बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कोरोना रोकथाम र उपचारका लागि अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्याउने एनआरएनएको तयारी, यसो भन्छन अध्यक्ष पन्त

बुधबार, चैत्र १२ २०७६

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरससंग लड्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।
संघका अध्यक्ष कुमार पन्तका अनुसार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहमा कोरनोना विरुद्ध जुध्न घोषणा गरेको रू १ करोड सहयोगबाट सरकारलाई उक्त स्वास्थ्य सामग्रीका रूपमा उपलब्ध गराउन लागिएको हो ।

स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण र परीक्षण किट गैरआवासीय नेपाली संघले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउने भएको संघले जनाएको छ।

पन्तले स्वास्थ्य सामग्री नेपाल भित्राउन पहल गरिदिने मन्त्री ज्ञवाली र नेपाल सरकारलाई गैरआवासीय नेपाली समुदायका तर्फबाट हार्दिक धन्यवाद दिएका छन् ।

गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार उक्त सामान खरिद गर्न एक कार्यदल गठन गरिएको छ । बुधवार बिहान बसेको संघको पदाधिकारी बैठकले एनआरएनए चीनको प्रतिनिधी सहितको एक कार्यदल गठन गरेको हो ।

संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार चीनबाट उक्त सामग्री संकलन गर्न नेपाल सरकार समक्ष आग्रह गरेको छ । ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने समझदारी बनेको केसीले जानकारी दिएका छन्। नेपाल सरकारले एक साता भित्र ती सामग्री संकलन गरेर नेपाल भित्राउने तयारी गरेको केसीले जनाए ।

यसअघि गैरआवासीय नेपाली संघले विश्वभर रहेका आफ्ना शाखामार्फत कोरोनापीडित नेपालीको तथ्यांक संकलन गर्ने समेत तयारी समेत गरेको छ ।

संघले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा कोरोनापीडित राहत कोष संकलन समिति, उपाध्यक्ष बद्री केसीको संयोजकत्वमा भौतिक सामग्री सहयोग संकलन उपसमिति गठन गरेको थियो।

यसो भन्छन अध्यक्ष कुमार पन्त
गैरआवासीय नेपाली संघ (#NRNA)ले सरकारलाई #COVID19 विरुद्ध जुध्न घोषणा गरेको रू १ करोड सहयोग मा. परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आग्रहअनुसार स्वास्थ्य सामग्रीका रूपमा उपलब्ध गराइँदैछ । स्वास्थ्यकर्मीले लगाउने विशेष प्रकारको सुरक्षा उपकरण (#PPE) र परीक्षण किट हामीले चीनस्थित नेपाली दूतावासमा उपलब्ध गराउनेछौँ।
ती सामग्री चीनबाट ल्याउने बन्दोबस्त सरकारले गर्ने समझदारी बनेको छ। यसका निम्ति मा. मन्त्री ज्ञवाली र नेपाल सरकारलाई गैरआवासीय नेपाली समुदायका तर्फबाट हार्दिक धन्यवाद । विश्वभर फैलिएको संकटको प्रतिरोधमा हामी एकसाथ छौँ । आशा गरौँ, यस युद्धमा हामी चाँडै विजयी बन्नेछौँ ।

प्रतिक्रिया
सम्बन्धित समाचार