबुझेको देखिन्छ। पथरिया माविमा अवस्थित क्वारेन्टाइन यति अस्तब्यस्त छ कि त्यहा अलिकती मात्र चाप हुने भए नयाँ रोग लाग्ने निश्चितप्राय छ। स्थानिय वडाध्यक्ष बिजय राजवंशिको संयोजनमा रहेको त्यो क्वारेन्टाइनमा हाल तीन प्रहरिले सुरक्षा दिइरहेका छन जो आफै सुरक्षित छैनन। न त PPE (पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट) न पर्याप्त सेनिटाइजर। ट्वाइलेट जम्मा दुइवटा जस्मा क्वारेन्टाइनमा बस्नेले शौचालय शेयर गर्न बाध्य छन।
क्वारेन्टाइनमा रहेका ती दुई ब्याक्ती सग गफ गाफ गर्दा प्रकाश पाठक भन्छन ” म र महेन्द्र दाइ फरक फरक दिन आएको हो, हाल ९ दिन बिति सक्दा पनि हामिलाइ कुनै लक्षण देखिएको छैन तर यहाँको यस्तो बसाइले यदि महेन्द्र दाइ(फ्रान्सबाट आएकि युवती सग सफर गरेका) लाई संक्रमण रहेछ र मलाइ सर्यो भने जिम्मा कस्ले लिन्छ?” त्यस्तै महेन्द्र राजवंशी भन्छन भाइलाइ रहेछ र मलाइ सरेमा को जिम्मेवार ? यी प्रश्न आउनुको कारण क्वारेन्टाइनमा न त एक मिटरको दुरिमा बेड राखिएको छ न त सरसफाइ नै। निज ती दुई ब्याक्तीहरुलाइ नजिकको मेची अंचल अस्पतालमा प्रहरी संग समन्वय नगरी गापा अध्यक्ष अन्जार आलम, वडाध्यक्ष बिजय राजवंशी , स्वास्थ्यकर्मि द्वय जागेश्वर र बिजय कुमारले एम्बुलेन्समा हाली पठाएको स्थानियबासिले बताए । लगत्तै मेची हस्पिटलले कृटिकल अवस्थामा राख्न मात्र बेड भएको जानकारी गराइ आ आफ्नो गापाको क्वारेन्टाइनमा रहन फर्काएपछि उनिहरुलाइ बाटोमा नै छोडिएको थियो ।

यस्तो गैर जिम्मेवारी देखिएपछि चिन्ता अझ बढेको छ स्थानियमा । लगत्तै जिप्रका झापा बाट निर्देशन आए पश्चात सई हस्त बा श्रेष्ठको टोलिले ती दुई ब्याक्ती खोजी क्वारेन्टाइनमा हालेको छ । यतिका दिन बिति सक्दा क्वारेन्टाइनमा रहेका कसैमा संक्रमणको कुनै लक्षण देखिएको छैन तर समयमा खाना नै नपाउने, तातो पानी नपाउने, हुदा हुँदै हिजो बेलुकी १० बजे मात्र ओड्ने पाएको अवस्था यस्तोले मानसिक रोग निम्तने समस्या अझ देखिएको छ ।
क्वारेन्टाइनमा रहेका ब्याक्तिहरु थप्छन,”हामिलाइ हेर्न राखिएको कि बिमारी बनाउन ?” “रात भर यो सानो म्याट्रेसले सिमेन्टको चिसो कसरी थाम्ने ? किराले टोकेर सुत्न सकिन्न, हेर्नुहोस त वरपर फोहोर।”यो अव्यवस्थित अवस्थाको बारेमा बुझ्न खोज्दा न त स्थानिय प्रतिनिधि सम्पर्कमा आउछन न त कुनै अपडेट दिन रुचाउछन। त्यहा क्वारेन्टाइनमा पुग्दा एकजना पनि स्वास्थकर्मी थिएनन। के यहि हो त क्वारेन्टाइन?
यो गापा बाट कदुभिट्टा, कादोगाउ, पाठामारी आदि भारतिय खुल्ला नाका छन, जहाँ बाट, केचना, घेराबारी, डुबडुबी, बालुवाडिमा धेरै भारतिय नागरिक पनि आवतजावत गरि रहेका छन, यो देखे पछि अध्यक्ष अन्जार आलम सग सोधनि गर्दा, प्रशासन सग कुरा गर्नु भन्ने जवाफ आयो। अहिले त फोन पनि उठ्दैन, यस्तो गैर जिम्मेवारी अवस्थामा यो महामारी सग कसरी लड्ने ? स्वास्थकर्मी आफुसग पिपिई नभएर सामान्य ज्वरोको बिमारी देखि तर्सन्छन, तर यस्लाइ सम्बोधन गर्न स्थानिय सरकार लागेको देखिन्न।
देशमा लकडाउन भए पनि कुनै न कुनै जरिया बाट या स्थानबाट यो भाइरस भित्रिएमा हामी गरिब देशका नागरिकलाइ अपुरणिय क्षति हुने देखिन्छ। कचनकवल गापा यो बिषयमा गम्भीर देखिदैन, यहाँ हजारौको संख्यामा रहेका स्थानियबासिहरु केन्द्रिय सरकारको प्रत्यक्ष हस्तक्षेपको आशमा छन। भारतिया नाकामा कडाइअ गर्न सशस्त्र क्याम्प भएतापनी परिचालित छैन, उनिहरु क्याम्पबाट बाहिर निस्केर सहयोग गरून् भन्ने अपेक्षा राख्छन।
स्थानियबासिहरु दिन दिनै अझ खतरा बढेको आभास गर्दैछन । “यहाँको सुरक्षा निकाय(नेपाल प्रहरी)ले अपर्याप्त जनशक्ति, अपर्याप्त पिपिई का बाबजुत दिनरात खटिरहेको र तपाइहरु आ आफ्नो घरमा बसि हामिलाइ सहयोग गरिदिनुहोला, हामी यो भाइरसको जटिलता बुझौ, यस्लाइ फैलन या आउन नदिऔ” भनी सबैलाइ आव्हान गर्नुहुन्छ इलाका प्रहरी कार्यालय बनियानिका सई हस्त बहादुर श्रेष्ठ ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij