युएई । युएईको लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले युएईमा रहेका नेपालीहरुलाई नआत्तिन अनुरोध गरेका छन्। उनले युएईमा कोरोना भाइरसको प्रभाव तुलनात्मक रूपमा कम देखिएकोले यहाँको सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरू प्रभावकारी र उदाहरणीय भएकाले कठिन परिस्थिति आउन नसक्ने बताए ।
युएई सरकार र नेपाल सरकारले जारी गरेका सूचनाहरूअनुसार आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिन, भीडभाडबाट सकेसम्म टाढै बस्न र स्वस्थ आहार–विहारमा जोड दिन अनुरोध गरे ।
युएई सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि उच्च सतर्कता र कुशलतापूर्वक काम गरिरहेकोले नेपाली कामदारहरुलाई जहाँ भए पनि उच्च मनोवलका साथ रहन उनले आग्रह गरे।
साथै यससम्बन्धी कुनै जिज्ञासा वा समस्या भएमा युएई सरकारका सम्बन्धित निकाय र नेपाली दूतावास अबुधाबीमा सम्पर्क राख्न राजनूदत ढकालको अनुरोध छ ।
युएइमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली राजदूतावासको अनुरोध :
युएइमा कोरोना भाइरसको प्रभाव तुलनात्मक रूपमा कम देखिन्छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि युएइ सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरू प्रभावकारी र उदाहरणीय देखिन्छन्। यसबाट प्रभावितहरूको उपचार पनि उच्चस्तरीय र प्रभावकारी रूपमा भइरहेको पाइन्छ। तसर्थ युएइमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई धैर्य धारण गर्न र नआत्तिन नेपाली राजदूतावास अनुरोध गर्दछ ।
युएइ सरकार र नेपाल सरकारले जारी गरेका सूचनाहरूअनुरूप आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनहुन, भीडभाडबाट सकेसम्म टाढै बस्नहुन र स्वस्थ आहारविहारमा जोड दिनहुन अनुरोध गर्दछौं । युएइ सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि उच्च सतर्कता र कुशलतापूर्वक काम गरिरहेको सन्दर्भमा तपाईंहरू जहाँ भए पनि उच्च मनोबलका साथ रहनहुन र यससम्बन्धी कुनै जिज्ञासा वा समस्या भएमा युएइ सरकारका सम्बन्धित निकायहरू र नेपाली राजदूतावास, अबुधाबीमा सम्पर्क राख्नहुन अनुरोध गर्दछौं।
नेपाली राजदूतावास
अबुधाबी ।
