सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

कतारमा रहेका नेपालीलाइ कोरोनाबारे आग्रह : सजग, सतर्क र सुरक्षित रहन दूतावाससहित नेपाली संघसंस्थाको अनुरोध

बुधबार, चैत्र ५ २०७६

दोहा / कतारमा रहेका सम्पूर्ण नेपालीहरुलाई नेपाली राजदूतावास कतारले एक बिज्ञप्ती जारी गदैं कोरोनाको त्रासपूर्ण संकटको घडीमा सबै नेपालीहरु सजग, सचेत एवं कतारको सम्पूर्ण नीति नियमहरु पालना गरेर बस्नको लागि अनुरोध गरेको छ । विज्ञप्तीमा कोरोना भाइरस संक्रमणको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले कतार सरकारले अपनाएका सबै प्रकारका उपायहरुको अवलम्वन गर्न र जारी गरेका निर्देशनहरुको पालना गर्न सबै नेपालीहरुलाई अनुरोध गरिएको छ । कोरोना भाइरसबाट बच्न सतर्कता अपनाउन तथा कतार सरकारको सम्पूर्ण नीति नियमहरु पालना गर्न दुतावासले यस अघि पनि पटक पटक विभिन्न सुचनाहरु जारी गरिसकेको छ महामहिम राजदूतबाट संंप्रेसण भिडियो सन्देशमा समेत सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

विज्ञप्तिमा विशेष गरी निम्न तीन पक्षमा ध्यान दिन विशेष अनुरोध गरिएको छ :
१.कतार सरकारको सम्वन्धित सरकारी निकायहरु– स्वास्थ्य मन्त्रालय, व्यापार तथा वाणिज्य मन्त्रालय, गृह मन्त्रालय लगायतबाट जारी हुने सबै प्रकारका निर्देशनहरुको अक्षरश पालन गर्नु गराउनु हुन
२.कतार सरकारले तोकेका निषेधित क्षेत्रहरुमा नजान वा भेला नहुन
३.श्रमिकहरुको आवासीय क्षेत्रको आसपास सप्ताहन्त लगायत अन्य समयमा अवैधरुपमा पसल राखी समानहरुको किनबेच गर्ने पाइएको र सो कुरालाई कतार सरकारले बन्देज गरेको हुँदा कम्पनिको आधिकारीक व्यक्तिसँग तोकिएको संख्या (२ जना) मात्रै गई आधिकारिक स्थानहरुबाट मात्र किनमेल गर्नुहुन ।
कोरोना भाईरस सम्वन्धमा कतारबासी नेपाली समुदायमा राजदूत नारद भारद्वाजको अनुरोध :
पछिल्लो समय कोरोना भाईरसको त्रासले गर्दा कतारमा पनि विश्वभरका मानिसहरुलाई आवातजावातमा विशेष निगरानी गरिएको छ । यद्यपी, कतार आफैमा स्वास्थ्यमा एकदम उच्च पहुँच र व्यवस्था भएको देश भएकोले यहाँ भएका नेपालीहरुलाई कुनै त्रासमा बस्नु पर्ने अवस्था छैन । अहिलेसम्म कुनै पनि नेपालीलाई यहाँ कोरोना लागेको छैन । यति हुँदा हुँदै पनि नेपाल, भारत, पाकिस्तान, श्रीलंका लगायत जस्ता देशहरु कोरोनाको उच्च जोखीममा रहेको देशहरु भएकोले रोजगारीको लागि केही समयको लागि प्रवेश निशेध गरिएको हो । तत्काललाई नेपालबाट कोही आउन पनि पाउदैन र यहाँबाट फर्कीने गरी जान पनि पाउदैन । किनभने यो आपतकालीन अवस्थाको निर्णय भएकोले यसले दिर्घकालीनरुपमा के कति प्रभाव पार्दछ भन्नेबारे यहाँको सरकारले सोच्न सम्म भ्याएको छैन । यद्यपी, विस्तारै त्यस्तो समस्याको समाधान आउला ।


यहाँ स्वास्थ्य व्यवस्था राम्रो भएकोले छिटै यो समाधान हुनेछ । अझ हामी प्राथना गरौ कि कोरोना भाईरस विश्वबाट छिटै समाप्त होस । कोरोनाको जोखिमबाट हामी कोही पनि मुक्त छैन । नेपालीहरुले त झन सावधानी अपनाउनु पर्दछ । यद्यपी हामीले हाम्रो आधिकारीक संचार माध्यमहरुमार्फत सम्पूर्ण नेपाली कामदारहरुलाई सुसुचित गरिरहेका छौं तर पनि सबैले हाम्रो सुचना नपाएका पनि हुन्छन । उनिहरुलाई सचेत र सावधानी रहनको लागि अनुरोध गर्दछु । नीतिनियम पालना, बाहीर ननिस्किने, सरसफाइ, खानपान, लगाइ, एक्ससाइज र नीयमित चेकजाँच जस्ता कुरामा विशेष प्राथमिकता दिनुपर्दछ यस्तो बेलामा ।
कतारको सनैया क्षेत्रमा आवतजावत गर्न दुई साताको लागि बन्द
मंगलबारसम्म कतारमा भाइरस संक्रमितको संख्या ४४२ पुगेको छ । मार्च १८ तारिख बुधवार देखी लागु हुने गरी दुई साताको लागि देशभरका सम्पूर्ण पसल, मल (फुड सेन्टर र मेडिकल बाहेक), शपिंग सेन्टर तथा सैलुन, स्पा बन्द गरेको छ । सनैया औद्योगिक क्षेत्रको स्ट्रिट नम्बर १ को उत्तर तर्फ देखि स्ट्रिट नम्बर ३२ को दक्षिण तर्फ र औद्योगिक क्षेत्रको मेन रोडको पुर्व तर्फ देखि वाटर ट्याङ्क रोड बन्द गरीएको छ । सनैयास्थित लकडाउनमा रहेका कामदारले खाना संगै तलब समयमा नै पाउने भनिएको छ । त्यसैले क्याम्पबाट बाहिर ननिस्कन र भीडभाडमा नजान नेपाली दूतावासको आग्रह गरेको छ । देशभरका मस्जिद पनि बन्द गरिएको छ ।

एनआरएनए सचिव आरके शर्माले कोरोना भाईरसको महामारीबाट बच्न कतारलगायत विश्वमा रहेका नेपालीहरुलाई सुरक्षित रहन अनुरोध गरेका छन् । शर्माले कतारमा रहेका सबै नेपालीलाई कतार सरकारले लागु गरेको नियम पालना गरि सबै सुरक्षित रहन आग्रह गरेका छन् । अहिले यो महामारीको अबस्थामा आफै सुरक्षित हुनुपर्ने र कुनै समस्या आए कतार सरकारको सम्बन्धित निकायमा तुरुन्त सम्पर्क गर्न शर्माले अनुरोध गरे ।

यस्तै एनआरएनए मध्यपुर्व संयोजक प्रविन गुरुङ्गले अहिले सम्म कतारमा रहेका सबै नेपाली सुरक्षित रहेको र कतार सरकारले धेरै साबधानी अपनाएको बताए । गुरुङ्गले सबै नेपालीलाई कतार सरकारको सुचना अनुसार कतारको नियम कानुन पालना गर्दै आफु पनि सुरक्षित रहदै अन्य नेपालीलाई पनि सुरक्षित राख्न सहयोग गर्न आग्रह गरे ।

गुरुङ्गले कतारलगाएत मध्यपुर्बमा रहेका नेपालीहरुलाई कुनै पनि समस्या पर्दा आफुलाई सिधै सम्पर्क गर्न समेत आग्रह गरेका छन् । गुरुङ्गले जुनै नेपालीलाई समस्या पर्दा पनि अहिलेको महामारीको अबस्थामा जो जस्ले जहाँबाट जस्तो प्रकारको सहयोग गर्न सकिन्छ त्यो गर्नको लागी सबै गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरेका छन् ।

यता प्रवासी नेपाली एकता मंच कतारको अध्यक्ष चानक पोखरेलले कतारमा बस्ने सम्पूर्ण नेपालीहरुलाई कोरोना बारे सचेत गराउदै कोरोना भाइरसको कारण कतार सरकारद्वारा रेस्टिकेड एरियामा नजान पटक पटक अनुरोध गर्दापनी उक्त अनुरोधलाई उल्लङ्घन गरी भिडभाड मच्चाउने, अवैध रूपमा अखाद्य पदार्थ एवम् सामान बिक्री वितरण गर्ने, रोड किनारा लगायतका ठाउँमा खुद्रा चिया चटपटे बेच्ने, सार्वजनिक स्थलमा जुवा खेलाउने लगायतका कानुन विपरीतका गतिविधि जारी राखेका कारण कतार प्रहरीले केहि नेपाली सहितलाइ पक्राउ गरेको छ ।


कोरोना भाइरसको कारण कतार सरकारले विभिन्न स्थानलाई संवेदनशील स्थानको रूपमा राखी सोही स्थानका घर, कारखाना लगायतका ठाउँमा नै क्वारेन्टाइन बनाउँदै आवतजावतमा रोक लगाएको छ, कतार सरकारको यो कदम एकदम प्रशंसनीय छ यसमा हामीले हाम्रो ठाउँबाट रोग फैलिन नदिन र कतार सरकारले चालेको कदममा सहयोग गर्नु उचित हुने हुँदा रेस्ट्रिकेटेड एरियामा नजान भिडभाड नमच्चाउन साथै कानुन विपरीतका कुनै पनि कार्य नगर्न नगराउन हार्दिक अनुरोध गरेका छन पोखरेलले । स्वास्थ्य नै जीवन हो सबैले आफ्नो ख्याल गरौँ ।


यस्तै नेपाली व्यावसायी संघ कतारको अध्यक्ष महेन्द्र चम्लागाईंले पनि विश्वभर फैलिएको यो डरलाग्दो कोरोना भाईरसले गर्दा सृजना भएको विपतको अवस्थामा सबै नेपालीहरु, नेपाली व्यावसायीहरु एवं सम्पूर्ण कतारबासी नेपालीहरु आ आफ्नो स्वास्थ्यप्रति सजग र सचेत भई कतार सरकारको नीति नियमभित्र बस्नको लागि अनुरोध गरेका छन ।


एनआरएनए कतारको अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पनि कोरोनाले विश्वभर निम्ताएको त्रासपूर्ण वातावरणबाट सम्पूर्ण नेपालीहरु धैर्य भई नआत्तिकन सबै सतर्कताका साथ बस्नको लागि अनुरोध गरेका छन । खानपान, लवाईखुवाई र नियमित सरसफाइमा विशेष ध्यान दिन तथा घरबाट सकेसम्म बाहिर नजानको लागि उनले विशेष अनुरोध गरेका छन ।


यस्तै रास्ट्रिय मानवअधिकार आयोग कतारका नेपाल प्रतिनिधि प्रो रमजान अलि मियाले अहिले कोरोनाका कारण विश्व त्राशदीमा रहेकाले कतारमा रहेका सबै नेपालीले कतारको नियम कानुन पालना गरि कतार सरकारको निर्देशन पालना गर्नको लागी अनुरोध गरेका छन् । उनले नेपालीहरुको स्वास्थ्यको बारेमा कतार सरकार अत्यन्त संबेदनशील रहेकाले नआत्ति कतार सरकारको निर्देशन पालना गरि सुरक्षित रहन आग्रह गरेका छन् ।


नेपाल पत्रकार महासंघ कतारको अध्यक्ष करिम बक्स मियाले डिपोर्ट भएर नेपाल पुगेका नेपालीहरुप्रति सहानुभुति प्रकट गर्दै कतार सरकारद्वारा कतिपय क्षेत्रमा नजान, कतिपय कुराहरु नगर्न आग्रह गरिरहेको छ भने कतै आदेश नै दिएको छ । आदेश दिईएको र घोषित निषेधित क्षेत्रमा जानु, किनमेल गर्नु वा व्यवसायिक गतिविधि गर्नु जस्ता कार्यलाई प्रशासनले गम्भीरता पूर्वक लिएको छ । त्यस्ता क्षेत्रमा देखिने जो कोहिलाई प्रशासनले अधिनमा लिने र कानुनी कारर्वाही गर्नुलाई हामीले नियोजित वा प्रताडना मान्न मिल्दैन मियाले भने । कोरोनाको कहरले विश्व ’लकडाउन’ को अवस्थामा पुगेको बेला बिभिन्न देशले आफ्नो देश र समुदायको सुरक्षाको लागी उठाउने कुनैपनि कदमलाई हामीले नजरअन्दाज गर्नु किमार्थ सही होईन । नियोजित रुपमा नेपाली लगायत बिभिन्न देशका कामदारहरुलाई कतार सरकारले डिपोर्ट गरेको होईन । परिस्थितिलाई मध्यनजर गरेर सरकारले जारी गरेका सबै आदेश र सर्कुलेशनलाई कुनैपनि अवस्थामा मान्नु कतारमा बसोबास गर्ने सबैको दायित्व हो उनले भने । डिपोर्ट भएका नेपालीहरुलाई कि त परिस्थितिको ज्ञान थिएन, कि उनीहरुले सामान्य रूपमा बुझे वा उनीहरुलाई उनीहरुको कम्पनीले परिस्थितिबारे अवगत गराएन । जेसुकै कारण किन नहोस् राज्यको निषेधाज्ञा तोड्नु चाहे कतार होस् वा नेपाल त्यो अपराध नै मानिने मियाले बताए ।

युबराज गुरुङ : कतार प्रहरी मार्फत आज क्याम्प क्याम्प मा खाना समेत बितरण गरेको छ । क्याम्प मा अन्य बिरामी रुघाखोकी सामान्य ज्वरो आउदा समेत एम्बुलेन्स तत्काल आइ उपचार का लागि लगिएका छन । हामी सनैया २४ स्थित सबै जना आरामदायी रहेको जानकारी गराउन चाहे ।

कतारको औधोगिक क्षेत्र (Industrial Area) भित्र घोषित रुपमा क्वारेन्टाइनमा परेकाहरुको लागी मात्र कसैलाई स्वास्थ्य सम्वन्धी असुबिधा महसुस भएमा यि दुई नम्बरमा 2345132 र 2345133 मा सम्पर्क गरी आफ्नो स्वास्थ्य लगायतका समस्या बताउन सकिन्छ। अन्यका हकमा हटलाईन नम्बर 16000 मा सम्पर्क गरी समस्याको बारेमा जनाकारी लिन सकिन्छ।

जनहितक़ो लागी क़तारक़ो स्वास्थ्य मंत्रलायबाट जारी सूचना

कतार राज्यले कोरोनाभाइरस रोग (COVID-19) को नियन्त्रणका लागि आवश्यक पर्ने सबै उपाय गरिरहेको छ। सार्वजनिक स्वास्थ्य मन्त्रालयले यहाँका निवासीहरूलाई नियमित रूपमा साबुन र पानीले हात धुने र श्वासप्रश्वासको संक्रमण भएको लक्षण भएका मानिसहरूको सम्पर्कबाट टाढा रहन आग्रह गर्दछ। नवीनतम घटनाक्रम र निर्देशनहरूका लागि सार्वजनिक स्वास्थ्य मन्त्रालयको वेबसाइट हेर्नुहोस् :
https://www.moph.gov.qa/english/Pages/covid19videos.aspx

बुधबार थप १० जनामा कोरोना भाइरस देखिएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ४५२ पुगेको छ । आज भाइरस देखिएको ९ जना क्वारेन्टाइनमा रहेका आप्रवासी कामदार र एक जना स्विजरल्याण्ड बाट फर्किएका कतारी नागरिक रहेका छन् । सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ । साथै आज सम्म कतारमा जम्मा ८८७३ जनामा भाइरसको जाँच गरिएको छ । अहिले सम्म जम्मा ४ जना निको भएर फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार